ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम सडक : स्तरोन्नति ६५ प्रतिशत सम्पन्न

पक्की पुलले सहज बन्दै यात्रा

२०७८ पौष, ११  
गण्डकी प्रदेश यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । गण्डकी प्रदेशको ‘जीवनरेखा’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमा समेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो । बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको उनले बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठओटा पक्की पुल निर्माण गरिएको छ ।

‘बेलिब्रिजलाई समेत आवश्यकता अनुसार हटाएर पक्की पुल बनाइरहेका छौं, हिउँदमा समेत खहरे उर्लिने भएकाले थप पुल निर्माणका लागि प्रस्ताव गरिएको छ,’ प्रमुख प्रजापतिले भने । कालीगण्डकी कोरिडोरका १३ ओटा खण्ड अन्तर्गत आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ ।

सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा पुल सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ । उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा १ सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ। पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरिएको छ ।

मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको प्रजापतिले बताए । ‘कालोपत्र सडकमा मोटरेबल पुलले थप सहज भएको छ, प्राकृतिक विपत्तिले केही ठाउँमा पुल निर्माणमा असर गरेको छ,’ उनले भने । गतवर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ ।

बाढीले दुवै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमूना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले बताएको छ । मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाइएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि अर्को ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव समेत गरिएको छ ।

आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भए पनि सडकखण्डमा निर्माणाधीन १२ ओटा मोटरेबल पुलको ठेक्का सम्झौता खरिद ऐन अनुसार थपिएको समयसीमा आगामी चैतमा सकिँदै छ ।

ढिलासुस्ती गर्ने, विभिन्न बहाना बनाउने ठेकेदारलाई आयोजनाले सम्झौता तोड्ने र बैंक ग्यारेन्टी समेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ । सात अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म चार अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले बताए । ठेकेदारलाई प्रगतिको आधारमा भुक्तानीसँगै नियमित निगरानी समेत भइरहेकाले पछिल्लो समय प्रगति भएको उनको भनाइ छ । म्याग्दी खण्डमा डीबीएसडी र मुस्ताङमा अस्फाल्ट प्रविधिको कालोपत्र भइरहेको छ । सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १ दशमलव २ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोग गर्न लागिएको आयोजनाले बताएको छ ।

सडकखण्डमा पक्की पुलहरू बनेपछि यात्रामा समेत सहज भएको स्थानीयले बताएका छन् । विगतमा सडकखण्डमा पर्ने खोलामा पुल नहुँदा असारदेखि असोजसम्म याताायात सञ्चालनमा समस्या हुने गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)