ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावी गणितको प्रश्नपत्र बाहिरियो !

२०७९ बैशाख, २३  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

हाम्रो देशमा हुने विभिन्न परीक्षाको परम्पराको नियमानुसार प्रश्नपत्र जाँचभन्दा पहिल्यै आउट हुने गरेको छ । डाक्टर, इन्जिनियरको प्रश्नपत्र आउट गर्न त निकै कसरत गर्नुपर्छ रे । मैले पनि ठूलै पापड पेलेर अर्को हप्ता हुने चुनावी गणितको आउट भएको प्रश्नपत्र हात परेको छु, जो यसप्रसार छन् ।

महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ?

१. एउटा उम्मेदवार वा नेता दिनमा जम्मा १० लिटर गोहीको आँसु बगाउँछ । यदि एउटा आमसभामा उसले सरदर ५०० मिलिलिटर गोहीको आँसु बगायो भने उसले जम्मा कति आमसभालाई सम्बोधन गर्‍यो होला ?

२. चुनाव प्रचारका क्रममा दलदल पार्टीका उम्मेदवारले भोटरका अगाडि आफ्नो नाकलाई प्रतिदिन १ मिलिमिटर घोट्छ र दलबदल पार्टीका नेताले भने आफ्नो नाक त्यति नै समयमा १.५ मिलिमिटर घोट्छ । चुनाव परिणाम आउने दिन दलदल पार्टीको नाक ५.५ मिलिमिटर मात्रै घोटिएको हुन्छ, जब कि दलबदल पार्टीको नाक ३ मिटर घोटिइसकेको  हुन्छ । अब बताउनुस्– यी दुई दलले कति कति चुनाव प्रचार गरे त ?

३. सामान्यतया भोटरहरूलाई मासु र रक्सी बाँड्दा २.५ प्रतिशत, पैसा बाँड्दा २ प्रतिशत र मोबाइल बाँड्दा ०.९ प्रतिशत भोटको वृद्धि हुन्छ । एउटा पार्टी आफ्नो भोट यसअघिको चुनावको तुलनामा १५ प्रतिशतले बढाउन चाहन्छ । अब भन्नुस्– २ करोड भोटरका लागि कति मात्रामा रक्सी, बियर, मासु–च्युरा, मोबाइल र पैसाको जोहो गर्नुपर्ला ?

४. एउटा विरोधी नेताको सभा बिथोल्न कम्तीमा १५ अधम अरिँगालहरू चाहिन्छन् । यस प्रकारका एउटा अरिँगालका लागि करिब ५ लाख खर्च गर्नुपर्ने हुन्छ । तर एउटा दलले भने अरिँगालहरूमा १० करोड रुपैयाँ खर्च गर्‍यो । अब बताउनुस्– उसले विरोधीका कतिओटा आमसभामा गएर हंगामा मच्चाउन सफल भयो त ?

५. एउटा पार्टीको आफ्नो कोषमा ४० प्रतिशत भ्रष्टाचारबाट, १५ प्रतिशत कमिशनबाट, २० प्रतिशत घूसबाट, १५ प्रतिशत रुपैयाँ ट्रान्सफर गरेर र बाँकी चन्दाबाट जम्मा गर्ने गर्छ । यदि पार्टी फन्डमा यो वर्ष २०० करोड जम्मा भएको छ भने अब भन्नुस्– यो पार्टीले ट्रान्सफर व्यापारबाट कति पैसा लुँड्यायो ?

६. स्थानीय निकायका वडाहरू, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कुनै विरोधी वा विरोधी दलका नेताको भोट वा बंगारा भत्काउन दिइने रकमको अनुपात १ः२ः३ को रहन्छ । यदि स्थानीय स्तरका कुनै आफ्नै पार्टी विरोधी गुट वा बागी उम्मेदवारलाई १० लाख रुपैयाँमा तोडिन्छ भने भने केन्द्रीय स्तरका नेतालाई तोड्नुपर्‍यो भने कति रुपैयाँ आवश्यक पर्छ होला ?

७. एउटा पार्टीले आरक्षणवालाहरूको भोटका लागि ५०० लिटर घरेलु रक्सी र २०० किलो मासु र बाँकी भोटका लागि १० करोड रुपैयाँको व्यवस्था गरेको छ । अब भन्नुस् कि यो पार्टीले पाउने भोटमध्ये आरक्षणवाला र अन्य सबै गरेर भोटको कति कति अनुपात रहन्छ ?

८. एउटा पार्टीले पूरै चुनावी सिजनमा विरोधीहरूमाथि १०० टन फोहोर फ्याँक्छ । एक टन फोहोरमा ३० क्विन्टल झुठ र ५० क्विन्टल गाली मिसाउनुपर्ने हुन्छ । एउटा शुद्ध चम्चाले भने ५० किलो झुठ र ५५ किलो गाली मिलाएर भाषण गर्न सक्षम हुन्छ । यस्तोमा पार्टीलाई कति शुद्ध चम्चाहरूको आवश्यकता पर्छ, ताकि भोटरहरूलाई साँच्चैजस्तो लाग्नेगरी एक शानदार गालीबाजीको कला निर्वाह गर्न सकियोस् ?

९. एउटा उम्मेदवार नेतालाई भत्काउन २ करोड रुपैयाँ र ४ सुन्दरीको आवश्यक पर्न सक्छ । पार्टीलाई चुनावमा बहुमत हासिल गर्न कम्तीमा थप स्थानीय निकायहरू, जस्तै– २०० गाउँपालिका, ८ उपनगरपालिका र १९० नगरपालिकामा जित्नुपर्ने हुन्छ । त्यो पार्टीसँग जम्मा ५० करोड रुपैयाँ र ५० सुन्दरीहरू मात्र छन् । अब भन्नुस्, बहुमत पुर्‍याउन अब थप कति रुपैयाँ र थप कति सुन्दरीहरू जुटाउनुपर्ने हुन्छ ?

१०. चुनाव जित्नैका लागि एउटा नेताले ५ करोड खर्च गर्‍यो । यदि उसलाई प्रतिभ्रष्टाचार ५ लाख, प्रतिडिलिङको कमिशनबापत ३ लाख र प्रतिकर्मचारी सरुवाबापत २ लाख आय हुन्छ । अब भन्नुस् कि उसलाई जम्मा कतिओटा भ्रष्टाचार, कमिशन र सरुवाको काम गर्नुपर्ने हुन्छ, ताकि उक्त नेता व्यवसायमा आफ्नो लागतको कमसेकम १० गुणा बढी रुपैयाँ आरामसँग कमाउन सकोस् ?

११. एउटा चुनावी र्‍याली गर्न १०० युवालाई ललिपप, मासु चिउरा र दारुका लागि प्रतियुवा दैनिक कम्तीमा १ हजार खर्च लाग्छ । अब भन्नुहोस्– उसले एक महीनाको चुनाव अभियानमा कति खर्च गर्‍यो होला ?

१२. महानगरको चुनावमा एउटा साइबर स्यालका लागि प्रतिहप्ता १० हजार खर्च दिनुपर्छ । दैनिक १०० पोस्ट विपक्षीलाई गाली गर्न, १०० पोस्ट उम्मेदवारको टिकटक बनाउन, ५० पोस्ट मानिसको समर्थनका भनाइ राख्न उसलाई कति जना साइबर स्याल चाहिएला ?

१३. चुनावका लागि अनलाइनमा आफ्नो पक्षमा जनता रहेको समाचार बनाउन, विपक्षीमाथि पुष्टि गर्नु नपर्ने गम्भीर आरोप लगाउन तथा पुराना गल्ती खोजी खोजी प्रचार गर्न प्रतिअनलाइन प्रतिसमाचार १५ हजार दिनुपर्छ । दैनिक दर्जनौं अनलाइनमा यस्तो समाचार आइरहेको छ । १५ दिनमा उक्त पार्टीले यस शीर्षकमा कति खर्च गर्‍यो होला ?

१४. समृद्ध नेपाल सुखी नेपालीका लागि चुनावमा गाडी र मोटरसाइकल नभई त चुनाव प्रचार हुने कुरै भएन । एउटा उम्मेदवारले १०० गाडी र २ हजार मोटरसाइकलका लागि दैनिक १० लिटर पेट्रोल हालिदिन्छ । पार्टीका झन्डा राखेर गुडेपछि त्यो गाडी र मोटर दैनिक १०० किलोमिटर गुड्छ । यस हिसाबले ६ महानगरपालिकाका लागि मात्र कति पेट्रोल खर्च हुन्छ ?

१५. राजनीति सबैभन्दा बढी प्रतिफल दिने व्यवसाय हो भनिन्छ । माथिका सबै खर्च जोडेपछि  पाँच वर्षमा शतप्रतिशत प्रतिफल लिन उसले आफू र आफ्नो पार्टीका लागि कति भ्रष्टाचार गर्नुपर्ला ? अनि त्यसका लागि अब कति कर थप्नुपर्ला ?

यी प्रश्नहरूको सही उत्तर दिन सक्नुभयो भने जाँचै नदिए पनि राजनीति विषयमा तपाईंले पनि विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुहुनेछ है !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)