ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरलताको असर सुनचाँदीमा : खरीद नगदमा विक्री उधारोमा !

२०७८ फागुन, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

फागुन १२, चितवन । नगदमा खरीद र नगदमै विक्री भइरहेको सुनचाँदीका गहना पछिल्लो समय  तरलताको कारण उधारोमा विक्री गर्नुपर्ने व्यवसायीको  बाध्यता छ ।

कोरोना कहरपछि केही उकासिन लागेको सुनचाँदी कारोबार पुनः सुस्ताएको छ । बिबाहको सिजनमा कारोबार उकासिने आशमा रहेका सुनचाँदी व्यवसायीहरु तरलताकै कारण निराश बनेका छन् ।

बैंक र बजारमा पैसाको अभाव हुन थालेपछि सुनचाँदीका गहना बनाउन र किन्न आउने ग्राहकको संख्या पनि न्यून रहेको व्यवसायीनै बताउँछन् । सुनचाँदीको मुल्यमा क्रमश : वृद्धि हुँदै गएको र तरलता अभावको कारण पनि सिजनमा पनि कारोबार सुस्ताएको उनीहरुको भनाइ छ । 

जय सन्तोषी माता सुनचाँदी पसल नारायणगढका सञ्चालक रुवीन रामुदामु तरलताको अभाव केही समय नदेखिएपनि हाल आएर सुनचाँदी व्यवसायमा देखापर्न थालेको बताउँछन् । ‘माघ महीनासम्म त विक्री पनि ठिकै थियो ग्राहक पनि ठिकै थिए फागुनबाट भने कम हुँदै गएको छ’, उनले भने । लकडाउनका कारण रोकिएका बिहे ब्रतबन्ध तथा धार्मिक अनुष्ठान कार्य सुचारु हुँदा व्यवसायले गति लिएपनि पछिल्ला दिनहरुमा विक्री कम हुँदै गएको उनले बताए ।

‘दैनिकजसो सुनको मूल्य पनि वृद्धि हुँदै गएको छ तरलता संकटपनि थपिदै गएको छ’, उनले भने । कतिपय नियमित ग्राहकहरुको काम सम्पन्न गर्न उधारोमा सुन विक्री गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘सुन भन्ने चीज उधारो खरीदविक्री भन्ने कुरै आउँदैन तर ग्राहकको काम चलाउन पनि केही दिनको लागि दिनै पर्यो’, उनले भने । 

कतिपय सुनचाँदी पसलका सञ्चालक भने सुनचाँदी व्यवसायमा अहिलेनै प्रत्यक्ष असर नदेखिएको बताउँछन् । कोरोना कहरमा ठप्प भएको व्यवसाय कोरोना र सिजन आएसँगै सन्तोषजनक कारोबार भइरहेतापनि पछिल्ला दिनहरुबाट भने कम भएको उनीहरु बताउँछन् । 

‘कोरोनाको बेलामा जस्तो ठप्प त छैन तर जुन रुपमा कारोबारको अपेक्षा गरिएको त्यो चाहीं छैन’, आधुनिक सुनचाँदी पसलका सञ्चालक बिकास वर्माले भने । वर्षौदेखिको सम्बन्ध भएका ग्राहक र विश्वासिलो ग्राहकहरुलाई भने उधारोमा गहना दिनुपर्ने उनले बताए । ‘बैंकले ऋण दिएको छैन, रेमिट्यान्स पनि घटेको छ । मानिसलाई आफ्नो गर्जो पनि टार्नुपरेको छ’, उनले भने । सुनचाँदीको मूल्य वृद्धि र तरलता अभावकै कारण अब गहना किन्नेभन्दा पनि बेच्ने ग्राहक आउन थालेको उनले बताए । 

सुनचाँदीका गहना प्रयोग गर्नुपर्ने नेपाली संस्कृति भएपनि मूल्य वृद्धि र तरलताकै कारण ग्राहकले कम मात्रामा गहना खरीद गर्ने गरेका छन् । अर्कोतिर शेयर बजार पनि उकासिन नसकेका कारण मानिसहरु कम घाटा खान तथा सुरक्षित लगानी गर्न सुनचाँदीमा लगानी गर्न उत्सुक हुन्छन् भने कतिपयले भएको सुनचाँदी विक्री गरेर शेयरको लगानीलाई सन्तुलित गर्ने प्रयासमा पनि छन् । 

लुम्बिनी ज्वेलर्सका सञ्चालक राजु बराली तरलताकै अभाव कारण ग्राहकले अत्यन्त न्यून मात्रामा मात्रै गहना खरीद गरेको बताउँछन् । ‘मानिसले बिबाहब्रतबन्धमा सुन किन्छु भन्ने ईच्छा  र धोको त हुन्छ नै, तर के गर्नु अहिले नत बैंकमा पैसा छ नत सर्वसाधारणसँग’, उनले भने । सुनचाँदीको मूल्य वृद्धि तरलताकै अभाव कारण ग्राहकको संख्या र विक्रीको परिमाण अत्यन्त न्यून हुँदै गएको बरालीको भनाइ छ ।

सुन व्यवसायीहरुका अनुसार तरलताको कारण घरजग्गा,पर्यटन, उद्योग तथा अन्य साना व्यवसायीहरुमा असर परेका बेला यसको असर सुनचाँदी व्यवसायमा पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्दछ ।

केन्द्रीय बैंकको नीति खुकुलो नहुँदा र सरकारले पूँजीगत खर्च गर्न नसक्दा यसको असर बैंकिङ्ग तरलतामा परेको बताउँछन्, लगानी र वित्तीइ व्यवस्थापनमा  बिद्यावारिधी गरिरहेका कपिलदेव सुवेदी । ‘एउटै मात्र फ्याक्टरले तरलता अभाव हुँदैन’, उनले भने, पूँजीगत खर्च कम हुनु, पर्यटन क्षेत्र धराशायी हुनु, घरजग्गा कारोबार कम हुनु, अनुत्पादक क्षेत्रमा लगानी हुनु जस्ता थुप्रै कारण हुन्छन् ।’ 

विशेषगरी सुनचाँदी विलासी वस्तु र लगानी तथा सम्पती जोड्ने स्रोत भएपनि मानिसको पहिलो प्राथमिकतामा नपर्ने हुनाले पनि यो क्षेत्रलाई असर पर्ने उनले बताए । ‘यसको समाधानको लागि विलासी बस्तु र अनुत्पादक क्षेत्रमा लगानी रोक्नु, हुण्डीजस्ता कारोबारलाई निरुत्साहित बनाउनु र उत्पादन क्षेत्रमा लगानी गर्न प्रेरित गर्नु नै हो’, उनले भने । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Raj Kumar Phuyal

[Feb 24, 2022 03:07pm]

Bikri Udaro ma na ta Sunchandi Pasal lye paucha na ta Sunchandi Pasal bata Retail Customer lye pauchan. Hawa news lekhnye.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)