ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भगवान् मलाई उल्लु बनाइदिनोस् !

२०७८ चैत, ११  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

हे भगवान् ! हे लक्ष्मी माता ! अब म उल्लु बन्न चाहन्छु । मलाई आफ्नो शरणमा लिनोस् । मेरो उद्धार गर्नुहोस् । मैले मेरो जीवनको धेरै समय व्यर्थै गुमाएछु । सिद्धान्त र आदर्श भन्दै धेरै भुलियो । मित्रभन्दा शत्रु बढी बनाइयो । बल्ल अहिले बुद्धि फिरेको छ । मैले निश्चय गरेको छु कि म अब आफ्ना सबै सिद्धान्त, मूल्य, मान्यतालाई तिलाञ्जलि दिन चाहन्छु । हे माता ! यदि तपाईंले मलाई आफ्नो वाहन उल्लुको दर्जा दिनुभयो भने म त्यसलाई निष्ठापूर्वक पूर्ण इमानदारीका साथ पालना गर्नेछु । मेरो दुर्दशा तपाईंको दिव्यदृष्टिबाट लुक्नै सक्तैन । कृपा गरेर मेरो भुललाई माफी बक्सियोस् र आफ्नो प्रिय वाहन बनाइस्योस् ।

देवकोटाले आफूलाई भेडा बनाइदिन भनेका थिए । म उल्लु बनाइदिन अनुरोध गर्दै छु । उनी कथित ज्ञानीबाट वाक्कदिक्क थिए, म अचेलका भुइँफुट्टे धनीबाट ।

हे माते ! तपाईं त सर्वज्ञ हुनुहुन्छ । देवकोटाले आफूलाई भेडा बनाइदिन भनेका थिए । म उल्लु बनाइदिन अनुरोध गर्दै छु । उनी कथित ज्ञानीबाट वाक्कदिक्क थिए, म अचेलका भुइँफुट्टे धनीबाट । धेरै मानिसहरू सुख सुविधापूर्ण र सम्पन्न जीवन व्यतीत गरिरहेका छन् । हाम्रो देश नेपालमा लोकतन्त्र नामक एकतन्त्र चलिरहेको छ । यहाँ त यत्र–तत्र–सर्वत्र हजुरको भन्दा बढी नेताहरूको जय–जयकार चलिरहेको छ । हजुरको भन्दा नेताको गजुरका पछाडि ठूलो भीड छ । मिडिया छन् । पैसाको त कुनै हिसाबै छैन ।

तर म भने सिद्धान्तवादी बनेर नेताहरूका, दलहरूका भीडको अंग बन्न सकिनँ । परिणाम यो छ कि भौतिक शरीरलाई जिउँदो राख्नकै लागि दुई छाक जुटाउन भौंतारिइरहेको छु । म कहिले पानीको लाइनमा हुन्छु त कहिले पेट्रोलको । कहिले सवारी लाइसेन्स लिने लाइनमा पुग्छु त कहिले राष्ट्रिय परिचयपत्र बनाउने लाइनमा । कहिले फोहोर फ्याँक्ने लाइनमा हुन्छु त कहिले पासपोर्ट लिने लाइनमा भौंतारिन्छु । लाइनमा बस्दा बस्दै मेरो सिंगो बालापन र जवानी ढल्किसकेको छ । म थकित र गलित छु । तर लाइन बस्न अझै बाध्य छु ।

यो गणतन्त्र नामक डेमोक्रेसीमा जातिवाद, धर्मवाद, दलवाद, गुटवाद एक वटवृक्षसरी पुष्पित र पल्लवित भइरहेका छन् । साथै डनबल, धनबल, बाहुबल जस्ता अस्त्रशस्त्रका प्रयोग दिनप्रतिदिन बढ्दो छ ।

मन्त्री, नेताका पछि लाग्ने भीड देखेर मलाई लाग्छ कि ‘गणतन्त्र इज गभर्मेन्ट अफ द फूल्स, फर द फूल्स एन्ड बाई द फूल्स ।’ त्यसैले म पनि एक शिक्षित फूल बन्न चाहन्छु । हे माता ! अंग्रेजीमा तपाईंको वाहनलाई फूल भन्छन् । नेपालीमा सामान्य बोलचालको भाषामा त्यसलाई उल्लु भन्छन् । मलाई हजुरको वाहन उल्लु बनाउनुस् । त्यसो भएपछि म पनि हजुरको कृपापात्र बन्छु । तब मसँग भौतिक सुविधाको कमी रहने छैन । त्यसपछि मैले अभावग्रस्त जीवन बाँच्नु पर्दैन ।

माते ! मलाई वरदान दिनुहोस् । म उल्लु बनेर धनवान् हुन चाहन्छु । दुईचक्के, चारचक्के एकसे एक लक्जरी गाडीका मालिक बन्नुका साथै भव्य आलिशान बंगलामा बस्न चाहन्छु । विश्वका एकसे एक देश घुमेर आफ्ना देशवासीलाई गफ दिन चाहन्छु । जब म नेताहरूलाई हेर्छु, कतिपय व्यवसायीलाई देख्छु, उनीहरूमा माता सरस्वतीको कृपा शून्य छ । तर उनीहरूले हजुरको कृपा भने राम्रैसँग प्राप्त गरेका छन् । त्यो देख्दा मलाई औधि औडाहा हुन्छ ।

हिजोमात्र एकजना नेताका पिछलग्गुलाई पशुपति आर्यघाटमा देखेको थिएँ । उक्त युवक आफ्ना साथीहरूलाई आफ्नो नयाँ ठूलो टेस्ला चलाएर त्यहाँ पुगेको थियो । ऊ त्यहाँ पुगेर मृतकको आत्माले कति शान्ति पायो थाहा छैन । तर यी युवक र यिनका साथीहरूका गतिविधिले घाटमा अशान्तिको माहोल भने बनेको थियो । किनकि मानिसहरूको ध्यान चितामा जलिरहेको शवमा भन्दा उनीहरूप्रति बढी थियो । यसको मूल कारण नै लक्ष्मीमाताको ती युवकप्रतिको कृपादृष्टि थियो, जुन कुरा उनको गाडी, लवाइ, खवाइ, फूर्तिफार्तीबाट स्पष्ट झल्कन्थ्यो । हुन पनि यहाँ जसको महँगो सवारीसाधन र ठूलो भवन, उसको त्यति नै ठूलो सामाजिक प्रतिष्ठा ।

मन्त्री, नेताका पछि लाग्ने भीड देखेर मलाई लाग्छ कि ‘गणतन्त्र इज गभर्मेन्ट अफ द फूल्स, फर द फूल्स एन्ड बाई द फूल्स ।’

हे माता ! मेरा छिमेकी, समाजका मेरा वरपरका सबैले हजुरको आराधना गरिरहे । तर म एक अज्ञानी बनेर बसिरहेँ । माता मलाई क्षमा बक्सियोस् । मेरो दुःख दरिद्रता हरण गरिदिनोस् । मलाई उल्लु बनाइदिनोस् । म हजुरको वाहन बनेर सबै कुरा ठीक त्यसैगरी गर्नेछु, जस्तो समयको माग छ । म वाचा गर्छु कि उल्लु बनेपछि म यस्तो उस्तो कुनै कार्य गर्नेछैन, जसलाई लिएर हजुरको महिमामाथि कसैले औंला ठड्याउने हिम्मत गरोस् ।

माता ! अहिलेसम्म सरस्वती माताले जुन वरदान दिनुभएको थियो, त्यसको परिणाम समाजमा र स्वयं आफ्नै परिवारमा समेत म गोबर गणेशको उपनामले अपहेलित भइरहेको छु । तर हे लक्ष्मी माता, म यो सोचिरहेको छु कि जब हजुरको कृपा ममाथि पर्नेछ, तब म यो सावित गर्नेछु कि म पनि केही कामलाग्ने मान्छे हुँ । त्यसैले, हे माते ! मलाई उल्लु बन्ने वरदान दिनैपर्‍यो । हजुर दयालु हुनुहुन्छ, म अज्ञानीमाथि कृपालु बनेर मलाई छिट्टै उल्लु बनाइदिनुपर्‍यो ।

यदि म उल्लु बनेँ भने मसँग पनि धनबल आइहाल्छ । धनबल आउनासाथ बाहुबल त स्वतः आइहाल्छ । अनि त म पनि धनबली र बाहुबली कहलिनेछु ।

अनि मिडिया व्यवस्थापन गर्नेछु । अनलाइन चलाउनेछु । सेल्फी लिने समूह तयार गर्नेछु । सामाजिक सञ्जालमा सक्रिय देखिन अपलोडर राख्नेछु । त्यसपछि लठैत र बन्दुकधारीको समूह पनि बनाउनेछु । ढुंगागिटी उत्खननदेखि कुनै नयाँ क्षेत्रको लाइसेन्स दिनेलगायत जहाँ जहाँ आर्थिक गतिविधि भइरहन्छन्, त्यहाँ मेरो सहभागिता हुनेछ । त्यहाँबाट यी विभिन्न समूह मलाई मालामाल गराउन सक्रिय रहिरहनेछन् । राजदूत लगायत कुनै पनि सरकारी निकायमा नियुक्ति, सरुवा, बढुवा आदिबाट पनि आम्दानी बाँध्ने काम गरौंला ।

धन जम्मा गर्न नेताहरूले गफ त बेचिरहेकै हुन् । हामी पनि जे जे बेच्न सकिन्छ, बेचौंला । नदीनाला खोला बेचौंला, ढुंगागिटी बेचौंला, सरकारी जग्गा जमिन बेचौंला । सकेसम्म आकाश पनि बेचौंला । पर्‍यो भने कानून बनाउनुपर्ने विधायक अर्थात् सांसदलाई संसद् समेत अवरोध गर्न लगाउँला । बेलाबेलामा सांसद त बेचिरहेकै हो, उस्तै परे संसदै बेचौंला । इमान जमान त कुन ठूलो कुरो भो र ? धर्मै पनि बेचौंला । मौका मिले देशै बेचौंला । त्यसैले, हे माता लक्ष्मी ! मलाई आफ्नो वाहन अर्थात् उल्लु बन्ने सौभाग्य प्रदान गर्नुहोस्, ता कि म पनि जीवनको बचेखुचेको समय अनुकूल ऐश–आरामसँग बाँच्न सकूँ । माता ! म अभावग्रस्त छु, शारीरिक र मानसिक रूपमा अस्वस्थ छु । कृपया मलाई उल्लु बनाएर छिट्टै धनवान् बनाइदिनोस् । म अब गुमनाम मृत्यु मर्न चाहन्न !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)