ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थारु होमस्टेमा ओइरिँदै पर्यटक

२०७८ फागुन, १८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरोना महामारी सुस्ताउँदै जाँदा चितवनमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पटिहानी र मेघौलीमा अहिले आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन ।

थारु समुदायको मौलिक संस्कृति र परम्परामा रमाउन पर्यटक थारु होमस्टेमा पुग्ने गरेका छन् । ठूला होटल तथा रिसोर्टको तुलनामा पछिल्लो समय होमस्टेमा आकर्षण बढ्दै गएको स्वयं व्यवसायी बताउँछन् । माडीको शिवद्वार होमस्टेसँगै भरतपुर महानगर–२७ मा रहेको थारु होमस्टेमा बाक्लो संख्याका पर्यटक देखिन थालेका छन् । होमस्टेमा अर्गानिक, मौलिक परिकार, सस्तो बसाइ र शान्त वातावरणका कारण पर्यटक आकर्षित भएका हुन् ।

मेघौलीमा ०६७ सालदेखि थारु समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे छोटो समयमै पर्यटक रोजाइमा परेको हो । थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा विदेशी पर्यटक पनि सामुदायिक थारु होमस्टेतर्फ तानिएका हुन् ।

भरतपुर महानगर–२७ का जीवन चौधरी कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन बढ्न थालेको बताउँछन् । ‘अहिले होमस्टे आउने पर्यटक बढिरहेका छन्  । हाम्रो खाना, परिकार, रहनसहन पर्यटकले मन पराउन थालेका छन् । अघिल्ला समय सुविधासम्पन्न होटलमा पर्यटक बस्न मन पराउँथे’, उनले भने, ‘अहिले मौलिक परम्परा र संस्कृतिमा रमाउन थालेका छन् ।’

होमस्टेमा विभिन्न स्वादसहितका अर्गानिक खाना, थारु नाच हेर्न पाइने भएकाले पर्यटक रोजाइमा परेको उनको बुझाइ छ । होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्छन् ।

संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई आत्मीय प्रकट गर्दछ । स्वागतपछि होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोंगी, माछा, निगुरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले रौनक थप्ने गरेको छ । होमस्टेमा नेपाली पर्यटकले सादा खाना १ सय ५०, मासुसहितको खाना ३ सय, दिउँसो नास्ताको १ सय र एक रात बसेको ५ सय रुपैयाँ मूल्य राखिएको छ ।

थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्र्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा देखाइने चिचर, घोंगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी, झमटा, झुमरा, डम्फु नाच आदि मौलिक नृत्य देखाइने सामुदायिक होमस्टेका सञ्चालक बुद्धिराम महतोले जानकारी दिए ।

न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण पर्यटकले  होमस्टे रोज्न थालेको महतो बताउँछन् । भरतपुरबाट दैनिक सयौंको संख्यामा गोलाघाट घुम्न आउने गर्छन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगम स्थल गोलाघाट भएकाले पनि पर्यटकका लागि नौलो अनुभव हुने गर्छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा पर्यटकको चहलपहल बढी हुने मेघौली पर्यटन विकास समिति अध्यक्ष हरिचन्द्र महतो बताउँछन् । ‘शान्त तथा प्राकृतिक वातावरणसँग पर्यटकले नदी, जंगल, जनावर, सूर्यास्त, होमस्टे, थारु संस्कृतिका सबै अनुभव गर्न पाउँछन् । त्यसैले अन्य गन्तव्यभन्दा मेघौली फरक छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)