ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औद्योगिक क्षेत्र निर्माणको जिम्मा निजी क्षेत्रलाई दिन माग

२०७८ माघ, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका उद्योगी, व्यवसायीले निर्माणाधीन शक्तिखोर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिन माग गरेका छन् । व्यवसायीले कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानिया र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठसमक्ष यस्तो माग गरेका हुन् ।

नेता बानिया तथा मन्त्री श्रेष्ठ भरतपुरमा निर्माणाधीन चितवन औद्योगिक प्रदर्शनी केन्द्र निरीक्षण गर्न आएका बेला व्यवसायीले यस्तो माग राखेका हुन् । प्रदर्शनी केन्द्र निरीक्षणपछि उनीहरुलाई शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको अवस्थाबारे जानकारी गराइएको थियो । औद्योगिक क्षेत्रका अभियन्ता तथा उद्योग परिसंघ बागमती प्रदेश अध्यक्ष भेषराज दुवाडी, उद्योग संघ अध्यक्ष त्रिलोचन कँडेल, निवर्तमान अध्यक्ष राजु पौडेललगायतको टोलीले औद्योगिक क्षेत्रको काम यथाशीघ्र अघि बढाउन जोड दिए ।

सरकारले ०७२ सालमा शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणको निर्णय गरे पनि हालसम्म काम अगाडि नबढेकाले व्यवसायीले यसबारे ध्यानाकर्षण गराएका हुन् ।

७ वर्षसम्म औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गरी रुख कटान गर्ने काम भइरहेको छ । शक्तिखोरमा रहेको १ हजार ७४१ बिघामा ८०० वटा उद्योग स्थापना गर्ने गरी औद्योगिक क्षेत्र निर्माण सुरु भएको अभियन्ता दुवाडीले बताए । २५ प्रतिशत ग्रिनरी रहने गरी बैंक तथा वित्तीय संस्था, औद्योगिक शिक्षालय, रिसोर्ट, विद्यालय तथा क्याम्पस, सुरक्षाकर्मी तथा कामदारका लागि आवास निर्माणलगायत पूर्वाधार निर्माण गर्ने गरी डीपीआर तयार भएको दुवाडीले जानकारी दिए ।

९९ वर्षको भोगाधिकारसहित राज्यले निर्माण तथा सञ्चालनको जिम्मेवारी दिए निजी क्षेत्रले औद्योगिक क्षेत्र निर्माण गर्ने अभियन्ता दुवाडीको भनाइ छ । भरतपुरमा निर्माणाधीन औद्योगिक प्रदर्शनी केन्द्रबारे पनि संसदीय दलका नेता बानिया र मन्त्री श्रेष्ठलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा बानियाले औद्योगिक क्षेत्रका विकृति अन्त्य गर्न शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण अनिवार्य रहेको बताए । उनले औद्योगिक क्षेत्र निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले शक्तिखोरको औद्योगिक क्षेत्र र औद्योगिक प्रदर्शनी केन्द्रको मुख्यमन्त्री राजेन्द्र पाण्डेले समेत निरीक्षण गरी निर्माणमा चासो देखाएका छन् । ‘मुख्यमन्त्रीले हेरेर जानुभएको छ । व्यवसायीका मागका विषयमा गम्भीर छौं’, उनले भने, ‘औद्योगिक क्षेत्र र औद्योगिक प्रदर्शनी केन्द्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्नेछ ।’ निरीक्षणमा चितवनका उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेता तथा प्रतिनिधिको सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)