देशमा गणतन्त्र आउँदा जसरी स्वागत गर्नेको हुल थियो, अहिले गणतन्त्रलाई गाली गर्नेको त्यस्तै हुल देखिन्छ । एउटै तन्त्र पनि केही वर्षमै तालीबाट गालीमा किन जाँदै छ ? हिजो राजाको खोइरो खन्नेहरूसमेत अहिले एकाएक राजाको बेलामा देश स्वर्ग भएको भन्न थालेका छन् । गति बिग्रिएको हो कि मति ? आँखा फेरिएको हो कि चस्मा ? रनभुल्लमा छु है म त !
प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ ।
हो, अहिले एक किसिमले गणतन्त्रको गला काट्ने प्रतियोगिता फुल स्पीडमा चलिरहेको छ । हुन त यो गणतन्त्र पहिला गला काटाकाट गरेर, पछि गाला चाटाचाट गरेर नै आएको हो क्या रे ! तर अहिले यसको गला काटिँदै गएका खबरहरू निरन्तर जारी छन् । राजनीतिको यो कलहकारी गलाकाट् प्रतियोगितामा एक अर्कोको गला काट्दै गणतन्त्रको गला काट्ने कलाकारी गरिरहेका छन् । खाशगरी प्रत्येक राजनीतिक दल आआफ्नो ढंगबाट गणतन्त्रको गला काट्ने वा दबाउनेमा अब्बल सावित हुँदै छन् ।
आफूलाई प्रजातन्त्रको ठेकेदार जस्तो गर्ने दलले पनि आफ्नो सत्ता टिकाउन खुलेआम गणतन्त्रको घाँटी दबाउने काम गर्दै आएको छ । बुलेटवाला र ब्यालेटवाला अथवा घ्यू बेचुवा र तरबार बेचुवा मिलेर बनेको सत्ता गठबन्धन विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलवाड गर्दै कानूनै संशोधन गरेर भए पनि स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष पछि धकेल्ने गृहकार्यमा जुटेको थियो । सर्वत्र विरोध भएर हो या गुरुको आदेश आएर हो निर्वाचन पर धेकेलेर तर मार्ने काम सम्भव हुन सकेन र मात्रै । नत्र धन्नै सिध्याएका थिए !
अर्को, प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । यसका लागि उसले आफू विपक्षमा पुग्नासाथ न कहिल्यै संसद् चल्न दियो, न उद्योगधन्दा राम्रोसँग चल्न दियो । बरु केवल आफ्ना नजिकका क्रोनी व्यापारी र आसेपासेलाई मात्र फल्न फुल्न दियो । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ ।
मुलुकमा संविधान र संसद् छन् । संविधान चाहिँ चामल नपसेको फोस्रो धान जस्तो बनाका छन्, हाला लगाएर जता पनि बत्ताउन मिल्ने । अनि संसद्लाई चाहिँ सत्तामा जाने वा केवल तलब–भत्ता खाने भर्याङ मात्र बनाका छन् । संसद्लाई सक्रिय बनाएर ऐनहरू जारी गर्नुको साटो त्यसलाई बन्धक बनाएर दलीय सहमतिको नाममा यहाँ अर्को राणाकालीन भारदारीसभाको अभ्यास पनि भइरहेको छ ।
गणतन्त्रमा कानून पनि कैयौं किसिमका छन् । भनौं, विविध कानूनका शानदार फूलका गुच्छा । एउटा त्यो कानून, जसलाई केवल राजनीतिज्ञले मात्र मान्छन् । एउटा त्यो कानून, जसलाई नोकरशाह याने कर्मचारीतन्त्रले धान्छन् । एउटा त्यो कानून, जसलाई न्यायकर्मीहरू मात्रै आफ्नो ठान्छन् । एउटा त्यो कानून, जसलाई केवल पुलिसहरू चिन्छन् । अनि अर्को एउटा कानून जसमा जनता केवल किचिन्छन् । यसरी कानूनहरूका बीचमा कैंयौं प्रकारका कानूनहरू सल्बलाइरहेका छन् । यिनै अलग अलग कानूनका मातहत गणतन्त्रको गला विचित्र तरिकाले निस्सासिँदो छ ।
सबै मिलेर गणतन्त्रलाई गाँडतन्त्र बनाएका छन् । अनि त्यही गाँडलाई आहा भन्दिनुपर्ने रे जनताले । झन् कोरोनाकालमा त आआफ्ना ढंगको आफ्नै प्रकारको विचित्र कानूनको चलन आएको छ । जोर बिजोर रे । हे दैव ! कोही बिरामी पर्यो भने आफूसँग भएको साधन घरमा थन्क्याएर कसको सहारा लिएर, कसको गाडीमा सिटामोल खोज्न शहर बजार धाउने होला ? अनि कोरोना सार्ने गाडीले हो कि मान्छेले हो ? हैन के खान्छन् होला यहाँका शासक र नोकरशाहीहरू यस्ता अद्भूत निर्णयहरू गर्नलाई हँ ? हुन त ठोकन्ते शासक र घोकन्ते नोकरशाहहरूले योभन्दा बढी जान्ने कुरा पनि भएन ।
२५ जनाभन्दा बढीको भेला गर्न नपाइने फरमान जारी छ । तर यो फरमान दल भनाउँदाहरूलाई लागू हुँदैन । उनीहरू त कुनै नेता मरिहाल्यो भने मलामी पनि जुलुस वा जन्तीसरी जुटाउन सफल हुन्छन् । तर एउटा सामान्य जनता मर्यो भने पशुपतिसम्म पुर्याउने जन्तु समेत फेला पर्दैन । र, उसको जाँदाजाँदै बागमती मातासँग भेट्ने इच्छासमेत अधुरै रहन्छ । आआफ्ना मुर्दाका आआफ्ना भाग्य ! जस्तो मुर्दा त्यस्तै कानून ! भाग्यमानी मुर्दाले नै काइदासँग भीड जम्मा गर्न पाउँछ र त्यो जाँदाजाँदै पनि गणतन्त्रको गला थिच्नमा आफ्नो बहादुरी देखाएर जान्छ ।
आफ्नो आफ्नो प्रजातन्त्रको आफ्ना आफ्ना स्टाइल छन् । यता गणतन्त्रको गला काट्नेहरू, यसको घाँटी दबाउने कतिपय दलाल, चम्चा, नेता भनाउँदाहरू यति आनन्दप्रेमी छन् कि यी जहाँ रहेर पनि आफ्नो मस्ती मार्न पछि पर्दैनन् । कहिले पक्ष त कहिले विपक्षमा बसेर । कहिले संसद् त कहिले सडकमा कुर्लेर । कहिले नेता त कहिले चम्चा बनेर । कहिले अफिसर त कहिले पिएन भएर । कहिले माइतीघरमा त कहिले सिंहदरबार त कहिले दिल्ली वा बेइजिङ पसेर । यसरी यिनीहरूले आफ्नो ढंगले गणतन्त्रको गला दबाउने खेल खेलि नै रहेका छन् ।
विसं २०६५ सालदेखि हरेक वर्ष जेठ १५ मा सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । हरेक दिवसमा शहीदमञ्चमा नेताहरू ‘देशमा गणतन्त्र आइसकेकाले देश अब समाजवादको बाटोमा हिँडिरहेको’ सगर्व घोषणा गरिरहन्छन् । तर के गणतन्त्र साँच्चै आइसकेको हो र ? कसलाई आएको हो ? तर खै हाम्रोतिर त आएको छैन । न त हाम्रो टोल, समाजमा नै देखिएको छ गणतन्त्र । न स्कूल कलेजमा देखिएको छ यो गणतन्त्र, न अस्पतालहरूमा । न त सार्वजनिक यातायातहरूमा वा न सरकारी कार्यालयहरूमा । न बजारमा न बस्तीमा । कहाँ अट्क्यो त त्यो गणतन्त्र ?
लगभग सबै दल देशमा गणतन्त्र आयो भनिरहेका छन्, तर हामीले देखेका छैनौं । यसको मतलब के गणतन्त्र केवल राजनीतिक दल र नेताहरूकोमा मात्र पुगेको हो ? हामी पनि त्यो गणतन्त्रलाई हाम्रो टोल समाजमा पनि ल्याउन आतुर छौं । मानिसहरू गणतन्त्रको स्वागतका लागि फूल, अबिर, स्वागतद्वार र ताम्र घडाहरूसहित तम्तयार पनि छन् । आआफ्नोमा हात समातेर ल्याउन चाहन्छन् गणतन्त्रलाई । हाम्रो टोलका प्रत्येक नागरिक गणतन्त्रलाई हेर्न चाहन्छन्, छुन चाहन्छन् र अझ भोग्न चाहन्छन् । तर अहिलेसम्म कसैले पनि गणतन्त्रको अनुहार देख्न पाएको छैन । के तपाईंको टोलमा आएको छ त गणतन्त्र ? के तपाईंले कतै देख्नुभएको छ त गणतन्त्रलाई ? कस्तो हुन्छ हँ गणतन्त्रको अनुहार ?