माघ ६, काठमाडौं । अमेरिकाको क्यालिफोनिर्या राज्यको लस एञ्जलस(एलए) शहरमा रेल ट्र्याकमा रित्ता बाकसहरुको थुप्रो लागेको भिडियोहरु भाइरल भइरहेका छन् ।
रेलमार्गका चोरीहरु नाटकीय ढंगले बढेको ढुवानी कम्पनीहरुले बताइरहेका छन् । रेलमार्ग भरि फ्यााकिएका प्याकेजका बाकसहरु मध्ये केही युनाईटेड पार्सल सर्भिस (यूपीएस), एमाजन र फेडएक्स जस्ता कम्पनीका छन् ।
चोरी बढेपछि आफूले लस एन्जलसमा रेल सञ्चालन नै बन्द गर्न सक्ने अमेरिकाको सबैभन्दा ठूलो रेलरोड कम्पनी यूनियन प्यासिफिकले बताएको थियो । चोरीका घटना बढ्नुमा अपराधिक गतिविधिप्रति अभियोजन सुस्त हुनु मुख्य कारक रहेको कम्पनीको भनाइ छ ।
रेलका कन्टेनर र रेलमा ताल्चा लगाइएको भएपनि यसलाई फुटाउन सकिने बताइएको छ । एलएमा गत वर्षको सोही अवधिको तुलनामा अहिले चोरी १६० प्रतिशतले बढेको लस एञ्जलस जिल्ला अघिवक्तालाई प्रेषित एक पत्रमा गत महीना यूनियन प्यासिफिकले बताएको थियो ।
एलएमा अपराधिक गतिविधिमध्ये अति थोरैमाथि मात्रै मुद्दा चलाइने र यसैको कारण चोरीहरु बढेको दाबी कम्पनीको छ । विगत तीन महीनामा आफूले रेलमा तोडफोड गरेका १०० भन्दा धेरै सक्रिय अपराधीहरुलाई एलए प्रहरी विभाग र एलए शेरिफ विभागको सहकार्यमा समातेको पनि पत्रमा यूनियन प्यासिफिकले बताएको छ ।
यूनियन प्यासिफिकको पनि आफ्नै सुरक्षा विभाग छ । यसको क्षेत्राधिकार उसको स्वामित्वमा रहेको ३२ हजार माइल रेल ट्र्याकमा छ । आफूले सुरक्षा स्रोत बढाएको अनि स्थानीय कानून कार्यान्वयन निकायहरुसँग थप निकट सहकार्य गरिरहेको भएपनि समस्या नहटेको कम्पनीको गुनासो छ । चोरीका क्रममा रंगेहात पक्राउ परेका चोरहरुलाई हिरासतबाट २४ घन्टाभित्रै रिहा गरिएको यसले बताएको छ ।
यस क्षेत्रमा अपराध बढ्नुको कारण यहाँको गरिबी भएको बताइएको छ । कोरोना भाइरसको महामारीबीच यस क्षेत्रमा गरिबी झनै बढेको छ । हालैका महीनामा एलएमा मात्रै नभएर क्यालिफोनिर्याभरि नै चोरीका घटनाहरु बढेका छन् । (एजेन्सीको सहयोगमा)