माघ १०, काठमाडौं । चिनियाँ अर्थतन्त्रको लागि त्यहाँका राष्ट्रपति सी चिनफिङ स्वयम् नै खतराका रुपमा रहेको भन्दै एक जापानी पत्रिकाले समाचार छापेको छ ।
उनको आकस्मिक अनि चरम नीतिको प्रभावले गर्दा अर्थतन्त्रमा जोखिम उत्पन्न हुँदै गएको निक्केई एशियाले एक समाचारमा भनेको छ ।
सन् २०२१ को अन्तिम त्रैमासमा चीनको कमजोर आर्थिक वृद्धिदरले समस्या उत्पन्न गराउन सक्ने भनेर विज्ञहरुले चेतावनी दिइरहेकै समयमा उक्त समाचार छापिएको हो ।
चीनको घरजग्गा क्षेत्रमा देखिएको संकट, कोरोना भाइरसको पछिल्लो प्रकोप र संक्रमण नियन्त्रणका लागि अपनाइएका कठोरतम् उपायका कारण चीनको अर्थतन्त्र अक्टोबर–डिसेम्बर त्रैमसमा समस्यामा आएको थियो ।
गत वर्षको चीनको आर्थिक वृद्धिदर अपेक्षा गरिएकै हाराहारीमा रहेको भएपनि अन्तिम त्रैमासमा अर्थतन्त्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले मात्रै कसरी बढ्यो भनेर अर्थशास्त्रीहरुले औंल्याउन थालेका छन् । यो वृद्धिदर करीब डेढ वर्षयताकै सुस्त थियो ।
शरद याममा कम्युनिष्ट पार्टीको राष्ट्रिय भेला हुने बेलासम्म सीले आर्थिक अवस्था सुधार्न सकेनन् भने यसले उल्टै उनको शत्ति प्रभावित हुने निक्केई एशियाले स्रोतका रुपमा एक चिनियाँ राजनीतिज्ञलाई उद्धृत गर्दै भनेको छ ।
चाहिने भन्दा धेरै निर्धक्क हुनु चीनको विकासको लागि खराब रहेको सोमवार चीनको कुल गाहस्थ्र्य उत्पादनसम्बन्धी तथ्यांक सार्वजनिक भएपछि एक जना चिनियाँ अर्थशास्त्रीले भनेका थिए ।
अहिले आफूहरुले आर्थिक वृद्धिदरमा चिन्ता नै व्यक्त गर्नु पर्ने सुस्तीको सामना गरिरहेको र यसलाई हेर्दा चीनले अमेरिकालाई उछिन्ने दिन चाँडै नजिक आउनुको सट्टा झन् झन् पछाडि धकेलिने पनि ती अर्थशास्त्रीले बताएका थिए ।
चीनको नोमिनल जीडीपीले सन् २०३३ मा अमेरिकालाई उछिन्ने गत वर्ष जापान सेन्टर फर रिसर्च (जेसीईआर) ले प्रक्षेपण गरेको थियो । यो यस अघि गरिएको अनुमान भन्दा पाँच वर्ष ढिला हो । यस अघि भने केही जापानी सेन्टरहरुले चीनले सन् २०२८ मा अमेरिकालाई नोमिनल जीडीपीमा उछिन्ने भविष्यवाणाी गरेका थिए ।
घरेलु र अन्तरराष्ट्रिय आर्थिक वातावरणमा आएको परिवर्तनले उल्लेख्य दबाब सृजना गरेको भएपनि चीनको अर्थतन्त्रको भविष्यप्रति आफूहरु निकै विश्वस्त रहेको चिनियाँ राष्टपति सिले विश्व खार्थिक मञ्चसाग सम्बन्धित एक बैठकमा बोल्ने क्रममा भनेका थिए ।
उनको सो अभिव्यक्ति गत त्रैमासमा चीनको अर्थतन्त्र सुस्ताएको खबर सार्वजनिक भएकै दिन आएको थियो । एजेन्सीको सहयोगमा