ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरजग्गामा तरलताको असर : चितवनमा ५० प्रतिशतले कमी

२०७८ पौष, १६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । घरजग्गा कारोबारमा आकर्षक मानिएको चितवनमा पछिल्लो केही महिनायता ठूलो कमी आएको छ । पछिल्लो समय बैंकमा तरलता अभावका कारण घरजग्गा कारोबार सुस्त छ । ठूला–ठूला घरजग्गा कारोबार हुन सकेका छैनन् भने साना कारोबारमा समेत सहकारीको भर पर्नुपर्ने बाध्यता छ । चितवनका चार वटै मालपोत कार्यालयमा ५० प्रतिशतभन्दा कम रजिस्ट्रसन पास हुने गरेको कार्यालयका कर्मचारी बताउँछन् ।

घरजग्गा व्यवसाय तथा गंगा ग्रुपका अध्यक्ष दिनेशलाल चुके दशैं–तिहारपछि घरजग्गा कारोबारमा ठूलो कमी आएको बताउँछन् । ‘दशैंसम्म कारोबारले गति लिएको अवस्था थियो’, उनले भने, ‘त्यसपछि ओरालो लागेको कारोबारमा सुधार हुनै सकेन ।’

बैंकमा तरलता अभावका कारण चितवनमा ठूला योजना, होटल, रिसोर्ट, उद्योगधन्दा, व्यावसायिक भवनमा लगानी शून्य भएको चुकेले बताए । स–साना घडेरी, जग्गा कारोबार भए पनि ती सबै सहकारीको माध्यमबाट गर्नुपरेको उनको भनाइ छ । ‘हामीले जग्गाधनी र ग्राहकको सहजताका लागि सहकारीमार्फत केही प्रतिशत रकम फिक्स्ड डिपोजिट गर्न लगाएर कामलाई नियमित गरेका छौं,’ चुकेले भने । तरलताका कारण जग्गा व्यवसायीभन्दा पनि ग्राहकलाई मर्का परेको उनले सुनाए ।

प्रभु हाउजिङका अध्यक्ष केशव कार्की कोरोना महामारीपछि घरजग्गा कारोबार केही सुध्रिने संकेत देखिए पनि तरलताका कारण घरजग्गा ठप्पजस्तै भएको बताउँछन् । ‘हामीलाई बैंकको ब्याज नियमित गर्न पनि पैसै चाहिन्छ । ग्राहकले किन्दा पनि बैंकको सहायता चाहिन्छ,’ कार्कीले भने । तरलता अभावका कारण दुवै पक्षलाई मर्का परेको उनको बुझाइ छ । तरलताकै कारण कतिपय जग्गा बैनाबट्टा गरेर पनि राजीनामा पास गर्न नसकिएको उनले बताए । बैंकमा तरलता अभाव हुँदा व्यक्ति विशेषबाट रकम ऋण लिएर कारोबार गर्दा महँगो ब्याज पर्ने गरेको उनको भनाइ छ ।

कारोबार सुस्त भएपछि बिहानैदेखि भीडभाड हुने चितवनका मालपोत कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून रहेको छ । हाल मालपोत कार्यालयमा अंशबन्डा, रोक्का, फुकुवा, भर्पाइ, दृष्टि बन्धक, राजीनामा पासका काम ५० प्रतिशतभन्दा बढी कमी भएको छ । मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारी दशैंअघि दैनिक साढे ३ सय हाराहारी काम हुँदै आए पनि अहिले यो संख्यामा निकै कम भएको बताउँछन् । ‘दशैंपछि कम भएको हाम्रो काम अहिले झनै सुस्त छ’, भण्डारीले भने, ‘यसअघि साढे ३ सय वटा जति काम हुन्थ्यो । अहिले डेढ सय हाराहारीमा सीमित भएको छ ।’ तरलता अभावकै कारण घरजग्गाको काराबारमा कमी आउनुका साथै अंशबन्डा, नामसारी, फुकुवालगायतमा पनि असर परेको उनको भनाइ छ ।

निक्षेप सुस्त हुँदा बैंकहरूमा ऋण् माग अत्यधिक भए पनि लगानी गर्न सकेका छैनन । तरलता अभावकै कारण पुराना ऋणीहरूलाई समेत थप लगानी गर्न नसकिएको र नयाँका लागि लगानी शून्यजस्तै भएको छ ।

कामना सेवा विकास बैंकका क्षेत्रीय प्रबन्ध सुरेन्द्र भण्डारी निक्षेप र ऋण मागको सन्तुलन नहुँदा बैंकले चाहेर पनि लगानी गर्न नसकेको बताउँछन् । ‘ऋणको लगानी बढेको बढ्यै छ तर डिपोजिट एकदम सुस्त छ । ऋणको माग अधिक छ’, भण्डारीले भने ।

बैंकमा डिपोजिटका साथै ऋणीहरूको ब्याजसमेत नियमित संकलन हुन कठिनाइ भएको उनको भनाइ छ । नयाँलाई लगानी क्षेत्रको प्रकृतिको आधारमा र पुराना सेवाग्राहीलाई पहिलो प्राथमिकता दिएर लगानी गर्नुपरेको उनको भनाइ छ । ‘रकम प्रशस्त नहुँदा हामीले स–साना व्यवसायीलाई प्राथमिकता दिएका छौं’, उनले भने, ‘अन्यलाई किस्ताकिस्तामा ऋण भुक्तानी गरेरै भए पनि काम चलाएका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)