चर्चामा आइरहनलाई बेला बेलामा केही न केही उट्पट्याङ गरिरहनुपर्छ । कहिले जिब्रो चिप्ल्याउनुपर्छ त कहिले दुष्कर्म गरिरहनुपर्छ । जिब्रो चैं धेरै नेता, मन्त्रीहरूको चिप्लिरहेको हुन्छ । कहिले नजानेर त कहिले जानाजान । त्यसकै कारण त उनीहरू मिडियामा छाइरहेका हुन्छन् । चर्चा चल्छ र त नेताको नाम चल्छ ।
अर्थमन्त्रीले आर्थिक युद्धमा एक कमाण्डर अर्थात् गभर्नरलाई कामबाटै हटाए । कुन दिन राष्ट्र बैंक नै पो हटाइदिन्छन् कि के थाहा ? राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमा गाभे खर्च कटौती हुन्छ भनेर तर्क ल्याउन के बेर ?
राम्रो गरे पनि नगरे पनि एकपटक मिडियामा नाम प्रकाशमा आयो मात्र भने पनि तिनको भविष्य उज्यालो हुन्छ । मिडियाको आँखा परेपछि बिरालो पनि सिंहमा दरिन्छ । हो, यो सबै मिडियाकै देन हो । अझ जति विवादित व्यक्ति, त्यति नै मिडियामा स्थान पाउने सम्भावना बढी हुन्छ । चर्चामा रहन च्याउमार्का मिडियालाई पट्याउन जरुरी हुन्छ । जसले मिडियालाई पट्याउन सक्छ, ऊ तुरुन्तै भाइरल हुन सक्छ, ग्लोबल बन्न सक्छ ।
चुनाव लड्नेवाला होस् वा सामान्य व्यक्ति, मिडियाको उदारताका कारण ‘खास’ बन्छन् । अरूलाई खास बनाउने मिडिया हाउस वा मिडियाकर्मी आफू पनि खास बन्ने चाहना रोक्न नसकेर उट्पट्याङ गर्न हौसिइहाल्छन् । तपाईं सही खबर हजार दिनुस् वाल मतलब, तर एउटा उट्पट्याङ खबर दिनुस्, तपाईंको चर्चा सगरमाथा नाघेर कहाँ कहाँ पुग्छ । आफू स्वयं चर्चित वा विवादित भएपछि उसको मिडिया पढ्ने, देख्ने वा सुन्नेहरू हजारौं मान्छे तुरुन्तै उसका प्रशंसक वा आलोचक बनिहाल्छन् ।
नाम होस्, बदनाम होस् तर गुमनाम चैं नहोस् भनेजस्तै कसैकसैलाई चैं आफ्नो मिडियाको पाठक वा दर्शक बढाउन केही न केही गरी नै रहने बानी हुन्छ । गसिपलाई समाचार बनाएर होस् वा हिरोइनका अर्धनग्न ब्लोअप छापेर होस् चर्चामा नछाए त तिनलाई निद्रा पनि लाग्दैन । अझ कहिले विनाइजाजत जबरजस्ती जहाजमा घुसेर होस् वा मिटिङभित्रै गएर क्यामेर तेर्स्याएर होस्, अथवा मिलोस् नमिलोस् अन्तरवार्ता लिने नाममा जथाभावी प्रश्नहरू बर्साएर होस्, चर्चा चलाउनै पर्छ ।
मिडिया अर्थात् पत्रकारिता कुनै बेला मिशन थियो, हिजोआज कसै कसैको एम्बिसन बनेको होला त कसैको फ्युजन र कसैको कन्फ्युजन । मिडियाको भिजन त हुनुहुँदैन क्यारे । यसबारे व्याख्यात्मक टिप्पणी गरिरहनु जरुरी नै छैन । सबैलाई थाहा छ, जुन पत्रकार जति तल गिर्न सक्छ, ऊ उति नै चर्चाको टुप्पोमा पुग्छ । प्रतिस्पर्धाको होडमा नमरेका मानिस मारिन्छन् । अब त हुँदा हुँदा मिडिया/पत्रकारले आफै पत्रकार, आफै न्यायाधीश, आफै प्रहरीको भूमिका खेल्न थालिसके । यो सबै कुराले आफ्नो चर्चा बढ्छ । आफ्नो साइटमा धेरैभन्दा धेरै पाठकले क्लिक गर्छन् । जति धेरै क्लिक, त्यति धेरै विज्ञापन । अनि त्यति नै धेरै सफलता ।
चर्चामा रहिरहन मिडियाले केसम्म गर्न थालेका छन् भन्नै परेन । नग्नता, नकारात्मक, नशिलो सबै प्रकारका ‘न’कारहरूको प्रयोग बढाइरहेकै छन् । यो २१औं शताब्दी हो । रूढीवादी बनिरहनु जरुरी छैन । विकृत हुँदै गइरहेको संस्कृति र संस्कारका विषयमा रोइरहन पनि जरुरी छैन । बरु यो उचित हुन्छ कि निर्लज्ज हुँदै असंगत, अनैतिक, असभ्य नै किन नहोस्, उट्पट्याङ गरिरहनुपर्छ । अब त कमसेकम आजका हाम्रा देशका खलनायकहरूबाट केही सिकौं । दुनियाँले जेसुकै भने पनि आफ्नो गीत गाइरहनुपर्छ । आफ्नो कर्म कुकर्म छाड्नुहुन्न ।
उट्पट्याङ सिकाउने महागुरु चाहिँ राजनीति नै हो है । नीतिको पनि राजा भनिने राजनीति त उट्पट्याङको पर्याय नै हो । हाम्रा प्रधानमन्त्री र मन्त्रीहरूबाट धेरै सिक्न सकिन्छ । देख्नुभएन चौतर्फी आलोचना हुँदा हुँदै पनि सरकारले राजनीतिक सिफारिशका नाममा धेरैजसो यस्ता मानिसलाई राजदूतमा सिफारिश गर्यो, जो भागबण्डामा नेताहरूका आसेपासे नातेदारहरू मात्र पारियो । तीमध्ये प्रायःजसो पियन पद पाउन पनि लायक देखिन्नन् ।
यता, अर्थमन्त्रीलाई नै हेर्नुस् । अर्थतन्त्र कठिन मोडमा पुगिरहेका बेला फ्याट्ट गभर्नरलाई निलम्बन गरे । लडाइँको बेला हतपत्त कमाण्डर फेर्न हुँदैन । तर अर्थमन्त्रीले आर्थिक युद्धमा एक कमाण्डर अर्थात् गभर्नरलाई कामबाटै हटाए । कुन दिन राष्ट्र बैंक नै पो हटाइदिन्छन् कि के थाहा ? राष्ट्र बैंकलाई अर्थ मन्त्रालयमा गाभे खर्च कटौती हुन्छ भनेर तर्क ल्याउन के बेर ? राष्ट्रपति र प्रधानमन्त्रीले उद्घाटन गरिसकेको मेलम्ची अहिले फेरि प्रधानमन्त्री देउवाले उद्घाटन गरे ।
यी घटनाहरूबाट के सिक्न सकिन्छ भने चर्चामा रहिरहन केही न केही उट्पट्याङ गरिनै रहनुपर्छ । त्यसमा पनि जति ठूलो पद, त्यति नै ठूलो उट्पट्याङ । नत्र ठूलो पदमा बसेको के सार ? पदमा पुग्न पनि उट्पट्याङ नै गर्नुपर्ने । सही कुरा भन्नुस् एउटा भोट आउन्न, उट्पट्याङ बोल्नुस्, स्वप्नद्रष्टामा दरिइहाल्नुहुन्छ । अनि त भोट त के नोटको समेत चिन्ता लिनुपर्दैन ।
हो, जति ठूलो उट्पट्याङ त्यति नै ठूलो चर्चा । जति ठूलो चर्चा त्यति नै ग्लोबल रूपमै भाइरल हुने सम्भावना । नत्र विश्वले नेपाल र नेपालीलाई के भनेर चिन्ने त ? त्यसैले ग्लोबल बन्न मन छ भने लोकलमाथि फोहोर फ्याँक्ने काम गरौं । जथाभावी मान्छे नियुक्ति गरौं । जथाभावी लाइसेन्स बाँडौं । जथाभावी बाटो खनौं । जथाभावी लेखौं । जथाभावी बोलौं । जथाभावी आयात गरौं वा रोकौं । युवाहरूलाई जथाभावी विदेश लखेटौं । जथाभावी उद्घाटन गरौं । जे जेमा जति जथाभावी गर्न सकिन्छ, गरौं । अनि न संसारले पनि तपाईंलाई पढ्छ, सुन्छ वा हेर्छ । अनि भन्छ वाह !
त्यसैले खोजी खोजी, सोची सोची केही न केही निर्लज्ज उट्पट्याङ गरिरहुँ । राम्रा काम गर्ने मान्छेहरूलाई नराम्रो प्रमाणित गरौं । नराम्रा काम गर्ने मान्छेहरूलाई राम्रो भनेर झ्याली पिटौं । राम्रो गर्नलाई त हामीसँग बाँकी नै के पो छ र ? त्यसैले कतिपय मिडिया, नेता, मन्त्रीहरूबाट प्रेरणा लिँदै म पनि सोचिरहेको छु के चैं नयाँ उट्पट्याङ गरूँ भनेर ।
नयाँ वर्ष २०७९ लागेको छ । अरू कुनै राम्रो काम केही पाउनुभएन भने पनि आउनुस्– यो नयाँ वर्षमा नयाँ उट्पट्याङ गरौं र नयाँ उचाइमा पुगौं !