फागुन २५, काठमाडौं । मार्च ८ अर्थात् अन्तरराष्ट्रिय नारी दिवस । यस दिन संसारभरि नारी स्वतन्त्रता, लैंगिक समानता र नारी हक अधिकारका आवाज घन्किन्छन् । नेपालमा पनि मंगलवार नारी दिवस मनाइयो ।
तर, टौदहकी शान्ति परियारलाई भने नारी दिवसबारे थाहै भएन । अरू दिनझैं उनी बिहान उठेर भातभान्सा सकेर काखे बालक ढाडमा हालेर काममा निस्किइन् । इँटा बोक्न गइन् । यो कामबाट उनको मासिक आम्दानी औसत १२/१५ हजार रुपैयाँसम्म हुन्छ ।
यो कमाइ कोठाभाडा, महीनाभरको रासन र एउटा छोराको पढाइ खर्च, अनि काखे बालकका लागि सकिने गर्छ । ‘सम्पत्तिका नाममा दुःख गरेर खाने दुई हात मात्रै छ,’ उनी भन्छिन् । कहिलेकाहीँ बचेको हजार/पन्ध्र सय रुपैयाँ नजिकैको सहकारीमा राख्ने उनको भनाइ छ ।
कीर्तिपुर नः गाउँकी ४२ वर्षीय सानुमाया महर्जन पेशाले गृहणी हुन् । कनिकुथी अक्षरसम्म चिन्ने महर्जनको दैनिक घरभान्सा अनि खेतबारीमा बित्छ ।
बिहान ५ बजे उठेदेखि राति ११ बजेसम्म पनि टुसुक्क बस्ने फुर्सद पाउँदिनन् उनी । उनको जागीर छैन ।
श्रीमान्ले ८ घण्टा काम गरेर जागीर पकाएर आउँछन् । तर, उनको काम १८ घण्टामा पनि सकिँदैन । नारी दिवसमा जतिसुकै हक, अधिकारका कुरा भए पनि आफूलाई केही हात नलागेको उनको भनाइ छ । ‘महिला सुखी र सफल हुन आर्थिक रूपमा सबल हुनैपर्ने रहेछ,’ उनको अनुभव छ ।
उनका श्रीमान् निजी कम्पनीमा लेखापाल छन् । आफ्नै घर भएकाले कोठाभाडा तिर्नु पर्दैन । तर, आफ्ना सारा खर्च जुटाउन श्रीमान्सँगै हात थाप्नुपर्छ उनले । उनी श्रीमान्सँग खर्च माग्दा गाली खानु परेको सुनाउँछिन् । चोभारकी सृजना बर्तौलाको अवस्था पनि उस्तै छ । उजी काठमाडौंको एक निजी विद्यालयमा पढाउँथिन् । परिवार बढाउने योजनापछि छोरा हेर्नकै लागि मासिक २२ हजार रुपैयाँको जागीर छाडेर बस्नुपरेको उनको भनाइ छ । ‘ट्युशनसमेत गरेर महीनाको झन्डै ३०/३२ हजार रुपैयाँ कमाउँथेँ,’ उनी भन्छिन्, ‘तर, बच्चा जन्मिएपछि घरमा काखे बच्चा हेर्ने कोही भएन अनि जागीर छाडेँ ।’
काखको बच्चा १४ महीना पुगेको छ । तर, बेलाबेला बिरामी भइरहने भएकाले छोराको स्याहार गर्नु कि आफ्नो करियरलाई निरन्तरता दिने भन्ने संकटमा परेको उनले गुनासो गरिन् ।
श्रीमान्सरह खटिन्छिन्, भैंसेपाटीकी सावित्री पौडेल । श्रीमान् सरकारी जागीरे छन् । पौडेल चाहिँ ब्यूटी पार्लर चलाउँछिन् । सासूससुरासँग बस्ने पौडेललाई घरको काम अनि आफ्नो पार्लरको काम भ्याउन सधैं सकस गर्नुपर्छ । बिहान ६ बजे उठेदेखि श्रीमान् र छोराहरूलाई समयमै खाना खुवाएर पठाउन भ्याइनभ्याई हुन्छ उनलाई ।
सबै जना आआफ्नो काममा खटिएपछि १० बजे बल्ल पार्लर खोल्ने समय पाउँछिन् । पार्लरमा मान्छे नआउँदा फुर्सदको समयमा घरमा आएर सर सफाई र लुगा धुनेलगायत काम गर्छिन् । अनि सासूससुरालाई दिउँसोका खाजा खुवाएर फेरि पार्लर जान्छिन् । बेलुका ६ बजे पार्लरबाट आएपछि पनि खाना बनाउने अनि छोराहरूको गृहकार्य हेर्ने कामको चटारो हुन्छ । राति १० बजेसम्म घरको कामबाट उनले फुर्सद पाउँदिनन् ।
पार्लरबाट आएको सबै पैसा घरमै खर्च हुन्छ । आफ्ना लागि भनेर १० प्रतिशत पनि राख्न पाउँदिनन् । अधिकांश पैसा श्रीमान्लाई घर खर्चका लागि दिन्छिन् । जीविकोपार्जनका लागि श्रीमान्सरह खटेर काम गर्ने भए पनि घरको काममा श्रीमान्बाट खासै सहयोग नपाएको उनको गुनासो छ । नारीहरूको अवस्थाबारे यी केही प्रतिनिधि घटना हुन् । अन्तरराष्ट्रिय नारी दिवसमा लैंगिक समानता, नारी स्वतन्त्रता र समताका विषयमा आवाज उठाइन्छ । तर, आधा आकाश ढाक्ने महिलाहरूमाथिको विभेद उस्तै छ । आफ्नो कमाइ नभएका अनि श्रीमान् वा छोराछोरी माथि आश्रित महिलाहरूको अवस्था दयनीय छ ।
कमाइरहेकामध्ये पनि आफ्नो भविष्यका लागि भनेर बचाउनेको संख्या एकदमै कम छ । छोराछोरीका लागि जागीर नै बिट मारेर बस्नु परिरहेको छ । कामकाजी महिलाहरूको कामलाई निरन्तरता दिन सक्ने सुत्केरी बिदा बढाउने वा कार्यास्थलमै साना बालबालिका हेर्न सक्ने व्यवस्था मिलाउने खालको नीति ल्याउनेबारे सरकार र निजीक्षेत्र दुवै उदासीन देखिन्छन् । कमाउनेहरूको पनि आर्थिक हैसियत सोचेजस्तो सबल छैन । अभियान दैनिकको प्रिन्ट संस्करणबाट