ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्यभन्दा कम राजस्व संकलन

२०७८ माघ, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । पुस महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन घटेको छ । आन्तरिक राजस्व विभागले पुुसका लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार रुपैयाँ मात्र असुली गरेको हो, जुन लक्ष्यभन्दा २९ प्रतिशत कम हो ।

कार्यालयको राजस्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शीर्षकमा पुसमा ठूलो कमी आएको छ । यस शीर्षकमा लक्ष्यको ५९ दशमलब शून्य १ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ मात्र उठेको हो ।

कार्यालयले आयकर, बहालकर र स्वास्थ्य सेवा करबाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाएको छैन, जसअनुसार आयकर शीर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिइएकोमा ५३ करोड ७८ लाख १५ हजार, बहालकर शीर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार र स्वास्थ्य सेवा कर शीर्षकमा ६ लाख ६८ हजार लक्ष्य रहेकोमा १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी मूल्य अभिवृद्धि कर र ब्याजकरमा पनि लक्ष्य अनुसार राजस्व असुली भएको छैन । मूअक शीर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार असुलीको लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार र ब्याजकर शीर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिइएकोमा १ करोड २६ लाख ३३ हजार रुपैयाँ असुली भएको छ ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हरि ढकालले पछिल्ला महिनामा मदिरालगायत वस्तुको कारोबार कम भई राजस्व संकलनमा पनि असर परेको बताए । ‘कोरोनाले गर्दा अझै पनि बजार सामान्य अवस्थामा फर्किएको छैन,’ उनले भने, ‘सबै क्षेत्रको कारोबार सुस्त हुँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’

कार्यालयको राजस्व अन्तःशुल्कमा निर्भर रहने भएकाले पुसको कुल राजस्व संकलन प्रभावित भएको उनको भनाइ छ । ‘अन्य शीर्षकमा जतिसुकै राजस्व असुली भए पनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजस्व संकलन भएन भने समग्र असुलीमा असर पर्छ,’ उनले भने ।

विभागले चालू आवको पुस महिनासम्ममा ९ अर्ब ६५ करोड ५१ लाख २ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । विभागले यस वर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)