ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावको मुखैमा विदेशीए ५५ हजार नेपाली, विदेशीने भन्छन्- 'राजनीति र चुनाव भन्यो भने वितृष्णा जाग्छ'

२०७९ बैशाख, १२  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

वैशाख १२, काठङ्गाडौं । देशमा स्थानीय तहमा जनप्रतिनिधि छान्न चुनावको माहोल तातिसकेको छ ।

हिजो र आज त बाजागाजासहित उम्मेदवारी दर्ता भइरहेको छ । हजारौ वेरोजगार कार्यकर्ताहरू भीडका साक्षी बनिरहेका छन् । तर यहि समयमा परिवारको पेटपाल्न विदेशीने युवाहरूको संख्या भने झन बढीरहेको छ । पसिनाको व्यापार गर्ने आम युवालाई स्थानीय निर्वाचनले छुन सकेको छैन । 

वैदेशिक रोजगार विभागले सार्जजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत चैत महीनामा मात्रै ५५ हजार ५२३ जना नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । ती मध्ये ५ हजार ३६३ जना महिला दिदीबहिनीहरू छन् ।

यो संख्या अघिल्लो वर्षको चैतको तुलनामा करीब दोब्बर हो । अघिल्लो वर्ष ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

राजनीतिदेखि वितृष्णा
वैदेशिक रोजगारीमा जान अन्तरवार्ता दिन आएका सल्यानका खगेन्द्र जीसी बसपार्कको एउटा होटलमा बसिरहेका छन् । 

उनीहरूसँग आएका केही साथीहरू र उनलाई विदेश पठाइदिन्छु भनेर बोलाउने एजेन्ट स्थानीय चुनावको लागि भनेर गाउँ गइसकेका छन् । 

खगेन्द्र सहित ४/५ जना साथीहरू भने यतै बसेका छन् । उनीहरुको भिसा र टिकट आउन केही समग लाग्ने बताइएको छ । 

तर उनीहरू भने राजनीतिक दल, जनप्रतिनिधि र भड्किलो चुनावबाट मोहभंग भएर भिसा र टिकट नआउन्जेल यतै ज्यामी काम गरेर बस्ने निर्णयमा पुगेका छन् । त्रिभुवन बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा अहिले पनि वेदश जाने युवाहरूको संख्या खचाखच देखिन्छ । 

निर्वाचनको मुखमा आफ्नो सेवा गर्ने जनप्रतिनिधि छान्न छोडेर किन विदेश जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा कैलालीका पारश बटालाले प्रतिप्रश्न गर्दै भने, ‘भ्रष्टाचार गर भन्ने लाइसेन्स दिन हामीले भोट दिएर किन छानीरहनु पर्‍यो र ?’

जुनसुकै दलका उम्मेदवारले जितेपनि जनताको जीवन स्तरमा परिवर्तन ल्याउन उनीहरूले कामै नगर्ने उनको जिकिर छ ।

चुनाव लड्नको लागि उम्मेदवारले लाखौ/करोडौ रुपैयाँ खर्च गरेका हुन्छन् । पहिला त त्यो रुपैयाँ असुल गर्न भ्रष्टाचार गर्छन् । त्यसपछि उनीहरूका आसेपासेलाई व्यवस्थापन गर्न लाग्छन् । भोट मात्रै हाल्ने जनतलाई हेर्ने फुर्सद कसको छ र ?

एयरपोर्टमै भेटिएका बागलुङका प्रेम नेपाली पनि चुनाव आउनु २० दिनअघि मात्रै देश छोड्दै थिए । ‘देशमै रोजगारी भएको भए विदा लिएर पनि भोट हाल्न जान सक्थ्यौ । परिवार पाल्न विदेशीनु पर्ने हाम्रो बाध्यता हो’, उनले भने ।

सबै दल र उम्मेदवारलाई पालै पालो जिताइसकेको बताउने उनले अहिलेको राजनीतिक संस्कारबाट हुर्केका कसैले पनि देश विकासको वारेमा सोच्नै नसक्ने दाबी गरे ।

कुन देशमा कति नेपाली विदेशीए ?
यस मध्ये धेरैको आकर्षण भने खाडी मुलुक साउदी अरब नै भएको छ । गत महिना १५ हजार २०१ जना युवा रोजगारीको लागि साउदी अरब गएका छन् ।

त्यसैगरी कतारमा १४ हजार ८६९ जना नेपाली रोजगारीको लागि गएका छन् । कुवेत जाने नेपालीको संख्या पनि ५ हजार ६२९ रहेको छ । मलेशिया जाने नेपालीहरूको संख्या भने २ हजार भन्दा कम छ ।

वैशाखमा पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा कुनै कमि नआएको वैदेशिक रोजगार विभागको भनाइ छ । चैतकै जति नेपाली वैशाखमा पनि विदेशीए भने चुनावको मुखैमा देश छोड्नेको संख्या एक लाख भन्दा बढी हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)