चैत २७, काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ ।
मच्छिन्द्र बहालबाट बाजागाजासहित सेतो मच्छिन्द्रनाथको खटलाई जमलस्थित तीनधारा पाठशाला लगेर शुभ साइतमा रथारोहण गरेपछि रथयात्रा शुरु हुन्छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ ।
राजा शिवसिंह मल्लद्वारा नेपााल संवत ७०८ देखि श्री करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथयात्रा गरिंदै आएको बुढापाकाहरु बताउँछन्। यो रथलाई नागराजको प्रतीक पनि मानिन्छ ।
यात्राको पहिलो दिन रथलाई असनमा लगेर राखिन्छ । त्यसको भोलिपल्ट असनबाट हनुमान ढोकाअगाडिसम्म रथ तानेर राखिन्छ । त्यसको एक दिनपछि मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म रथ तानेर रथयात्रा मनाइन्छ । रथ लगनमा पुगेपछि मच्छिन्द्रनाथकी आमाको मन्दिर र माँ सीमा नामक रुखलाई तीन पटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।
मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन लगन टोलमा रथ पुर्याउने बित्तिकै जीवित देवी कुमारीलाई पनि जात्रा देखाउने चलन छ । रथ रोकिएको हरेक स्थानमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास रही आएको छ ।
तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान