अचेल जताततै चुनावमा भिड्ने कुरा मात्रै सुनिन्छ । भीडबाट भिड्ने शब्दको व्युत्पत्ति भएकाले यो भिड्ने सिड्ने कुरामा जोसँग भीड हुन्छ, उसैले जित्ने हो । जोसँग भीड छैन, ऊ भीरबाट लड्छ । यस्ता भीड जुटाउन नसकेर भीरमा लड्नेलाई काँध थाप्नु त कता हो कता, कसैले रामराम पनि भन्नेवाला छैन । त्यसैले चुनावी पर्वमा भीडको निकै महत्व हुन्छ ।
आफ्नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ ।
भनिन्छ गफ लगाएर भीड तान्ने खुबी छ भने हेर्दाहेर्दै आफूलाई मन परेको कुर्सी पनि आफूतिर तानिइहाल्छ । विनाभीडको जीव अन्तमा भाडमा जान्छ । भलै हिजोआज बजारमा अचम्म किसिमका भीड भाडामा उपलब्ध छन् । तर पनि भीड जम्मा पार्न दिमाग चैं पूरै लगाउनुपर्छ । चुनावी वैतरणी पार गर्नका लागि भीड नै एकमात्र उपाय हो । नारा लगाउने वाला, जयजयकार गर्ने वाला, पोस्टर पम्प्लेट चाट्ने वाला, पुत्ला जलाउने वाला–सजाउने वाला, लाठीमुंग्री चलाउने वालादेखि लिएर फर्जी तरीकाबाट भोट हाल्ने वालासम्मका भीड सर्वत्र उपलब्ध छन् । बजारमा नाना प्रकारका भीड अटाएका छन् । ती भीडको फाइदा लिन रकमको जोहो भने आफै गर्नुपर्छ । गाँठ अनुसार भीड जम्मा गरिदिने भीड समेत सजिलै उपलब्ध छन् जान्ने र सक्नेहरूका लागि ।
अहिले बजारमा नयाँ नयाँ प्रकारको भीड पनि प्रकट भएका छन् । ह्वाट्सएप वा भाइबरमा सन्देश–शस्त्र चलाउने वाला, टिकटक वा फेसबुकमा भिडियो पुराण लगाउनेवाला र ट्वीटर देउतामा चुनावी ट्वीटबाजी गर्नेवाला भीड थोक वा खुद्रामा उपलब्ध छन् । साइबर स्याल र हनुमान्को त यहाँ भीडै छ, पार्टीपिच्छे, नेतैपिच्छे । यहाँ भीड जम्मा गर्न खल्ती चाहिँ अलिक मोटै हुनुपर्छ । पहिल्यैदेखि त्यसै ठूला बनेका भीडलाई त मिडियाले सित्तैमा प्रचार गरिदिएर अझ ठूलो भीड बनाउन मद्दत गरिरहेकै छन् ।
वैकल्पिक र विकल्पविहीन साना भीडवाला संगठनहरू जो केही सस्तोमा भीड जुटाउन चाहन्छन्, उनीहरूलाई म सित्तैमा यहाँ केही टिप्स दिन चाहन्छु । चुनाव जितिसकेपछि भने बदलामा मलाई पनि दुई–चारओटा सरकारी ठेक्कापट्टा मिलाइदिनुपर्छ है ! कुनै समिति वा आयोगको अध्यक्ष बनाइदिनुपर्दछ । वा कुनै बोर्ड वा कोषको गाडी र भत्ता पाउने गरी सदस्य नै भए पनि बनाइदिए पुग्छ ।
भीड बटुल्ने पहिलो सिद्धान्त हो, सामाजिक सञ्जाल हाइजेकीकरण । सामाजिक सञ्जाल नाममात्र सामाजिक हो । त्यसभित्र प्रायः कुरा असामाजिक नै हुन्छन् । र, यसलाई अपहरण गरेर मनले चाहेजति भीड जम्मा गर्नुस् ।
हेर्नुस्, हामी नेपालीहरू अरू केही गर्न नसके पनि टिकटक भिडियो बनाउन वा फेसबुक चलाउनेमा भने कुशल नै छौं । यहाँ अनेक रंग ढंगका सामाजिक सञ्जालबाज छन् । यी सबै अदृश्य भीडका रूपमा बसेका छन् । यिनीहरूले चाहेको खण्डमा कुनै पनि उम्मेदवार वा नेताको चुनावी गाडी पार लगाउन सक्छन् वा खाल्टामा धकेल्न पनि सक्छन् । यस्तो डिजिटल भीड जम्मा गर्नेहरूमा केही गाउँमा गोबर सोहोर्नेहरू छन् वा शहरमा गाडीमा हिँड्नेदेखि खाडीमा पसिना बगाउनेहरूसम्म छन् । यिनले एकदमै रमाइलो र प्रभावशाली तरीकाले डिजिटल भीडबाट आफूले चाहेअनुसार काम फत्ते गराउन सक्छन् । न्यायिक फैसला पनि यही भीडले गर्छ, समाजसेवाको रकम पनि यसैले जोहो गरिदिन्छ र राष्ट्रवादीको पगरी पनि यसैले गुथाइदिन्छ । यसैले गूगलबाट भात वा रोटी डाउनलोड गर्न नसके पनि भोट भने डाउनलोड गर्न सकिन्छ ।
भीड बटुल्नेमा मनोरञ्जक सिद्धान्तको पनि खास महत्त्व छ । सर्वसाधारणहरू यसै पनि चुनावी सर्कसबाट मनोरञ्जन लिन्छन् नै । किनकि उनीहरूलाई थरी–थरीका छोटेबडे नेता भनाउँदाहरूको भाषणले नै मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् । अनि अचेल त भाषणले मात्र नपुग्ने भएपछि नर्तकी ल्याएर नचाउने होड पनि चलेको छ । बूढा नेताका अगाडि भर्खरकी युवतीले कम्मर मर्काएपछि भीडको भोट पक्का !
अझ कुनै आइटम विशेषमा धेरै ताली हासिल गर्नु छ भने चाहिँ चलचित्र वा नाटक साटकमा नाच्ने, अभिनय गर्नेवालीहरूको बन्दोबस्त गर्नुपर्ने हुन्छ । उनीहरूको स्वागतमा ठूलै भीड जम्मा पारेर स्वागत भाषण गर्ने र सुन्ने आदि गर्न सकिन्छ । अझ भाषणबाजीको शुरू, मध्य र अन्त्यमा खुलामञ्चमा क्रान्तिकारी गीत घन्काएर, कम्मर मर्काएर, सरकार थर्काएर नृत्य, नाटक आदि प्रदर्शन गर्न सके फुर्सदिला नेपाली भीड जम्मा गर्न अरू केही गर्नै पर्दैन । अझ यसो एक दुई आइटम गर्लहरूलाई ल्याएर एक दुई आइटम गीतमा प्रदर्शन गर्न लगाउने हो भने त मशानघाटका भूतहरू पनि भीड बनेर भोट दिन आतुर भएका विगतमा देखिएकै हो । भीड भुसुक्क पारेपछि भोट त खुसुक्क पाइहालिन्छ नि । पाँच वर्षमा आउने चाडमा त्यति पनि नगरी भो त ?
यता नयाँ ढंगले कठपुतलीका खेल देखाउनेवालाहरूको पनि बजारमा माग छ । आफ््नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । त्यसो त कतिपय सरकारी हाकिमहरू, प्रहरी, प्रशासनमा रहेकाहरू आआफ्ना आराध्य देव नेताका आदेशानुसार कठपुतली बनेर काम गरि नै रहेका छन् । यसले पनि भीड जम्मा गर्ने सत्कर्ममा सहयोग नै पुर्याइरहेकै छ ।
हिजोआज त सामाजिक सञ्जालमा यति र उति ‘रीच’ बढाउन सक्छु भन्ने सोसल मिडियाबाज पनि थुप्रै आएका छन्, जसले उमेर समूह, भूगोल वा रुचि अनुसारका डिजिटल भीडलाई भोटमा बदल्ने ग्यारेन्टी लिँदै हिँडेका पनि देखिएका छन् । भीड छ त भाषण जे पनि दिन सकिन्छ । भाषणै दिन त के छ र ? जे मन लाग्छ ठोक्नै नै हो । मूल उद्देश्य नै भीड बटुल्ने नै त हो ।
यता सँगैको ठेलामा तातोतातो भीड उपलब्ध छ । यो भीड यता पासपोर्ट लिने लाइनमाा पनि छ, पेट्रोलियम किन्ने लाइनमा छ, सवारी लाइसेन्स लिने लाइनमा छ, जागीर खाने लाइनमा छ । यो भीड जताततै छ । त्यसैले छिटो आउनुहोस् । आफूलाई मनपर्ने भीड लिएरै जानुहोस् ।
एक्लै भीड जम्मा गर्न ल्याकत पुगेन भने गठबन्धन गर्नुस् । मै हुँ भन्नेले त एक्लै हिँड्ने आँट नगरिरहेका बेला साना साना भीड मिलाएपछि गतिलै भीड सृजना भैहाल्छ । तपाईंलाई कस्तो भीड बटुल्नु छ ? कि भीड बटुल्नुस् कि भीडको अंग बन्नुस् । नत्र तपाईंको जिन्दगी गयो खेर ! भीड बटुल्ने यी काइदाहरूको प्रयोग गर्नुहोस् । हेर्नुस् त, तपाईं अगाडिको कुर्सीले व्यग्र भएर तपाईंलाई कुरिरहेको छ !