जेठ ४, काठमाडौं । न्यूरोड मखनस्थित सुरज आर्केडका एक चस्मा व्यवसायी दिनभरीमा बालेनवाला २० ओटा चस्मा मात्रै बेच्थे ।
१५ देखि २० ओटा चस्मा बेच्दा राम्रो व्यापार भयो भन्दै आनन्दको सास फेर्ने उनलाई एक दिन एउटै व्यक्तिले २५ ओटा चस्मा मागे । उनी दंग परे । हिजोआज उनको व्यस्तता धेरै नै बढीसकेको छ । एकै जनाले २०/२५ ओटा चस्मा किन्न थालेपछि उनलाई चस्मा पुर्याउन भ्याइ नभ्याइ छ ।
अहिलेसम्म त आउनेजतिलाई चस्मा बेचीरहेका उनी यसरी नै माग आउन थाले कुनै दिन चस्मा किन्न आउँदा छैन भन्ने अवस्था आउँछ की भन्ने पीरमा छन् ।
काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन साहको फ्यान फ्लोइङ अच्चमकै छ । चुनाव अघिसम्म सामाजिक सञ्जालमा उनका अन्तरवार्ता सुन्ने र सेयर गर्नेको संख्या बाक्लो थियो । तर फिल्डमा बालेन एक्लै छन् भन्ने धेरैको बुझाइ थियो ।
जव उनी घरदैलोमा निस्के तव भने उनको साथमा सयौं समर्थक हुन थाले । त्यो सयौ समर्थकको संख्या बढ्दै अहिले राष्ट्रिय सभागृहमा मतगणना चलिरहँदा हजारौं पुगिसकेको छ । सामाजिक सञ्जालमा उनलाई फ्लो गर्नेहरूको संख्या भने लाखौ नाघीसकेको छ ।
साहका डाइहर्ट फ्यानहरू यतिबेला बालेनको जस्तै चस्मादेखि कोटसम्म खरीद गर्न मरिहत्ते गरिरहेका छन् । यसले गर्दा चस्मा पसले र कपडा पसलेको नसोचेको व्यपार भइरहेको छ ।
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान