यो देवभूमि नेपालमा चाडबाड र उत्सव नमनाएको त दिन नै हुँदैन । प्रत्येक वर्ष मनाइने हरेक क्षेत्र, हरेक जातिका चाडपर्व कम्ती रमाइला हुँदैनन् । देवका पनि देव महादेव भनेजस्तै चाडको पनि चाड यो महान् चाड भने पाँच–पाँच वर्षमा आउँछ ।
चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् ।
तपाईं हाम्रो चाडको सम्बन्ध खोज्नुभयो भने कुनै पुराण वा धार्मिक कथासम्म पुग्नैपर्छ । तर पछि थपिएको यो नयाँ चाड चाहिँ पुराण होइन, राजनीतिसँग जोडिएको छ । अनि स्वर्गका देवतासँग होइन, धर्तीका देवतातुल्य नेतासँग सम्बन्ध राख्छ । यसको नाम हो– चुनावी पर्व । यो चाड पूरै देशैभरि मनाइन्छ । चुनावी पर्व ती सबै वर्गका मानिसले मनाउँछन्, जसको उमेर १८ वर्ष कटेको हुन्छ । चुनाव देउता यो पर्वको प्रमुख देउता मानिन्छन् । चुनाव देउता आफ्नो प्रचार प्रसार गर्न अरू सानातिना देउताहरूलाई आह्वान गर्छन् । यी प्रमुख चुनाव देउताले अह्राए अनुसार विभिन्न गतिविधिमार्फत जनताको मन लोभ्याउने काम गर्छन् । चुनाव देउता इन्द्रको सिंहासन प्राप्त गर्न साम, दाम, दण्ड, भेद सबै खाले नीतिको प्रयोग गर्न चुक्तैनन् ।
यो पर्व मनाउने खास ऋतु नै त तय छैन । चुनाव पर्वको समय घोषणा गर्ने अधिकार सरकारसँग छ । त्यही घोषणा अनुसार जुनसुकै ऋतुमा पनि यो चाड पर्न सक्छ । तर बर्खा र हिउँ पर्ने ऋतुमा चुनाव पर्व पारिने गरेको छैन । चुनाव पर्वको आगमनमा प्रत्येक व्यक्ति झुमेर गाउँछ । सडक, गल्ली, कुना कुनामा समेत लाउड–स्पीकर बज्न थाल्छन् । ठाउँ ठाउँमा चुनाव देउताहरूका पोस्टर टाँसिन्छन्, अनि कति कति केजीका माला लगाइदिने प्रतिस्पर्धा नै हुन्छ । जुलुसहरू निकालिन्छन् । शोभायात्रा, रोड–शो, आमसभा, कोणसभा, जुलुस, र्याली आदि नामका गाईजात्राहरू प्रदर्शन गरिन्छन् । मासु, भात, भोजन नैवेद्य पस्किइन्छन् । बियर, ह्विस्कीका बिर्को फुकालेर जल चढाइन्छ । यसबाट मदिरा कम्पनीका देउताहरू पनि खुबै प्रशन्न देखिन्छन् ।
शोभायात्राहरूमा प्रायः सबै जात, धर्म, वर्ग र दलका युवा खुबै उत्साहका साथ भाग लिन्छन् । सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छन् । देवताको पूजामा देउताको भक्ति गान हुन्छ । चुनावी पर्वमा चुनावी देउताहरू केही दिन जनताको भजन गाउँछन्, अनि पाँच वर्षसम्म आफ्नो बारेमा भजन सुनेर आनन्द लिन्छन् ।
केही दिन आफ्नो न्वारनदेखिको बल लगाएर जनतालाई सपनामा भुलाउन सफलता प्राप्त गर्छन् । चुनाव देउता भोलाभाला जनतालाई आश्वासन नामक थुप्रै वरदान पनि दिन्छन् । यसरी देउताहरू आफूलाई दानवीर कर्णका अवतारका रूपमा प्रमाणित गर्ने प्रयास गर्छन् । तर यिनका वरदान कसै कसैलाई मात्र लाग्छ । प्रत्येक देवताको चिह्न अलग भएजस्तै यो चाडमा भाग लिनेहरूको पनि निश्चित अलग अलग चिह्न हुन्छ । निश्चित रङका कपडा हुन्छन् एवं निश्चित रङका ध्वजापताकाका साथ उनीहरू प्रत्येक गल्ली, चोकमा देखिन्छन् । यो चाडमा कतै गुण्डागर्दी त कतै कानून उल्लंघन नामक सडक नाटकहरू खुब देख्न–सुन्न पाइन्छन् ।
यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् ।
केही समययता चलचित्रतिर अभिनय गर्नेहरू पनि यो चाडमा विभिन्न भूमिकामा बढाबढमा भाग लिन थालेका छन् । कहिले कम्मर मर्काउने त कहिले कसैलाई थर्काउने वा जन देउताहरूलाई फकाउने भूमिकामा । चुनावका मुख्य देउताहरूका बुझाइमा यी हाउभाउवालाहरूका कारण आफ्नातिर भीड बन्छ र सभा सभ्य नभए पनि भव्य चैं पक्कै हुन्छ । एक किसिमले यिनको काम मदारीको जस्तै हुन्छ । अझ धन–बलका कारण चुनाव जयन्तीको खुशी डबल धमाका हुन पुग्छ । चुनावी पर्वको मुख्य आकर्षण नै पुरस्कारहरूको वितरण हुने गर्छ । यी पुरस्कार दिनको उज्यालोमा नभई रातिको अँधेरोमा लुकिछिपी दिइने गरिन्छ । पुरस्कार किन दिइन्छ, यो गोप्य नै रहन्छ । पुरस्कार वितरण गर्ने चुनाव देउतासँग मुद्रा द्रव्य कहाँबाट आउँछ र कसरी वितरण गरिन्छ भन्ने जस्ता कुराहरू यो चाडको झिलिमिलीमा त्यत्तिकै हराएर जान्छ । एकै रातमा मतपत्र सर्लक्कै उल्ट्याउन सक्ने खुबी यो पुरस्कारमा हुन्छ ।
चुनाव जयन्ती मनाउन कतिपय ठाउँहरूमा तोडफोड पनि गरिन्छ । हुलदंगा, अस्त्रशस्त्र, धक्कामुक्का आदि पनि चल्छन् नै । कहिलेकाहीँ त चुनावी देउताहरूका फोटो छापिएका पन्नाहरू राखिएका बाकस नै साटफेर वा गायब समेत पारिन्छ । अझ यो चाडमा रमाइलो त मिडियातिर देखिन्छ । प्रायः सबैखाले मिडियामा अरू सबै प्रकारका समाचारहरूलाई किनारा लगाएर, मानौं अरू कुनै विषय नै छैनन् भनेसरी केवल यै पर्वको विषयमा, यो शुरू हुनु धेरै पहिलेदेखि नै पल–पल खबरहरू प्रसार गरिरहन्छन् । चुनाव पर्वको घोषणा निर्वाचन आयोगले गर्छ, तर यसमा रौनक थप्ने काम चाहिँ मिडियाले नै गर्छन् ।
यसरी यो चाडमा चुनावी देउतालाई आह्वान गरिन्छ र वरदान मागिन्छ । चुनावी देउता पनि के कम ? मागहरू कहिले तत्कालै त कहिले आश्वासनका वरदान दिएर पूरा गरिदिन्छन् र त्यहाँबाट अन्तरध्यान भइहाल्छन् । पहिलाका देवताजस्तो वरदान मौखिक मात्रै हुँदैन । वरदानको घोषणापत्र नै हुन्छ र यस्तो वरदान खासमा कसैले पाउँदैनन् । पाँच पाँच वर्षमा यसलाई दोहोर्याउने चैं गरिन्छ ।
ससाना केटाकेटीलाई चुनाव जयन्तीसँग कुनै लेनदेन हुँदैन । उनीहरूको जीवन यी चाड पर्वहरूबाट टाढा भए पनि यो चाड सकिएपछि देउताहरूका नाम किताबहरूमा पढ्नुपर्ने, नाम कण्ठ पार्नुपर्ने बाध्यता उनीहरूलाई आइलाग्छ । त्यस हिसाबले प्रत्येक व्यक्ति यो पर्वसँग जोडिएकै हुन्छ ।
यो मनाउन सबै जाति धर्मका मानिसहरू भेला हुन्छन् । सबै आआफ्ना काम–साम छाडेर एउटा नयाँ काममा जुट्छन् । सबै बेरोजगारहरू पनि आआफ्नो खोपीबाट निस्किएर सडकमा आएका भेटिन्छन् । उनीहरू सबै आफ्ना आफ्ना चुनावी देउताका लागि आशिर्वाद माग्न त्यहाँ आउँछन् । यस क्रममा चक्काजाम, पसलहरू बन्द हुने जस्ता कुराहरू त सामान्य नै भए । तर असामान्य चैं के छ भने यो चाड कहिले सबै एकआपसमा मिलेर त कहिले एक–अर्काको टाउका फुटाएरै भए पनि मनाउँछन् ।
यो चुनाव पर्व देशको विधि विधान अनुसार लोकतान्त्रिक हुनुको एउटा प्रतीक पनि हो क्यारे । तर यहाँको लोकतन्त्र अन्तको जस्तो होइन, यो लोकतन्त्रको नयाँ भेरिएशन ठोकतन्त्र चैं हो । तैपनि हामी सबै यो पर्वलाई सौहार्द र खुशीका साथ मनाउने कसम खाएर यसलाई सर्वजन हिताय सर्वजन सुखाय बनाउनै पर्छ । हरेक पाँच वर्षमा आउने यो पर्वले सबैको जीवनमा नयाँ स्फूर्ति ल्याओस् ! र, प्रत्येक चुनावी देउताले हामीलाई विगतमा झैं यसरी नै निरन्तर शुभ आशिर्वाद प्रदान गरिरहून् ! अनि यस्तो चुनावी देउतालाई हामीले पूजाभुजा दिने होइन, तिनबाट लिने वातावरण बनाउन पाइयोस् । चुनाव पर्वको सबैलाई शुभकामना !