ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा पोल्ट्री व्यवसायमा सकस : उत्पादनमा आत्मनिर्भर, कच्चापदार्थमा परनिर्भर

पोल्ट्री बोर्ड स्थापना गर्न माग

२०७८ पौष, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

पुस १८, चितवन । नेपालको पोल्ट्री क्षेत्र उत्पादनमा निर्भर भइसकेता पनि कच्चापदार्थमा अझै परनिर्भर रहेको भन्दै सरोकारवालाहरुले पोल्ट्री नीति बनाउनु पर्ने बताएका छन् ।

नेपालमा आधुनिक पोल्ट्री व्यवसाय शुरु भएको ६ दशक बितिसकेको छ । तथ्यांक अनुसार वार्षिक पोल्ट्रीजन्य उत्पादनमा १ खर्ब रुपैयाँभन्दा बढी कारोबार हुँदै आएको छ । यो क्षेत्रबाट प्रत्यक्ष डेढ लाख तथा अप्रत्यक्ष गरी झण्डै साढे ४ लाख जनाले  रोजगारी पाइरहेका छन् ।

देशको कुल गार्हस्थ उत्पादनको ३ दशमलव ७ प्रतिशत योगदान दिंदै आएको पोल्ट्री क्षेत्रले कच्चा पदार्थमा भने  आयातमा निर्भर हुनुपर्दा न त प्रतिस्पर्धानै गर्न सकेको छ न त मूल्यमा एकरुपता नै गर्न सकेको छ । नेपालमा हाल दैनिक ३० लाख अण्डा र ८ लाख केजी मासु उत्पादन हुँदै आएको तथ्यांक छ । तर योभन्दा डरलाग्दो अवस्था पोल्ट्रीजन्य कच्चापदार्थको  आयात जस्तै मकै, भटमास, पीना  तथा पंक्षीजन्य औषधीमा पर निर्भर बन्नुपरेको छ । 

पोल्ट्री विज्ञ डाक्टर तिलचन्द्र भट्टराईका अनुसार दाना उत्पादनको लागि वार्षिक भटमास र पीना १४ अर्ब रुपैयाँ, मकै १२ अर्ब रुपैयाँ र औषधी, भिटामीन गरी १० अर्ब रुपैयाँ बराबरको आयात गर्नुपर्ने बाध्यता छ ।

जसअनुसार दाना उत्पादनको लागि ८० प्रतिशत मकै, ९५ प्रतिशत भटमास आयात हुने गरेको छ भने यसलाई चाहिने आवश्यक अन्य कच्चा पदार्थ फिड प्रिमिक्स र फिड सप्लिमेण्टको लागि आवश्यक कच्चा पदार्थ ९९ दशमलब ९९ प्रतिशत आयात हुने गरेको पनि उनले बताए ।  कृषिजन्य कच्चा पदार्थमा पनि सरकारले ९ प्रतिशत भन्सार कर लिएकोले दानाको मूल्यको तुलनामा मासुको मूल्य बढ्न नसकेको उनले बताए ।

‘दानाको मूल्य प्रत्येक वर्ष बढेको बढेयई छ । मासुको मूल्य भने वर्षौदेखि बढ्न सकेको छैन, नत खपतनै बढेको छ’, उनले भने ।  मासुको उत्पादनको तुलनामा खपत बढ्न नसके पनि अण्डाको उत्पादन, मूल्य र खपत भने सन्तुलनमा रहेको उनको भनाइ छ  । 

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट पोल्ट्रीजन्य  कच्चा पदार्थको मूल्य वृद्धिका कारण प्रतिस्पर्धा गर्न नसकिएको बताउँछन् । साथै  अधिकांश कुखुराका खोर तथा उपकरणहरु पुरानै प्रयोग भईरहँदा थप चालू खर्च तथा लागत बढेको उनको भनाइ छ । पोल्ट्रीलाई व्यवसायिक र प्रतिस्पर्धात्मक बजारमा ल्याउन पोल्ट्री बोर्ड स्थापना गरी पोल्ट्री  नीति बनाउनु पर्ने र बनाइसकेका नीतिहरु कार्यन्वयन गर्नुपर्ने उनको भनाइ छ । 

पोल्ट्रीको कच्चा पदार्थमा आत्मनिर्भर बनाउन कृषि उपजलाई स्वदेशमै उब्जनी गराउन जोड दिनुपर्ने र कृषकलाई नगद अनुदानभन्दा सहुलियत ब्याजदर  र करमा अनुदान दिनुपर्ने विष्टले बताए । 
उत्पादनभन्दा उपभोग कम 
नेपालमा उत्पादन हुने पोल्ट्रीजन्य मासु तथा अण्डाको उत्पादन बढी भएपनि यसको तुलनामा भने उपभोग कम हुने गरेको छ । अन्तरराष्ट्रिय मापदण्ड अनुसार सरदर अधिकांशले न्यूनतम वार्षिक ६ दशमलब २  केजी मासु र ६१ ओटा अण्डा मात्र उपभोग गर्ने गर्दछन् । तर चिकित्सकका अनुसार शरिरलाई चाहिने आवश्यक पौष्टिक तत्वको लागि हरेक व्यक्तिले वार्षिक १८ केजी मासु र दैनिक दुई ओटा अण्डा खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ । 

जुनसुकै उमेर समूहका मानिसलाई पनि लाभदायक हुने कुखुराको अण्डा र मासु आवश्यक उपभोग नहुँदा कुपोषणलगायत शरिरलाई चाहिने मिनरल्स,भिटामीन र प्रोटिनको मात्रा कम हुने गरेको वरिष्ठ फिजिशियन डाक्टर भोजराज अधिकारीको भनाइ छ । अझै पनि ४३ प्रतिशत नेपालीमा प्रोटिनको मात्रा कमी रहेको उनले बताए । 

अण्डाको बजार राम्रो रहेपनि ब्रोइलर कुखुराको बजार र मूल्य बढ्न नसक्दा कृषक ह्याचरी व्यवसायी दुबै ठूलो मारमा परेको पोल्ट्रीविद् डाक्टर तिलचन्द्र भट्टराईको भनाइ छ । 

 ‘चल्ला उत्पादन अहिले एकतिहाई घाटामा छ, मासुको मूल्य पनि उपभोग पनि बढ्न सकेको छैन’, उनले भने, ‘अण्डाको बजारभने सन्तोषजनकनै छ ।’ उपभोक्ताको संख्याको तुलनामा ह्याचरी, दाना, पोल्ट्री फार्मको संख्यामा वृद्धि हुंँदै जाँदा पोल्ट्रीजन्य वस्तुको बजार अस्तव्यस्त रहेको उनको भनाइ छ । 

हाल नेपालमा ३५० ओटा ह्याचरी उद्योग रहेका छन् । जसबाट हरेक सातामा ३० देखि ३५ लाख ब्रोइलर चल्ला मात्र उत्पादन हुन्छ भने लेयर चल्ला प्रत्येक हप्ता २ लाख ओटा उत्पादन हुँदै आएको छ ।  यस्तै १२७ ओटा दाना उद्योगमा ८० खर्ब रुपैयाँ लगानी भएको तथ्यांक छ भने यी उद्योगको प्रतिदिन उत्पादन क्षमता साढे १२ हजार मेट्रिक टन भएपनि दैनिक ती उद्योगहरुबाट ४ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)