देशभर चुनावी माहौल छ । अर्थात् लुट्ने र लुटाउनेको कतार छ । कोही भोट लुट्न त कोही लुटाउन तयार छन् । चुनाव सुनौलो अवसर हो लुटका लागि । बैंकहरूबाट अर्बौं रुपैयाँ चुनावमा लुटाउन निकालिएको छ । अहिले लुटाउने अनि पाँच वर्षसम्म आरामसँग लुट्ने । लुटको अवसर छ र त लुटमा लगानी छ ।
जति अभाव उति महँगी । जति महँगी उति नै लुट । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ ।
पहिले पहिले पसलहरूमा छुटका अफरहरू हुन्थे । अहिले छुटको ठाउँ लुटले लिएको छ । लुट्नलाई सजिलो हुने भएर होला, अहिले त धेरैजसो पूर्व लडाकुमात्र होइन, पूर्व डाँकाहरू पनि राजनीतिमा आएका छन् । अहिले त उनीहरू ‘केही’ बनिसकेका छन् । कम खाँदा उनीहरूलाई ‘सुक्खा रोग’ लाग्ने खतरा छ । त्यसैले उनीहरूलाई खाइरहनुपर्छ र धेरै खानुपर्छ । तर नेताले ईशारा गरे मात्र पनि पुग्छ, बाँकी सबै थोक कार्यकर्ता र आसेपासे अफिसरहरूले पुर्याइदिहाल्छन् । असुली अभियानमा ठूला साना सबै कार्यकर्ताले आफ्ना भूमिका निर्वाह गरिहाल्छन् । हुन्न, सक्तिनँ भन्नेहरू सरुवा वा निलम्बनको यात्रामा जान बाध्य हुन्छन् ।
चुनाव स्थानीय नै भए पनि केन्द्रीय नेता पनि यसमा परिचालित हुन्छन् । केन्द्रीय नेताहरू जब शहरबाट साना शहर र गाउँ पस्छन्, उनीहरूको खाने, पिउने, बस्ने, गाडी, डिजेल, पेट्रोल आदि सबै कुरा स्वतः मातहतहरूको जिम्मा भैहाल्छ । मन्त्री नेताका पीएदेखि भान्छेसम्म भोको बाघजस्ता देखिन्छन्, मौका पर्नासाथ आक्रमण गर्न र लुट्न तयार । हिजोआज चारैतिरको चुनावी वातावरण लुटको छुटका लागि उपयुक्त बनेको देखिन्छ । त्यसैले जनतासँग जसले जेमा जति दाम असुल गरे पनि उचित हुने जस्तो वातावरण बनेको छ ।
जताततै मिलावट नै मिलावट छ । जसले मिलावट गर्छ, उसले थुप्रै पाउँछ । फस्यो भने थोरै मात्र गुमाउँछ । त्यसैले जनतासँग खोस्नुस्, केवल कम्पनीहरूलाई पोस्नुस् । कोही मर्छन् भने मर्न दिनुस् । मर्नबाट त कसले कसलाई रोक्न सक्छ र ?
त्यसो त थुप्रै मानिस शिक्षण पेशा छाडेर समेत राजनीतिमा आएका छन् । उनीहरूले शिक्षण संस्थाहरूमा देखेको वा आफूले प्रयोग गरेको लुटलाई राजनीतिमा पनि प्रयोग नगर्ने कुरै भएन । स्कुल कलेजमा पढाउने कुरामा छूट भए पनि एड्मिशन शुल्कदेखि हरेक शुल्कमा हुने गरेको लुट, कापी किताब किनाउनेदेखि डे«स सिलाउने र टाईदेखि आईडीकार्ड बनाउँदामै लुट, शिक्षक शिक्षिकालाई दिने तलब सुविधा आदिमै लुट । छट्टुहरूले कट्टु र मोजाबाहेक अरूमा नलुटेको केही छैन । यस्तो लाग्छ– अरू थुप्रै क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि साँच्चै रामराज्य नै आएको थियो र छ ।
शिक्षा क्षेत्रमा जस्तै अन्य थुप्रै क्षेत्रमा लुटको यो श्रृंखला जारी छ । ट्रकवालालाई पुलिसले, पुलिसलाई माथिकाले लुटिरहेका देखिन्छन् । बफादार प्रहरीले दिनभर लुटेर साँझ सबैलाई प्रसाद पुर्याउन भ्याउँछ र बदलामा आफ्नो भाग पनि लाउँछ । महानगरीय प्रहरीले फुटपाथ पसलेहरूसँग कबड्डी म्याच गर्दै गरिरहेको असुली त झन् दक्षिण भारतीय चलचित्रमा देखाइने गरेजस्तो देखिन्छ ।
किसानलाई नीति निर्धारक र टाठाबाठाहरूले लुटिरहेकै छन् । जसले कृषिउपजमा लुट्न पाएन, उसले बीउ वा मलमा लुटिरहेको छ । अनि त न किसानले मल हाल्न पाउँछन्, न फसल उब्जिन्छ । अनि खाद्यान्न आयात बढ्यो, कृषिमा अनुदान दिनुपर्यो भन्ने तिनै । अनि त्यो अनुदान ठ्याक्क आफू वा आफन्तले पाउने गरी नीति बनायो अनि पोस्ने उनै । अनि अन्नमा पोस किन लाग्थ्यो ? टाठाबाठा पो हुने हो पोसाएको पोसायै ।
यसरी जति अभाव उति महँगी । जति महँगी उति नै लुट । कस्तो राम्रो काइदा । जान्नेलाई सधैं फाइदा । औषधि, दूधदेखि दारुमा लुट । अस्पतालदेखि मशानघाटसम्म लुट । भगवान्जस्तै लुट पनि सर्वव्यापी, सर्वशक्तिशाली बनेको छ । यसलाई न कानूनले छुन्छ, न पुलिसले थुन्छ, न अदालतले चिन्छ । सबै मिलेपछि इन्द्रका बाउ चन्द्र आए पनि कसैले केही लछारपाटो लगाउन सक्ने होइन । त्यसैले तपाईं यदि भगवान्लाई मान्नुहुन्छ भने पछि नपर्नुहोस् र यो पवित्र अखण्ड कीर्तनमा सहभागी भएर अर्थको भवसागर तर्नुहोस् ।
चुनाव हार्नुभयो वा राजनीतिमा असफल हुनुभयो भने पनि केही छैन । जिन्दगीमा केही गर्न सक्नुभएन भने पनि कुनै बाबा वा धर्मगुरु बनिहाल्नोस् । मठाधीश कहलिनोस् र जो मूर्ख बन्न तयार छैनन्, उनीहरूलाई भगवान्सँग डराउने बनाउनुहोस् र लुट मच्चाउनुहोस् । यो लुटको अवसरहरू छोड्ने कुरै हुन्न । विश्वमा कहीँ कतै छिसिक्क हुनुहुन्न, यता लुट शुरू गरिहाल्नोस् । देख्नुभएन ? रूसले युक्रेनमा मिसाइल हानेका समाचार आउन नपाँउदै रातारात मिसाइलको गतिमा भाउ आकाशिएको ।
देशमा केही गरेर देखाउने कुरा गर्नु छ । बैठकमाथि बैठकहरू बस्नुपर्नेछ । समय कटाउनु छ । पञ्चवर्षीय कार्ययोजना बनाउनु छ । घोषणपत्र सार्वजनिक गर्नु छ । पत्रकार सम्मेलन गर्नु छ । त्यसमा तथ्यांक यताउता बनाएर विकास गरेको देखाउनु छ । अनि फेरि उही पुरानै वाचाहरू दोहोर्याउनु पनि छ । देश स्वर्ग बनाइसकेँ भन्नु छ । अनि फेरि केही नभएको देखाएर स्वर्ग बनाउँछु भनेर प्रमाणित गर्नु पनि छ । शहर सफा राख्ने, पार्क बनाउने, यति हजार मेगावाट बिजुली निकाल्ने, मोनोरेल, मेट्रो मात्रै किन ? हाइपरलुपकै गफ दिनु छ । हुने नहुने, सकिने नसकिने सबै सपना नबाँडे चुनाव कसरी जित्नु ? गर्नुपर्ने केही होइन, भोटरहरूलाई पनि चाहिएको गफै हो क्यारे । भन्नेलाई पनि थाहा छ र सुन्नेलाई पनि थाहा छ । यदि भन्ने र सुन्ने दुवैलाई यो झुठ हो भन्ने थाहा छ भने त्यो झुठ ठहरिँदैन भन्छन् । जे होस्, सबै प्रकारका झुठ कुरा गरेर पाँच वर्ष फेरि बिताउनु छ । देशलाई जहाँ जानु छ, ऊ त्यहाँ गैहाल्छ । तपाईंको काम त लुट्ने हो, लुटिरहनुहोस् ।
नीति बनाएर वा नबनाएर लुट्नुहोस् । पुल बनाएर वा भएको पुल भत्काएर लुट्नुहोस् । कतै केही बिग्रियो भने छाती नपिट्नुहोस्, बरु लुट्नुहोस् । जे मिल्छ, स्वीकार भावमा ग्रहण गर्नुहोस् । हे कर्मठ सपुतहरू ! तपाईंहरूलाई लुट्नलाई अधैर्यपूर्वक कुरिरहेको छ लूटतन्त्र । हे वीर ! जाग्नुहोस् । टाउकोमा फेटा बाँधेर वा कम्मरमा सिक्री सजाएर चुनावमा निक्लनोस् । कुनै पनि दलको झण्डा उठाउनुहोस् । जोसुकै अगाडि आए पनि डण्डा लगाउनुहोस् । जोसँग केही पनि बाँकी छैन, ऊसँग पनि लुट्नुहोस् । लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुनाव हो भन्छन् । यो सुन्दर चुनावलाई आफ्ना लागि पूर्णरूपमा उपयोग गर्नुहोस् । सर्वसाधारणसँग भएको सर्वस्व लुट्नुहोस् । यो चुनावको अवसरमा लुट्ने मौकामा छुट्नुभयो भने फेरि जीवनभरि पछुताउनु पर्ला है !