महिलाले जहिले पनि भेदभावको सामना गर्दै आएका छन् । घरदेखि लिएर काम गर्ने कार्यालयमा समेत उनीहरु उत्पीडनको शिकार हुने गरेका छन् । उत्पीडनको प्रकृति भने फरक रहने गरेको छ । पुरूषको तुलनामा महिलाको तलब तथा अन्य सुविधा पनि कम हुने गरेको त हामी सबैले सुन्दै आएका छौं । तर, महिलाको दक्षतामाथि पनि सजिलै भरोशा नगरिने नयाँ तथ्य फेला परेको छ । महिलाले आफ्नो व्यावसायिक जीवनमा भोग्दै आएका समस्यामध्ये आम्दानी अन्तरको मुद्दा त सधैंजसो हुँदै आएको छ । तर, उनीहरुको काम गर्ने कौशलबारे पनि प्रश्न उठ्ने गरेको विज्ञहरुको भनाइ छ । शुरूआती प्रवेशमा अधिकांश कार्यालयले महिलालाई काममा राख्न र उनीहरुलाई उचित तालीमको व्यवस्था गर्न बढी ध्यान दिने गरेका छन् । यद्यपि, व्यावसायिक जिन्दगीको व्यवस्थापकीय स्तरको मध्यतिर भने महिलाले अधिक सङ्घर्ष गर्नुपरेको विज्ञहरुको दाबी छ ।
‘आफ्नो क्षमताको कमजोर मूल्याङ्कन र ज्यालाअन्तर महिलाले व्यावसायिक जिन्दगीमा भोग्नु परेका प्रमुख समस्या रहेका छन्,’ भारतीय दूरसञ्चारीय कम्पनी टाटा कम्युनिकेशन मानव संसाधनका विश्व प्रमुख आदेश गोयलले भने । ‘एक अध्ययनअनुसार अमेरिकामा अहिले पनि महिला कर्मचारीले पुरूषको तुलनामा २३ प्रतिशत कम तलब पाउने गरेका छन्,’ उनले अगाडि थपे । यसैकारण माथिल्लो पदमा रहेका पुरूषको बढुवा छिटो हुने गरेको छ भने महिला सधैं पछाडि नै पर्ने गरेको गोयलको भनाइ छ । त्यस्तै, व्यवस्थापकीयको मध्यम स्तरमा पुग्दा महिलाले घरेलु प्रतिबद्धताको बढी सामना गर्नुपर्ने हुन्छ, जसकारण यस्तो स्तरमा पुगेका अधिकांश महिला जागीर नै छोडेर बस्ने गरेको पनि पाइएको छ । यसकारण उनीहरुको व्यावसायिक भूमिकासमेत छोट्टिँदै जाने गरेको विज्ञहरुको दाबी छ ।
कुनै पनि सङ्गठनमा लैङ्गिक समता भएमा त्यसले मानव क्षमता विस्तार गर्न र व्यवसायमा पनि राम्रो परिणाम हासिल गर्न सहयोग हुने विश्वव्यापी कर्मचारी समाधान प्रदायक संस्था म्यानपावरले तयार पारेको महिला नेतृत्व प्राप्तिसम्बन्धी एक कार्यपत्रको निष्कर्ष छ ।‘ अहिलेको युगमा नेतृत्वको भूमिकामा महिलाको पहुँच बढ्नु उचित सङ्केत रहेको छ,’ म्यानपावरका कार्यकारी उपाध्यक्ष मारा स्वानले बताएकी छन् । महिला हरेक प्रकारबाट नेतृत्वदायी भूमिकामा लायक रहेको उनको कथन छ । कम्पनी प्रमुखहरुले महिलाको नेतृत्वदायी भूमिकाको पहिचान गरेर आफ्नो सङ्गठनमा पुरूषलाई बढी प्राथमिकता दिने प्रणालीको हेरफेर गर्नुपर्नेमा स्वानले जोड दिएकी छन् । यद्यपि, पछिल्लो समयमा व्यावसायिक महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ । यसैको परिणामस्वरुप विश्वका ठूला औद्योगिक क्षेत्रहरुमा महिलाको पहुँच बढेको विज्ञहरुले बताएका छन् । सहयोगी प्रविधि र लचिलोपन वृद्धिसँगै कम्पनीहरु घरबाट पनि काम गर्न पाउने व्यवस्थाप्रति बढी खुला भएका छन् । त्यस्तै, उनीहरुको कामकाजी महिलाप्रति दृष्टिकोण र उनीहरुमाथि अपनाइने नीतिप्रति पनि बढी लचिलो हुँदै गएको पाइएको छ । यसै क्रममा लैङ्गिक भिन्नताको अन्त्य भएको राष्ट्र र आर्थिक रुपमा प्रतिस्पर्धी राष्ट्रबीच गहिरो सम्बन्ध रहेको विश्व आर्थिक फोरमले बताएको छ । महिला कर्मचारी बढी भएको कम्पनीहरु तुलनात्मक रुपमा बढी सफल हुने गरेको पाइएको छ ।