ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मास्टरी पेसापछिको मौरीपालन : मासिक ३० हजार घरमै बसेर आम्दानी

२०७८ पौष, १६  
गण्डकी प्रदेश र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पर्वतको कुस्मा नगरपालिका चनौटेका कृष्णप्रसाद शर्मा व्यावसायिक मौरीपालक हुन् । साढे दुई दशक लामो प्राध्यापनबाट सेवानिवृत्तपछि उनी व्यावसायिक कृषि कर्ममा लागेका हुन् । शर्माले अन्जली बिई कन्सर्न सञ्चालनमा ल्याएर व्यावसायिक रूपमा १ सय घार मौरी पालेका छन् ।

पर्वतको फलेवास नगरपालिका कार्कीनेटास्थित अन्नपूर्ण उच्चमाध्यमिक विद्यालयको प्रधानाध्यापकबाट अवकाश लिएपछि उनले व्यावसायिक रूपमा मौरीपालनलाई अगाडि बढाए हुन् । २० वर्ष पहिलेदेखि नै घरमा आधा दर्जन घार मौरी पाल्दै आएका पूर्वशिक्षक शर्माले अवकाशपछि १ सय घार थपेर यसलाई व्यावसायिक बनाउँदै लगेका छन् ।
मास्टरी पेसाबाट डेढ वर्षअघि अवकाश लिएसँगै घरमा बेकामे भएर बस्नुभन्दा कृषि कर्ममा लाग्ने सोच बनाएर मौरीपालनतिर हानिएको शर्मा बताउँछन् । उनी भन्छन्, ‘शसुरुदेखि नै घरायसी प्रयोजनका लागि केही घार मौरीपालन गर्दै आएको थिएँ । थोरै संख्यामा घार राख्दा पनि रामै्र मह उत्पादन हुन्थ्यो । आफ्नो परिवार, इस्टमित्र, छरछिमेकमा समेत पुग्ने गरेको थियो । अवकाशपछि गफगाफमा समय बिताउनुभन्दा राम्रो कमाइ हुने देखेर मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएँ ।’

धेरै वर्षको अनुभव र पछिल्लो समय बढ्दो व्यावसायिकता देखेकाले मौरीपालनमा लागेको उनी बताउँछन् । ‘मौरीपालनमा राम्रो सम्भावना देखेपछि मलाई राम्रै हुन्छ भन्ने लाग्यो । त्यसपछि व्यावसायिक रूपमा यो पेसा रोजें,’ उनले भने, ‘अहिलेसम्मको अनुभवमा यो व्यवसाय राम्रै हुँदो रहेछ । उत्पादन र बजार दुवै हिसाबले खास्सा छ ।’

लगानी थोरै, आम्दानी धेरै
मौसमले साथ दिएको अवस्थामा १ सय मौरीका घारबाट वार्षिक १५ लाख रुपैयाँसम्म कमाउन मुस्किल नहुने शर्माको दाबी छ । उनी भन्छन्, ‘मौरीको एउटा घारमा एक पटकमा सामान्यतया ५ किलोग्राम मह निस्कन्छ । राम्रो मौसम र चरन व्यवस्था गर्न सके एउटा घारबाट वर्षमा तीनपटक मह काड्न सकिन्छ । यो हिसाबले वर्षमा एउटा घारबाट १५ केजी मह उत्पादन हुन्छ । बजार मूल्य प्रतिकिलोको १ हजार ५०० भएकाले एउटा घारबाट वर्षमा २२ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । यो हिसाबले १ सय वटा घारको आम्दानी २२ लाखभन्दा बढी हुन्छ ।’

शर्माले मौरीपालनका लागि १० लाखभन्दा बढी लगानी गरिसकेका छन् । मौरीसँगै बोर जातको बाख्रापालन र मौसमी तरकारी खेतीसमेत गर्दै आएका छन् । उनको फार्ममा अहिले तीन जनाले काम गर्दै आएका छन् । घरका सदस्यले नभ्याउने भएकाले उनले कामदारसमेत राखेका छन । शर्माका अनुसार हाल मह १ हजार ५ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । शुद्ध मह माग धेरै भए पनि उत्पादन गर्न नसकेको शर्माले सुनाए ।  महको माग बढी भए पनि यसका चाका बिक्री कम हुने गरेको उनले बताए ।

मौरीसँगै बाख्रापालन
शर्माले गत वर्षदेखि बोर प्रजातिको बाख्रासमेत पाल्न थालेका छन् । त्यसभन्दा पहिले स्थानीय प्रजातिको बाख्रा पाल्दै आएकाले आम्दानी सोचेजति राम्रो नभएपछि तनहँुको बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पाल्न थालेको उनले बताए । शर्माले भने, ‘सुरुमा स्थानीय प्रजातिको बाख्रालाई क्रस गराएर पालेको थिएँ । स्थानीय बाख्र पालन सोचेजति सफल भएन । त्यसपछि प्राविधिकको सल्लाहमा बन्दीपुरबाट बोर जातको उन्नत बोका र पाठी ल्याएर पालन सुरु गरेपछि सोचेजस्तै राम्रा भएको छ । खोरमा अहिले २० वटा बाख्रा छन् । ती सबै पाठापाठी जन्माउने अवस्थामा छन् ।’

व्यावसायि रूपमा बाख्रापालन सुरु गरेपछि कामदार राखेर काम गर्दै आएको शर्माले बताए । पछिल्लो समय युवाहरू आप्mनै देशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि रोजगारी खोजीमा बिदेसिने गरेको गुनासो उनको छ । शर्माले भने, ‘आफ्नै गाउँघरमै राम्रो आम्दानी गर्न सकिन प्रशस्त सम्भावना छ । तर, देशमै राम्रो आम्दानी गर्न सकिने अवसरलाई छाडेर युवाहरू ३० हजार कमाउन खाडी मुलुक भासिने गरेका छन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)