उपभोक्ताको नाताले हामी बजारमा उपलब्ध धेरै छनोटबाट आफूलाई मनपर्ने ब्राण्ड तथा सेवाप्रदायकको वस्तु छनोट गर्छौं । हालै गरिएको एक अध्ययनमा भने उपभोक्ताले दैनिक जीवनमा आफूलाई कति शक्तिशाली महसूस गर्छन् भन्ने कुराले उनीहरुको मनपर्ने ब्राण्ड र वस्तुप्रतिको लगाव बढाउने नयाँ तथ्य फेला परेको छ । जर्नल अफ कञ्जुमर रिसर्चको पछिल्लो संस्करणमा छापिएको उक्त अध्ययनको रिपोर्टअनुसार यसले नौलो कुराको प्रयोग गर्ने उपभोक्ताको चाहनालाई समेत प्रभाव पार्ने गरेको छ ।
हङकङ पोलिटेक्निक युनिभर्सिटीका युवेइ जियाङ र लिन्झिङ हान तथा अमेरिकाको नर्थवेष्टर्न युनिभर्सिटीअन्तगर्तको केलोग स्कूल अफ म्यानेजमेण्टका अनुसन्धानकर्ता डेरेक डी. रुक्करले यो अध्ययन गरेका हुन् । ‘हाम्रो अनुसन्धानले उत्पादन वा ब्राण्डप्रति रहेको व्यक्तिको झुकावमा विज्ञापनले बढाएको भावना शक्तिको प्रभावलाई परीक्षण गरेको छ’, अनुसन्धानकर्तात्रयले भने । उनीहरुले ६ ओटा परीक्षणका क्रममा सहभागीहरुको शक्तिको अनुभूतिलाई कृत्रिम रुपमा बढाए र लगत्तै उत्पादन वा ब्राण्डहरुप्रतिको उनीहरुको लगाव कति बलियो भयो भन्ने मापन गरे । सहभागीहरुले शक्तिशाली भएको महसूस गर्दा उनीहरु नयाँ इण्टरनेट सेवाप्रदायकप्रति वा आफूले खाइरहेको आइसक्रीमको स्वाद परिवर्तन गर्न अधिक इच्छुक देखिएका थिए । अनुसन्धाताहरुले सहभागीहरुले महत्वका साथ प्रतिक्रियामा देखाएको यस्ता व्यवहारहरुको मात्रै मापन गरेका थिए ।
अनुसन्धानकर्ताहरुका अनुसार धेरैभन्दा धेरै ग्राहक आफूतर्फ आकर्षित गर्ने तथा ग्राहक नगुमाउने दुवै कुरामा ब्राण्डहरुले रूचि राख्छन् । उनीहरुले यसलाई ग्राहक सशक्तीकरणको स्तर मापनका साथै उपभोक्तालाई अझ शक्तिशाली भएको महसूस गराउने अवसरको खोजीका रुपमा पनि लिन सकिने उल्लेख गरेका छन् । यसअनुसार धनी तथा शक्तिशाली ग्राहक भएका विलासी ब्राण्डहरुले आफ्नो उत्पादनमा विविधीकरण गरेर फाइदा लिने गरेको पनि पाइएको छ । यसैगरी, नयाँ ग्राहकलक्षित ब्राण्डहरुले अस्थायी रुपमै भए पनि मानिसहरुलाई सशक्तीकरण गरेर उनीहरुको झुकाव आफूतर्फ तान्न खोज्ने अनुसन्धानमा पाइएको छ । तपाईंसँग आफ्नोलागि फोन सेवा छान्ने शक्ति छ भन्ने हामीलाई थाहा छ भन्दै विक्री कल शुरु गरेर दूरसञ्चार कम्पनीहरुले नयाँ व्यवसाय सृजना गर्ने गरेको कुरालाई उदाहरणका रुपमा रिपोर्टमा प्रस्तुत गरिएको छ ।
उपभोक्ता सशक्तीकरण गरेर धेरै कम्पनीहरु सफल भएका थुप्रै उदाहरण पनि रिपोर्टमा दिइएको छ । खराव विक्री नतीजा भएको ‘ओल्ड स्पाइस स्वागर डियोडोर्याण्ट’ सेण्ट कम्पनीले सशक्तीकरणको विज्ञापन अभियान थालेपछि सबैभन्दा राम्रो विक्री गर्ने ब्राण्ड बनेको अनुसन्धानकर्ताहरुको भनाइ छ । यसैगरी, जनरल मोटर्सद्वारा उत्पादित स्पोर्टस् युटिलिटी भेहिकल (एसयूभी) हम्मर एचथ्रीको विज्ञापन अभियानले उपभोक्तालाई उक्त ब्राण्डले सम्मान तथा शक्ति दिने बताउँदै आकर्षित गरेको उनीहरुले बताए । ‘यसबाट मानिसहरु सम्मानित तथा शक्तिशाली भइने अनुभूति गर्छन् र ब्राण्डप्रति लालायित हुन्छन्,’ अनुसन्धानकर्तात्रयले भनेका छन् । तसर्थ, ग्राहकलाई तान्ने निर्णयमा रहेका ब्राण्डहरुले उपभोक्ता सशक्तीकरणको यी उदाहरणलाई पछ्याउँदा हानि नहुने अनुसन्धाताहरुको निष्कर्ष छ ।