वैशाख २८, काठमाडौं । थापाथली स्थित नर्भिक अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल जाने बाटो एउटै छ । उक्त बाटो काठमाडौंका अन्य बाटोको तुलनामा केही खुल्ला पनि छ ।
तर बाटोमै गरिएका अव्यवस्थित पार्किङका कारण गम्भिर बिरामी बोकेर आएका एम्बुलेन्सहरू भने हत्तपत्त अस्पताल छिर्न पाँउदैनन् ।
दुई अस्पतालको कम्पाउन्डमा सडकको एकतिर नो पार्किङको सूचना राखिएको छ । अर्कोतिर केही मेडिकल र लत्ता कपडाका पसल छन् ।
अस्पतालमा बिरामी भेट्न आउने केही व्यक्तिहरू एकै छिन त हो नी भन्दै सडकमै पार्किङ गरेर बिरामी भेट्न पुग्छन् ।
त्यहि समयमा दुई तिरबाट चार पाङग्रे गाडी आउँदा सहजै पास हुन सक्दैनन् । त्यस माथि मोटर साइकल चालकको हतारोले हर्न बजाइरहेका एम्बुलेन्सहरू लामै समयसम्म जाममा फस्छन् ।
नर्भिक अस्पतालले २०० मिटर पर पार्किङको व्यवस्था गरेको छ । प्रसुति गृहमा भने स्टाफ बाहेकका गाडी पार्किङको लागि प्रवेश गर्न दिइन्न ।
नो पार्किङमा राखिएका सवारीसाधनलाई महानगरपालिकाका कर्मचारी आएर लैजाने गरेका छन् ।
त्यस्तै कहिलेकांही थापाथली चोकमा बसेका ट्राफिक आएर नो पार्किङमा राखेका सवारीसाधनमा साङ्लोले बेरेर ताला लगाएर हिन्छन् । जरिवाना पनि तिराउँछन् । तर पनि अव्यवस्थित पार्किङ भने घटेको पाइँदैन ।
तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान