ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीलंकाको बाटोमा ?

२०७८ चैत, २५  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

तीन–तीनदिने भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री देउवाले भारतसँग नेपालको व्यापार घाटाका विषयमा मोदीसँग चर्चासम्म गरेको थाहा भएन । उनलाई व्यापार घाटाको बारेमा थाहा भएन वा छिमेकीका पार्टी अफिस र मन्दिर धाउने धुनमा अरू सबै मुद्दा बिर्सिए । कि यो तीर्थाटन हो, भिक्षाटन हो वा राष्ट्र प्रमुखको भ्रमण हो भन्ने भेद बिर्सिए जस्तो छ ।

कोरोनाकालमा सुक्खा भएको मौसम होटल, पार्टी प्यालेस खुलेसँगै र अनलाइन डेलिभरीसमेत हुन थालेसँगै मदिरा उपभोगमा देशमा आत्मनिर्भरता बढ्दो छ । अब हामी तरलताले टिल्ल भएर आत्मनिर्भरताका विषयमा थप गम्भीर बहस गर्न सक्ने भएका छौं ।

दूध उम्लिएर भाँडा बाहिर गएसरी मूल्यवृद्धि जनताको क्षमता बाहिर गइसक्दा पनि ढुकुटीको ताल्चासाँचो हातमा लिएका अर्थमन्त्री मस्त निद्रामा छन् कि क्या हो ? संकटका बारेमा चुँसम्म बोलिरहेका छैनन् । प्रचण्डले उनलाई अर्थमन्त्री बनाएको उनले थाहा पाएकै छैनन् कि क्या हो ? उनलाई अर्थ मन्त्रालय पार्टी कार्यालय जस्तो लागिराको पो हो कि ? अर्थमन्त्रीलाई आफ्नो घर र अफिसमा माक्र्स र लेनिनको सट्टा विश्व बैंक र एडीबीका प्रमुखहरूको फोटो राख्न कसैले सुझाव दिनुपर्ला जस्तो छ । किनकि यदि यी बैंकहरूले ऋण नदिने हो भने नेपालले कहाँबाट ल्याएर काम चलाउँछ खै ! यो वर्षको ८ महीनामै नेपालको व्यापार घाटा झन्डै १२ खर्ब पुगेको छ । र, यो वर्षको अन्त्यसम्ममा १८ खर्बजति पुग्ने देखिन्छ । चालू खाता घाटा ४ खर्ब, भुक्तानी सन्तुलन अढाई खर्ब घाटा । यता, बजेटको विकास खर्च भने मुश्किलले २५ प्रतिशत मात्र छ । राष्ट्र ऋण जीडीपीको ५० प्रतिशत पुग्न लागेको छ । विप्रेषण घटेको छ । वैदेशिक ऋण पनि लक्ष्यको २५ प्रतिशत मात्रै भित्रिएको जस्ता तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यसरी देश आर्थिक रूपमा भड्खालोमा पर्न लागिसक्ता पनि खास कोही केही बोल्दैनन् । पहिले पहिले त आत्मनिर्भर आत्मनिर्भर भन्थे । होइन के भएछ यो आत्मनिर्भरको नारालाई भन्ठानेको त आत्मनिर्भर नै एक ठाउँबाट अर्को ठाउँतिर सरिसकेछ जस्तो छ ।

हिजोआज त सरकार गठबन्धनका अर्थशास्त्रीहरू, गठबन्धन बाहिरका अर्थशास्त्रीहरू र विपक्षीहरू फेसबुक र ट्वीटरमा गालीगलौजमा पो आत्मनिर्भर भइसकेका रहेछन् । हाम्रा वरिपरि यस प्रकारका स्वावलम्बीहरूको लामै सूची छ । समाज र व्यवस्थामा धेरैजसो आत्मनिर्भरहरू परजीवी छन् । तर परजीवी हुनु नै उनीहरूको आत्मनिर्भरको पहिलो मन्त्र होला शायद ।

यो आत्मनिभर्रताको मन्त्र समय फेरिएसँगै नयाँ नयाँ रूपरंगमा आउन थालेको छ । कहिलेकाहीँ स्वाँगहरूले पनि आत्मनिर्भरता हासिल हुन्छ । जस्तै– नेपालले गत ८ महीनामा डेढ खर्बको वस्तु निर्यात गरेको भने पनि ती वास्तवमा नेपालमा अत्यन्त कम मूल्य अभिवृद्धि (भ्यालूएड) भएका वस्तुहरूमा रिप्याकेजिङ गरेर निर्यात भएका हुन् । तर, निर्यात त भएकै देखिन्छ त । यसरी जानी जानी आँखा नदेख्नेजस्तो गर्दा पनि त हामी आत्मनिर्भर भएको देखियो नि ।

यसरी हाम्रो समाजले कतिपय विशेष क्षेत्रमा खास किसिमका आत्मनिर्भरता हासिल गरेको छ । भलै ती राम्रा वा नराम्रा जुनसुकै क्षेत्रका किन नहुन् ।

आत्मनिर्भरता त आत्मनिर्भरता नै हो नि । जस्तै, यदि हामीले पाकेटमारलाई निकम्मा भन्यौं भने त यो उसको आत्मनिर्भरताको कौशलको अपमान हुन्छ नि । किनकि सरकारले जनतासँग पाकेट मार्दा ठीक हुन्छ भने पाकेटमार नै पेशा गर्नेले पाकेट मार्दा कसरी बेठीक भन्न मिल्छ त ? हाम्रो शासनतन्त्रमा भ्रष्टाचार, कमिशनखोरी र नकारात्मकता जस्ता कुराहरूमा आत्मनिर्भरता गहिराइसम्मै जरा गाडेर बसेको छ । सर्वसाधारणहरू दिनरात यिनै कुराहरूमा त अनुलोम विलोम गरिरहेका छन् नि ।

यदि तपाईं कुनै काममा सफलता चाहनुहुन्छ भने कुनै हालतमा पनि आत्मनिर्भरताको यो गल्लीबाट हिँड्नैपर्छ । तपाईं सीधा त्यहाँ पुग्नै सक्नुहुन्न । किनकि यदि तपाईं आदर्शवादी हो, या सभ्य बन्न चाहनुहुन्छ भने आत्मनिर्भर हुनै सक्नुहुन्न । यदि आत्मनिर्भर बन्न चाहनुहुन्छ भने सभ्य बन्नै सक्नुहुन्न । त्यसैले बुद्धिमानीको परिचय दिँदै आत्मनिर्भरताको गल्लीको प्रयोग गरौं ।

माहामारी काल होस् वा सामान्य अवस्था, समयले हामीलाई कुनै नयाँ अवसर लिएर आएकै हुन्छ । आम चुनावका बेला त झन् भ्रष्टाचारमा आत्मनिर्भर हुन चाहनेका लागि त यो सुनौलो मौका नै हो । त्यसमा पनि कोरोनाकालमा सुक्खा भएको मौसम होटल, पार्टी प्यालेस खुलेसँगै र अनलाइन डेलिभरीसमेत हुन थालेसँगै मदिरा उपभोगमा देशमा आत्मनिर्भरता बढ्दो छ । अब हामी तरलताले टिल्ल भएर आत्मनिर्भरताका विषयमा थप गम्भीर बहस गर्न सक्ने भएका छौं ।

त्यसो त सबैजना देशलाई आत्मनिर्भर बनाउने भनेरै राजनीति गरिरहेका छन् । विपक्षमा हुँदा देशलाई सुनको चरा बनाउने भन्छन् । सरकारमा पुग्नासाथ आत्मनिर्भरको परिभाषा बदलिँदो रैछ । अनि कचौरा थाप्नेतिर लाग्दा रहेछन् । कचौरा थापेर ल्याएको सामल तुमलबाट पहिले आफै आत्मनिर्भर बनौं भन्ने लाग्दो रैछ । यसरी जसलाई हामीले देशलाई आत्मनिर्भर बनाउन भनेर सत्तामा पठाएका थियौं, ती सबै सबै आआफूू आत्मनिर्भर बन्नतिर पो लागेछन् । त्यसैले होला यहाँ नामी देशभक्त भनिएकाहरू पनि आत्मनिर्भरताका नाममा सबै थोक निजी बनाउनमै बिजी भएछन् । त्यसैले देश आत्मनिर्भरताको बाटोमा नभै श्रीलंकाको बाटोमा चैं गैरहेको पो देखिन्छ त । विज्ञहरूका अनुसार त सरकारले समयमै समस्या समाधानमा विज्ञहरूको सुझाव लिएर कदम चालेन भने नेपालको स्थिति श्रीलंंकाको भन्दा पनि खराब हुन सक्छ ।

तर यहाँ त आत्मनिर्भरता कसरी आउँछ भन्नेमा पनि मत–मतान्तर छ । कोही भ्यूटावरबाट देश आत्मनिर्भर हुन्छ भन्ठान्दा रैछन्, कोही डोजरबाट । कोही दुई तिहाइ भए मात्र हुन्छ ठान्दा रैछन् । कोही चैं गठबन्धनले मात्र देशलाई आत्मनिर्भर बनाउँछ भन्ने सोच्दा रैछन् । कोही गठबन्धन भत्काउँदा आत्मनिर्भर हुन्छ भन्दा रछन् । तर, केले आत्मनिर्भरताको बाटोमा पुर्‍याउँछ भनेर म रनभुल्लमा छु । यो कुरा बुझ्न नसकेर मेरो हालत त्यो विद्यार्थीको जस्तो भएको छ, जसले कक्षामा साइन्स पढेको थियो, तर जाँचमा प्रश्न आयो पोलिटिकल साइन्सको । अब भन्नुस् त, म के गरौं ? तपाईंले आत्मनिर्भरता बुझ्नुभयो त ? बुझेको भए मलाई पनि बुझाउनुस् न है  । कमसेकम बुझाइमा त आत्मनिर्भर बनौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)