ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झूट, सफेद झूट र तथ्यांकगर्दी

२०७८ चैत, ४  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

भारतमा उहिले एक नामुद तथ्यांकशास्त्री थिए रे । कसैले तथ्यांकको विश्लेषण गरी दिनुपर्‍यो भने सोध्ने गर्थे रे ‘कैसा एनालिसिस चाहिए, रुलिङ वाला कि आपोजिसन वाला’ भनेर । उनले तथ्यांकलाई नबिगारीकन निष्कर्ष भने पूरै उल्टासुल्टा बनाइदिने ३२ ओटा ट्रिक पत्ता लगाएका थिए रे । हाम्रा सरकारी तथ्यांक र विपक्षका तथ्यांक हेर्दा त हाम्रो देशमा ६४ ट्रिक जान्ने तथ्यांकशास्त्री पो छन् कि जस्तो लाग्न थाल्या छ ।

देशमा ९० प्रतिशत जनतामा बिजुली पुगिसक्यो भन्छ सरकार । त्यसैले बढी उत्पादन भएमा अब बिजुली खेर जान्छ भन्छन् । तर यता बिजुली पाइएन भनेर रुनेहरू धेरै छन् । अनि कुन चैं कुरा पत्याउने ? कसको चैं कुरा सही भनेर बुझ्ने ?

सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्‍यो र आर्थिक परिसूचकहरू सकारात्मक नै रहेको बतायो । तर जब जब मेरा नजर अखवारका पानाहरूमा पर्छन्, तब जताततै घाटैघाटाका समाचारहरू मात्र देख्छु । बजेट घाटा, शोधनान्तर घाटा, व्यापार घाटा आदि । अनि उद्योग कलकारखाना टाटा, विदेशी लगानी टाटा, युवा प्रतिभा टाटा । अनि हिसाब नजानेर म चाहिँ वाल्ल ! अनि यो सरकारले प्रस्तुत गर्ने हरेक तथ्यांकमा जीडीपी भनेको कुल गार्हस्थ्य उत्पादन नभई ‘जबरजस्र्ती डेटा पस्किएको’ भन्ने अर्थ निकाल्छु । किनकि यहाँ हरेक क्षेत्रमा देश घाटैघाटामा मात्र गएको देखिन्छ । यसले गर्दा सरकारले प्रस्तुत गर्ने तथ्यांक र प्राविधिक शब्दहरूको अर्थ नै उल्टोपाल्टो पो देख्छु म त ! डेटा उही, फेटा उही अनि व्याख्या चाहिँ ठ्याक्कै उल्टो किन र कसरी होला ?

सरकारी तथ्यांकले प्रस्तुत गर्ने विभिन्न घाटाहरूले आफ्नो जिन्दगीका घाटाहरूतर्फ इंगित गरिरहेको जस्तो पनि लाग्छ । यता विभिन्न करहरूका दरहरू सम्झन्छु, आफ्नो पारिवारिक बजेट सम्झन्छु, बैंकलाई तिर्नुपर्ने विविध ईएमआई सम्झन्छु, अनि यी समाचारहरू मलाई नै ‘टर्चर’ गर्न लेखिएका हुन् कि भन्ने लाग्छ । तर जिन्दगीलाई अघि पनि बढाउनु नै छ । अनि आर्थिक पखाला लागे पनि सन्तुलन मिलाउँदै जिन्दगीको शंख फुक्दै हिँडि नै रहेको छु ।

फेरि कहिलेकाहीँ लाग्छ, यो बजेटीय संसार खुब बुद्धिमान् छ, चंख, चलाख छ, जो आफ्नो बजेट राम्रैसँग व्यवस्थापन गरिरहेकै छ । केवल म मात्र एक पटमूर्ख छु यो दुनियाँमा, जोसँग न बजेट व्यवस्थापनबारे केही ढंग छ, न त बजेट वा नाफासँग सम्बन्धित प्राविधिक शब्दहरूबारे नै केही ज्ञान छ । जस्तै, सरकार आयकर आयकर भन्छ । आयकरलाई सरकारले आफैले कमाएको आफ्नै आम्दानी ठान्छ । जनता भने आयकर भनेको सरकारी हाकिमहरू आए अनि केही दिनुको साटो बरु सित्तैमा जनताको रोकडा चैं लिएर गए भन्ने बुझ्छन् ।

आय भनेसि आउनुपर्ने हो, तर यहाँ त आफ्नो खल्तीबाट जान्छ । त्यस्तै अर्को शब्द छ, अन्तःशुल्क । यो नामले अन्तै अरूलाई लाग्नुपर्ने कर हो कि भन्ने देखिन्छ, तर उत्पादनहरू उत्पादन गर्नेलाई पो लाग्दो रहेछ र उनीहरूले पनि हामी उपभोक्ताबाट असुली गर्दा रहेछन् । मलाई सबैभन्दा अचम्म यो लाग्छ कि तथ्यांकहरूको जंगलमा सूचकांकहरू किन यति धेरै उछलकुद गर्छन् वा किन यति धेरै माथि उक्लने र तल झर्ने गरिरहन्छन् ? शेयर बजारको समाचार हेर्छु । बजार यतिले बढ्यो र उतिले बढ्यो भन्छन् । तर शेयर विज्ञहरू नेप्सेको सिस्टम नै गलत छ भन्छन् । अब कसको कुरा पत्याउने ? शेयर बजारमा किन एकैचोटि स्वाट्टै रातो र केही दिनमै फेरि हरियो रंग परिवर्तन भइरहन्छ ? यो कुरा मैले अहिलेसम्म बुझ्न सकेको छैन । कहिले बुलिश कहिले बियर मार्केट रे । आफू त फुलिस मार्केट मात्रै देख्छु । अझ आफूलाई त मदिरावाला बियर मार्केट मात्र थाहा छ, जो नेपालमा सधैं गुल्जार छ ।

यो सरकार आउनेबित्तिकै देशमा ७/८ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भन्थ्यो । तर न लगानी बढ्यो, न त उत्पादन गर्ने प्रविधिमा केही परिवर्तन । अनि वृद्धि चाहिँ कसरी हुने रछ ? तर बजेटको अर्धवार्षिक समीक्षामा पनि आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन्छ भनेर ठोकुवा भयो । होइन, कुन जादू हो यो ? तथ्यांकमा जादू गरेर हो कि काममै जादू गरेर होला ? कि सरकारवालाहरूको मात्र आर्थिक वृद्धिदर दोहोरो तेहोरो अंकमा बढेको कुरा गरेको हो कि ?

अर्को उदाहरण हेरौं है । देशमा ९० प्रतिशत जनतामा बिजुली पुगिसक्यो भन्छ सरकार । त्यसैले बढी उत्पादन भएमा अब बिजुली खेर जान्छ भन्छन् । तर यता बिजुली पाइएन भनेर रुनेहरू धेरै छन् । अनि कुन चैं कुरा पत्याउने ? कसको चैं कुरा सही भनेर बुझ्ने ? यो तथ्यांक हो कि मिथ्यांक हो ? झूट तीन प्रकारका हुन्छ भन्छन् ‘झूट, सफेद झूठ र तथ्यांक’ । त्यसमध्ये के यो झूट मात्र हो ? कि यो सफेद झूट हो वा तथ्यांक हो ?

जर्ज अर्वेलको प्रसिद्ध उपन्यास एनिमल फार्ममा त्यहाँ सरकारका एक मन्त्रीले हरेक वर्ष विभिन्न परिसूचकहरूमा थुप्रै कुरा राम्रो भयो वा बढ्यो भनेर बखान गर्छन् । जब कि सर्वसाधारण जनावरहरूको अनुभव भने ठ्याक्कै उल्टो । ठीक त्यसैगरी हाम्रो सरकारको बजेटमा पनि लगानी र खर्च बढेकै देखिन्छ । यसो हेर्दा सबै क्षेत्रमा बढेको वा प्रगति भएको पनि देखिन्छ । तर जनतालाई सोध्यो केही बढेको छैन भन्छन् । पोहोर परार भन्दा जनताको जीवन पनि झन् कष्टकर भएर गएको हुन्छ । महँगीले ढाडै सेकिसकेको हुन्छ । तर यो कष्टको कुरा कुनै तथ्यांकमा कतै आउँदैन । तथ्यांकमा त सबै कुरा बढेको मात्रै देखिन्छ । अहिले यहाँ पनि ठीक त्यस्तै स्थिति देखिन्छ । जस्तै, धानको उत्पादन बढ्या बढ्यै छ । यता १० वर्षअघि भन्दा धान आयात पनि बढेकै देखिन्छ । यता जनसंख्या चैं बढ्या देखिन्न । काहाँ गयो त बढी आएको त्यत्रो धान ? त्यस्तै, तथ्यांकमा त सबै कुरा बढेको मात्रै देखिन्छ अनि महँगी बढेको चाहिँ किन नदेखिएको होला ?

मैले यो पनि बुझ्न सकिरहेको छैन कि यी तथ्यांकहरूलाई सरकारले यति धेरै उड्न लगाएर कुन चैं आकाश छुनलाई हो ? फेरि तल झर्दा वा झार्दा कुन चैं खाडलमा कसलाई हाल्नलाई भनेर हो ? यी तथ्यांकशास्त्रीहरू, सरकारी हाकिमहरू टन्न खाएर कुद्छन् कि भोको पेट हँ ? डनगिरी, गुण्डागर्दी त थाहा थियो, तर यो तथ्यांकगर्दी चैं थाहा थिएन र अहिले पनि थाहा पाउन सकिएन ।

त्यसैले अखवारहरू लेखिरहून् । टिभीहरू फुकिरहून् । तर यो सरकारी बजेट, सरकारले प्रयोग गर्ने प्राविधिक शब्दहरू र सूचकांहरू भने कहिल्यै बुझ्न नसक्ने भइयो बा ! सरकारले बेला बेलामा देखाइरहने विभिन्न तथ्यांकहरू के तपाईंले बुझ्नभा छ त ? कि म मात्र ह्याँ पटमूर्ख हो हँ ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Sunity

[Mar 21, 2022 06:13am]

यो राजनीतिक तथ्यान्क हो सर। राजनीतिक तथ्यान्क को आफ्नै पारिभाशा हुन्छ होला जस्मा आकाश पातल जोडेर आफ्नो कुरो जित्नु मात्र हो। सम्पूर्ण तथ्यान्क शास्त्री अथवा अर्थ शास्त्री हरु लाई यो सिमा भित्र राख्न अली न मिल्ला सर ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)