उहिले भारतको हरियाणा राज्यका गयारामले १५ दिनमा तीनओटा पार्टी बदलेका थिए रे । यसैक्रममा ९ घण्टा नहुँदै एक पार्टी छोडी अर्को पार्टीमा प्रवेश गरेपछि उनलाई ‘आयाराम गयाराम’को उपनाम दिइयो । प्राय: सबै चीज दक्षिणबाट आयात हुने मुलुकमा आयाराम गयाराम प्रवृत्ति आयात नहुने कुरै भएन । बरु आयाराम गयारामलाई माथ गर्नेतिर पो मुलुक जाला जस्तो छ । दलबदल रोक्ने कानून त छ हाम्रोमा, तर त्यसले पनि कहाँ छेक्दोरहेछ र !
राजनीतिक दलहरू हिजोआज एक प्रकारले प्राइभेट लिमिटेड कम्पनी र यसका सब्सिडियरी कम्पनी वा कम्पनीका डिलरका रूपमा काम गरिरहेका छन् । सोही मुताविक एउटा दलबाट चुनाव जितेर संसद्मा अर्को दलको समर्थनमा भोट हाल्न पाउनुपर्छ । दल पोर्टेबिलिटी आजको समयको माग होे ।
संसद् प्राय: नचले पनि हाम्रा सांसद र नेताहरू संसदीय प्रजातन्त्रको अभ्यास गर्न पाएसम्म चुक्तैनन् । त्यसैले यो दलबाट ऊ दलतर्फ छलाङ मार्ने संवैधानिक कर्म गरिरहन्छन् । कोही गाई पार्टीबाट गोरु पार्टीमा, कोही एमालेबाट विमाले वा सिमालेमा, कोही साझामा त कोही विवेकशीलमा, कोही सडकमा त कोही धर्मशालामा । कोही केमा त कोही केमा ।
उनीहरू दलदल पार्टीबाट पत्रकार सम्मेलन गर्न सिद्धिनेबित्तिकै दलबदल पार्टीमा घुस्न भ्याइसकेका हुन्छन् । एउटा कार्यक्रममा नेताजस्तै देखिने एउटा भुँडेलाई मैले सोधेँ, ‘तपाईं एमालेमा हुनुहुन्छ कि क्या हो ?’
उनले मलाई प्रतिप्रश्न गरे, ‘तपाईं अन्तर्यामी हो र ? कसरी थाहा पाउनु भयो म एमाले नै हो भनेर र ?’ मैले भनेँ, ‘तपाईंको दोधारे कुरा सुनेर ।’
उनले भने, ‘हो, म एमालेमै थिएँ । एक घण्टा मात्रै भयो समाजवादीमा छिरेको ।’
दल परिवर्तन गर्ने यस्ता उपक्रम चलिरहेका हुन्छन् । देश सेवाका खातिर बिचरा नेतागणलाई कति भागदौड गरिरहनु पर्छ सामान्यजनलाई के था ? उनीहरू दल दलान्तर नाघ्दै, कुद्दै जहिले पनि समयले माग गरेअनुसार दल परिवर्तन गर्न सधैं तम्तयार रहनुपर्छ । सच्चा देशभक्तिका लागि उनीहरूलाई बेला बेलामा एउटा दलबाट अर्को दल वा एउटा गुटबाट अर्को गुटमा जानुपर्ने बाध्यता रहन्छ ।
छेपारोको रङभन्दा पनि तेज गतिले दल बदल्न यी देशभक्तहरूलाई धेरै नै माथापच्ची गर्नुपर्छ । पत्रकार सम्मेलन गरी गरीकन नयाँ नयाँ दलको दोसल्ला धारण गरिरहनु पर्छ । दिनमा १० पटक माला पहिरनु पर्दछ । भाषण ठोकिरहनुपर्छ । यी सबै गर्न घाँटीलाई कति तयारीमा राखिरहनुपर्छ होला, कल्पना गर्नुस् त ! हातमा फूलको गुच्छा लिएर ङिच्च हाँसिरहन कति दु:खदायी हुन्छ । अझ भाषणमा भन्नैपर्छ कि पुरानो दलमा गरीबहरूको सच्चा सेवा हुन सकिरहेको थिएन । विकास कार्य ठीकसँग चलिरहेको थिएन । अब यो नयाँ दलदलमा यी सबै कुरा खुब जोडदार ढंगबाट हुनेछन् । आफैले हुर्काएको दलको विरुद्धमा नारा मिश्रित गीत गाउनुपर्छ ।
कम्ता गाह्रो काम हो दल अदलबदल गर्नु ? पत्रकार सम्मेलनमा नानाथरीका प्रश्नहरूको सामना गर्नुपर्छ । बिचरा ! कति हैरानी र झन्झट बेहोर्नुपर्छ नेताहरूले । दिनमै सयौं पटक झुटको खेती गर्नुपर्छ । परिणाम जेसुकै होस्, पर्यो भने गीता शिरमाथि राखेरै पनि झुट बोल्न सक्नुपर्छ । बिचौलिया, व्यापारीहरूको कुरा सुन्नुपर्छ, मनमा गुन्नुपर्छ । अनेक राजनीतिक तानाबाना बुन्नुपर्छ । एउटै विषयमा सत्तामा हुँदा समर्थन गरेको कुरा सत्ता बाहिर पुग्नासाथ धुँवाधार विरोध शुरू गर्न सक्नुपर्छ । देख्नुभएन र एमसीसीमा के भयो ?
त्यसैले, एउटा नेतालाई यति अधिकार त हुनैपर्छ कि उसले पर्चा, पम्प्लेट, घोषणापत्र आदि एउटा दलबाट छरे पनि चुनावका बेला पर्यो भने अर्को दलबाट लड्नु पाउनुपर्छ । जित–हारको उत्सव कुनै तेस्रो दलमा गएर मनाउने सुविधा हुनैपर्छ । यसरी ऊ कुनै न कुनै नयाँ दलमा घुस्दै छाड्दै गए पनि अन्त्यमा फेरि दल फुटाउने सुविधा एउटा नेतालाई हुनैपर्छ । मौका पर्दा जोसँग पनि राजनीतिक वा अराजनीतिक साँठगाँठ गर्न पाउनुपर्छ । जे पनि बोल्न, जता पनि ढल्कन र जसका पनि हुन पाउनुपर्छ ।
राजनीतिक दलहरू हिजोआज एक प्रकारले प्राइभेट लिमिटेड कम्पनी र यसका सब्सिडियरी कम्पनी वा कम्पनीका डिलरका रूपमा काम गरिरहेका छन् । सोही मुताविक एउटा सांसदले पनि एउटा दलदलबाट निक्लेर अर्को दलदलमा प्रवेश पाउनका लागि वा एउटा दलबाट चुनाव जितेर संसद्मा अर्को दलको समर्थनमा भोट हाल्न पाउनुपर्छ । र, अलिकति मात्र पनि आत्मसम्मानमा धक्का लाग्ने संकेत मिल्नासाथ तुरुन्तै नयाँ दल खोल्न पनि पाउनुपर्छ । दल पोर्टेबिलिटी आजको समयको माग हो र आवश्यकता पनि हो ।
राजनीतिको आफ्नै मौसम हुन्छ । राजनीतिको मौसम र प्रकृतिको मौसममा धेरै अन्तर हुन्छ । प्रकृतिको मौसम वा ऋतु वर्षको ६ पटक परिवर्तन भए पनि राजनीतिको मौसम दिनदिनै छिनका छिन बदली रहन्छ । नेता सांसदहरूलाई राजनीतिक मौसम परिवर्तन हुनासाथ एउटा दल छाडेर अर्को दलमा घुस्नुपर्ने बाध्यता छ । एउटा दलले जब उसको मन्त्री हुने इच्छा पूरा गर्दैन भने उसको इच्छा पूर्ति गरिदिने अर्को दलमा जानु त स्वाभाविक नै हो नि । समयमै दलबदली नगरेका भए अहिलेकै मन्त्रीमण्डलमा अटाएका खाइलाग्दा देखिनेहरू मन्त्री कसरी बन्न सक्थे र ? पहिले पनि कतिपय नेताहरू जुन दल सरकारमा पुग्छ, त्यै दलमा घुसेर पटक पटक मन्त्री र अझ उपप्रधान मन्त्रीसमेत पड्काउने गरको देखेकै हो ।
वास्तवमा नेताहरूका शरीर अजर–अमर हुन्छन् । केवल उनीहरूको आत्मा पलपल मरिरहन्छ । शरीरले नयाँ नयाँ दल धारण गरिरहन्छ । गीतामा पनि लेखिएको छ–
वासांसि जीर्णानि यथा विहाय, नवानि, गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।।
अर्थात् आत्म स्थिर छ, देह मात्र कपडा फेरे सरह बदली रहन्छ । गीताको यो दर्शनलाई नेपाली नेताहरूले हुबहु अनुसरण गरेका छन् । अर्थात् स्वार्थ स्थिर छ, दलहरू कपडा फेरे सरह फेरिरहनु पर्छ भन्ने दर्शन क्या !
त्यसैले दल बदली रहनुपर्छ, स्वार्थ छोड्नु हुन्न भन्ने दर्शनले भविष्यमा अझ बढी काम गर्ला जस्तो छ । त्यसैले, यो दल बदलीको राजनीतिक–चक्र चलि नै रहन्छ । यो प्रविधिको युगमा पनि दल बदल गर्ने वर्तमान प्रक्रिया चाहिँ उही आयाराम गयाराम युगको जस्तो कागजी चाहिँ अलि सुहाएन ।
मोबाइलको सिम एउटा कम्पनीबाट अर्को कम्पनीको मोबाइलमा पनि कम्प्याटिबल अर्थात् फिट भए जस्तै वा एउटा कम्पनीको ग्याँसको सिलिन्डर अर्को कम्पनीकोमा पोर्टेबल भएझैैं नेता सांसदहरूलाई पनि नयाँ प्रविधिको युग अनुसार नै नयाँ दलदलमा प्रवेश पाउन पोर्टेबिलिटी सुविधा हुनैपर्छ । त्यसैले अहिलेको स्मार्ट फोनको जमानामा मोबाइलमा एक ‘टच’ गरेपछि एउटा नेता–सांसदले तुरुन्त दल परिवर्तन गर्न पाउने सुविधा दिनुपर्ने आजको समयको ठूलो माग हो । बरु क्लिक गर्नासाथ दल बदल्न मिल्ने यस्तो स्मार्ट दलबदल सफ्टवेयर बनाउन टेन्डर सेन्डर शुरू गरी हाल्ने पो हो कि ?