चैत २५, काठमाडौं । काठमाडौंको इन्द्रचोक नजिकै किलागल बजारमा झापा दमकका सुरेन राजवंशीले काठमाडौंबासिका लागि नौलो मानिने भक्का व्यवसाय गरिरहेका छन् ।
किलागल बजारमा ठेलागाडा राखेर राजवंशीले काठमाडौंका स्थानीयका भक्का व्यवसाय गरिरहेका छन् । स्वाद पारखीहरु भक्काको स्वाद लिन इन्द्रचोक पुगिरहन्छन् ।
जाडो मौसममा राजवंशी समुदायमा भक्का खाने परम्परागत चलन छ । अझ छोरीको बिहेमा कोसेलीस्वरुप भक्का खुवाउने चलन छ । छोरी चेलीलाई चिसो छल्न माइती बोलाएर भक्का खुवाएर खुशी बनाउने चलन झापा लगायतका जिल्लामा रहेको पाइन्छ ।
चामलको पिठो बफ्याएर बनाइएको स्वादिष्ट परिकार हो भक्का । एक पटक भक्काको स्वाद लिइसकेपछि अधिकांश ग्राहक इन्द्रचोक नजिक उनको ठेला पसलमा दोस्रो पटक पनि पुग्ने गरेको उनी सुनाउँछन् ।
तातोमा झनै स्वादिलो हुने भक्का प्याक गरेर टाढा लैजाँदा भने त्यति स्वदिष्ट हुँदैन । त्यही भएर उनी भक्का पारखीहरूलाई तात्तातो भक्का खान सुझाउँछन् । उनले भक्काको मूल्य प्रतिगोटा २५ रुपैयाँका दरले विक्री गर्दै आएका छन् ।
पछिल्लो समय महँगी बढेकाले चामलको पीठो, ठेलागाडा, कोठाभाडा, ग्यास तथा श्रम जोड्दा करीब करीब घाटाको व्यापार गर्नु परेको उनको भनाइ छ ।
फोटोहरु : सुनिल शर्मा /आर्थिक अभियान