ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृपया राजनीति जारी राख्नोस्

२०७८ फागुन, २०  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

हे हाकिम ! हे महामहिम !! हे माननीय, ताननीय, हाननीय र सम्माननीयज्यूहरू !!!

हामी अभागी जनताको तर्फबाट कोटीकोटी प्रणाम !

तपाईंहरूको असीम कृपाले देश एक भए पनि, जनताहरूमा भावनात्मक एकता भए पनि, व्यवहार भने सबै क्षेत्रमा छिन्नभिन्न भएको छ । यसो भएपछि सानो देश पनि ठूलो देखिन्छ । यो साह्रै राम्रो कुरा हो । जनताको हितका लागि हरेक राजनीतिक दलले आआफ्नै ढंगको लोकतान्त्रिक अभ्यास गरिरहनुभएकै छ । अब त हरेक प्रदेशले पनि सोही अनुसार आआफ्नै ढंगका भ्यूटावरे नीति, नियम र गाइडलाइन निकालिरहेका छन् र सोही अनुसार व्यवहार पनि गरिरहेकै छन् । यो अझ राम्रो कुरा हो ।

तपाईंहरूको क्षमता अद्भूत छ, संकट निम्त्याउनु हुन्छ अनि संकटमोचनको नीति पनि आफै निकाल्नुहुन्छ । यसो नगरे त राजनीतिक बाजी कसरी चम्किन्छ र ? अब त्यही एमसीसीको झगडा बोकेर चुनावको तयारीमा छिटो जुटिहाल्नु बेश होला ।

अस्ति भर्खर एमसीसीको दोहोरी प्रतियोगिता पनि सकियो । दोहोरीका घम्साघम्सीका डोबहरू मात्र सडकतिर बाँकी छन् । केही नेपाली युवाका र प्रहरीका टाउकामा पनि एमसीसीका घाउहरू अझै दुःखिरहकै होलान् । आधारभूत असंख्य आवश्यकताहरूका अखण्ड पीडाहरू झेलिरहेका हामी नेपालीलाई जाबो टाउकाको घाउ के हो र ? यो त केही दिनमा निको भइहाल्छ । यसमा हाम्रो केही गुनासो छैन । किनकि तपाईंहरूका सुखका खातिर हामी अझै आआफै लड्न, मर्न तयार छौं । तपाईंका सुखमै हामी हाम्रो सुख देख्छौं । बरु एमसीसीजस्तै अरू कुनै नयाँ बखेडा शुरू गर्नुस् । किनकि बखेडा, वादविवाद प्रत्येक राजनीतिक दलका लागि ठूलै अवसर हुन् ।

खासमा तपाईंहरूको क्षमता अद्भूत छ, संकट निम्त्याउनु हुन्छ अनि संकटमोचनको नीति पनि आफै निकाल्नुहुन्छ । यसो नगरे त राजनीतिक बाजी कसरी चम्किन्छ र ? अब त्यही एमसीसीको झगडा बोकेर चुनावको तयारीमा छिटो जुटिहाल्नु बेश होला । बरु चुनावको नारा पो के ल्याउने ? नयाँ नयाँ नारा र फन्डा नल्याए चुनावमा जनताले भोटै हाल्दैनन् । काम होइन दाम र नारा चाहिन्छ । अनि नारा चाहिँ यस्तो चाहिन्छ कि जनता तत्कालका समस्या बिर्सेर भविष्यको तानाबानामा आशावादी बनून् । त्यसैले जे गर्नुस्, तर कुनै न कुनै अप्ठ्यारो स्थिति भने सृजना गरिरहनुहोस् । समस्या आफै ल्याएपछि समाधान पनि आफै दिन सकिन्छ । राजनीतिको यस्तो अचूक अस्त्र विश्वका कुनै दिग्गजले प्रयोग गर्न सकेका छन् र ?

राजनीति गर्ने भनेकै अप्ठ्यारो समयमा हो । अप्ठ्यारो भएन भने आफैले अप्ठ्यारो सृजना गरेरै भए पनि राजनीति गर्नुपर्छ । कसले खान पायो वा पाएन, कसले पिउने पानी पायो वा पाएन, कसले भ्याक्सिन लगायो, कसले लगाएन भन्नेजस्ता कुरा सत्तापक्षले प्रतिपक्षलाई, प्रतिपक्षले सत्तापक्षलाई देखाएर आफू उम्किने हो । ‘विकासको काम त उसले रोकेको हो, मैले त विकासै विकास गर्‍या हो’ भनेर पत्रकार सम्मेलनमा आफ्नो झण्डा फहराउने मात्र हो ।

त्यसो त तपाईं राजनीतिकर्मीको कथनी र करनीमा आकाश जमिनको फरक हुन्छ भनेर सबैलाई थाहै हुन्छ नि । त्यसैले तपाईंले आआफ्नो डम्फु बजाउने हो, आआफ्नो राग अलाप्ने हो । आफ्नै ढंगको स्वार्थको आँगन भए मात्र तपाईं नाच्ने हो । एमसीसीमा तपाईंहरूले कति मज्जाले नाच्नुभयो । आफू मात्रै नाच्नु भएन, हँसिया, ढुंगामुढासहित जनतालाई पनि नचाउनु भयो । तपाईं आफैले एकअर्कोको भैंसीको अगाडि बाँसुरी बजाउनु हुन्छ । अनि लौरो लिएर तपाईं आफ्नो भैंसीलाई घर ल्याउनुहुन्छ । यदि तपाईंले देशमा चारैतिर यस्तो अस्तव्यस्त भएको बेला राजनीति नगरे कैले गर्नुहुन्छ त ?

केही समयअघि कोरोनालाई एउटा शानदार राजनीतिक मञ्च बनाउनुभयो, आज एमसीसी । भ्रष्टाचार, गरीबी, विकास निर्माणको वास्तविक कुरा नबताउनुस्, हावाको महल बनाउनुस् । जनता त्यस्तै हावाका पछि लागिहाल्छन् । अनि बेरोजगारहरूको भीड जम्मा गर्नुस् । अनि त्यसपछि आफ्नो राजनीतिक बयानबाजी शुरू गर्दिनुस् । तपाईंलाई थाहा छ कि गरीबी, बेरोजगारी घटाउन उद्योगहरू खुल्नुपर्छ, उनीहरूलाई चल्न, फल्न र फुल्न दिनुपर्छ । यस्तो उद्योग खुले तपाईंको रोजगारी घट्छ । युवा रोजगार भए ढुंगा हान्ने कार्यकर्ता कहाँबाट ल्याउने ? त्यसैले मुखले विकासको खोलो बगाउनुस्, सके कूटनीति नसके फुटनीति लगाउनुस् । तपाईंलाई यो पनि थाहा छ उद्योग खोल्न ठूलै लगानी र लगन चाहिन्छ । त्यसैले बरु चन्दा संकलनतिर लाग्नुस्, उद्योग खोल्नेलाई सकेसम्म खाँद्नुस् । त्यसैले यी सबै कुरालाई विचार गरेर तपाईं पूर्णरूपमा राजनीतिमै डुब्नुहोस् । अझ राजनीति नै पूरै तपाईंमा डुबोस् ।

आफ्ना मर्जीले एकाएक राष्ट्रिय दिवस घोषणा गर्दिनुस् । मनमा आउनासाथ एकाएक सार्वजनिक बिदाको उर्दी जारी गर्दिनुस् । कतिपय निर्णय आफूले गर्न नमिले आफ्ना सेनामेनालाई सिंहदरबार घेर्न लगाउनुस् । कफ्र्यु लगाउनुस् वा नेपाल बन्दको आह्वान गर्न लगाउनुस् । तपाईंलाई थाहा छँदै छ यहाँ प्रहरी, निर्वाचन आयोग, अख्तियारजस्ता सरकारी निकायहरू यी सबै तपाईंकै इशारामा चल्ने न हुन् । नीति, नियम, कानून यी सबै केवल सामान्यजनका लागि मात्र बनाइएका हुन् । तपाईं त राजनीतिकर्मी हो, ऐनकानून त के संविधानले पनि छुँदैन ।

तपाईंको त धर्म, ध्यान र ध्येय नै केवल कुर्सी हात पार्नु हो । यी सबै कुरालाई ध्यानमा राख्दै तपाईं पूर्णरूपमा राजनीतिमा समर्पित रहनुहोस् । लक्ष्य केवल यही रहोस् कि कुनै हालतमा पनि आफ्नो भोटको झोली भरिइरहोस् ।

तपाईं आफ्ना सुविधा अनुसार अर्थतन्त्र र विकासका सूचकहरू तयार पार्नुस् र आफ्नो फाइदा हेरेर सहीलाई गलत र गलतलाई सही रिपोर्ट बनाउनुस् । कृपया हामी जस्ता जनतालाई हेरेर काम गर्ने नै हैन । हामीलाई त हाम्रै हालतमा छाडिदिनुस् । आखिर हामीले तपाईंलाई दिएका नै के छौं र ? केवल एउटा भोट न हो । जाबो एउटा भोटको सट्टामा तपाईंले हाम्रा लागि टाउको दुखाइरहने कामै छैन । पाँच वर्षमा यसो मुख देखाइटोपल्नुस् । त्यत्तिभए हामी त्यसै दंग पर्नेछौं । जसरी मौरीले हजारौं लाखौं फूलहरूबाट रस संग्रह गरेर मह बनाउँछ, त्यसरी नै तपाईंले हाम्रा विभिन्न समस्याहरूको रस जम्मा गरी गरी आफ्ना लागि एउटा दिव्य कुर्सी खडा गर्नुभएकै छ । तपाईंको अपरिमित आनन्द, अपार शान्ति, असीम सुख र अद्भूत रसरंगहरूका लागि तपाईंलाई राजनीति एकदमै जरुरी हुन्छ ।

त्यसैले तपाईंबाट यही आशा र विश्वास छ कि जब जब देशमा कुनै आपत्विपद् आइलाग्छ, तब तपाईं तुरुन्त आफ्नो राजनीति अझ बलियो गर्नतिर लागिहाल्नोस् । यसरी तपाईं निरन्तर राजनीति गरिरहनुस् । बसी बसी ट्विट्निुस् । खाँदै खाँदै फेसबुकाउनुस् । पिउँदै पिउँदै भाइबराउनुस् । हाई काट्दै ह्वाट्स्एपाउनुहोस् । हामी त यसै अभागी, उसै अभागी । बिन्ती छ, हामीलाई हाम्रो जस्तो अवस्था छ, त्यस्तै अवस्थामा यसै मर्नलाई छाडिदिनुस् !

उही तपाईंको दुखियारी जनता !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)