ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिदा माने विकास !

२०७९ जेठ, ६  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

स्थानीय चुनावको मतगणना जारी छ । एमालेमाथि कांग्रेस भारी छ । सडकमा फोहोर थुपारी छ । देशैभर बिदामाथि बिदाको उर्दी जारी छ । पेट्रोलियममा मूल्यवृद्धिको लगातार सवारी छ । यातायातको भाडा बढाउने फेरि अर्को तयारी छ । सरकार बिन्दास छ । जनता जिन्दावादमा व्यस्त छन् । काम गरेर खानुपर्नेहरू, कर तिर्नुपर्नेहरू थपिएको बिदाका कारण व्यवसाय चौपट हुँदै गएकोमा त्रस्त छन् । केही गर्नु नपर्नेहरू बिदा थपिएकोमा मस्त छन् । हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयबारे पक्षविपक्षमा आआफ्ना तर्क छन् । किनकि सबैका आआफ्ना अर्थ छन्, आआफ्ना स्वार्थ छन् ।

अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि ।   

दुईदिने बिदाले खासगरी महिलाहरूको कल्याण हुन्छ रे । एक दिन लुगा धुने, घर सरसफाइ गर्ने । अर्को दिन पूरै दिनभरि सुत्ने वा बाहिर घुम्न जाने मौका उनीहरूलाई जुर्छ रे ।
दुईदिने बिदाले आन्तरिक पर्यटन पनि बढ्छ रे । अब विदेशी पर्यटक पनि नचाहिने भो जस्तो छ । त्यस्तै दुई दिन बिदा भएसि करेसाबारीमा तरकारी धेरै फल्छ रे । यसको मतलब अब भारतबाट तरकारी आयात हट्ने भो, नभए पनि स्वात्तै घट्ने भो । बिदा दिए मानिस सुतिरहन्छन्, कोेची कोची खाँदैनन् अनि खाद्यान्नको आयात पनि घट्छ भनेरै सरकारले योे निन्जा टेक्निक लगाएको जस्तो छ ।

बिदाको दुरुपयोग होला भनेर सरकारले तास र दारु आयातमा प्रतिबन्ध लगाएर मात्र दुईदिने बिदाको घोषणा गर्‍यो । नत्र त बिदा बढाउँदै उत्पादन वृद्धि गर्ने सरकारको नीति फेल खान्थ्यो । अनि अब पनि कसैले भन्न सक्छ नेपालमा दूरदर्शी नेता र नीति निर्माताहरू छैनन् भनेर ?  

सरकारले खासमा चाहिँ पेट्रोलियमको खपत घटाउन दुई दिन बिदा द्या रे । तर उता बिदामा घुम्न जान पाउँदा यसको खपत चाहिँ दोब्बर हुने भा छ रे । अहिले भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएका कारण गहुँ लगायतमा भाउ बढेर छोइनसक्नु भा छ । अब गहुँको आयात घटाउन पनि कुनै नयाँ बिदाको योजना अघि सार्न म सरकारसँग जोडदार माग गर्दछु ।

‘हाउथोर्न इफेक्ट’ भन्ने व्यवस्थापनको एउटा सिद्धान्त छ । यो सिद्धान्तले भन्न त अर्थोकै भन्छ, तर त्यसको नेपाली स्थानीयकरण अनुसार बढी बिदा भयो भने उत्पादकत्व बढ्छ रे । शायद त्यै भएर सरकारले हप्तामा ५ दिन मात्र काम गर्ने भनेर बनाएको होला । अब त्यो पनि घटाउँदै हप्तामा ४ दिन, ३ दिन काम गर्ने बनाउँदै जाऊँ न त, अझ उत्पादकत्व बढ्दै जान्छ कि !

हुन पनि दुनियाँले दुई दिन बिदा गरेर उत्पादकत्व बढाइराछन् भने हाम्रोमा किन नहुने ? विकसित भनिएका सबै देशमा दुईदिने बिदा देखेकै छौं । खाली अहिलेको प्रावधानले सरकारी अफिस बन्द हुँदा पनि प्राइभेट अफिस मात्र खुल्दा के हुने हो भन्ने मात्र प्रश्न हो । हप्तामा दुई दिन बिदा दिने देशहरूमा नेपालमा जस्तो अन्य बिदा यति धेरै त हुन्न होला । अनि उनीहरू कामका दिन राम्रैसँग काम गर्छन् होला । कि हाम्रा सरकारी कर्मचारीले जस्तै ‘सरकारी काम, कैले जाला घाम’ गर्छन् होला हँ ?

जसरी अहिले पैसा झिक्न बैंकमा जानु पर्दैन, त्यसैगरी नागरिकता, पासपोर्ट आदि बनाउन सीडीओ अफिस जान नपर्ने भो भने त सरकारी अफिस सातै दिन बन्द गरे पनि भैगो त । शान्तिसुरक्षा आदि केही काम गर्नैपर्ने अवस्था हो भने सीडीओ सापको काम प्रहरी प्रभावलाई सुम्पिदिए पनि भो ।

सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर ।

यसै पनि अहिले शनिवार र आइतवार गरेर १०४ र अन्य बिदा ४६ दिन जोड्दा १५० दिन अर्थात् वर्षको ६ महीना त बिदै हुँदो रेछ । योबाहेक एकजना सरकारी कर्मचारीले वर्षमा ३० दिन घर बिदा, १२ दिन बिरामी बिदा अनि १२ दिन व्यावि पर्व बिदा पनि पाउँछ । अझ, बेलाबेलामा कहिले कुनै विदेशी नेपाल आउँदा होस् वा कुनै समूहको दबाबको सनकमा सरकारले भोलिपल्ट बिदा हुने भन्ने सूचना अघिल्लो दिन राति ११ बजेतिर उर्दी जारी गरेर दिइने बिदाको त यहाँ हिसाबै छैन । यसरी ६ महीनाभन्दा कम काम गर्ने, ६ महीना काम नगर्ने । यो कुम्भकर्णवाला प्राचीन बिदा प्रणाली ठीकै त होला । किनकि जति धेरै विकास, त्यति धेरै बिदा थपिन्छ रे । अन्य तरिकाले नेपालको विकास गर्न नसके पनि धेरै बिदा दिएर गर्ने विकासको मोडलको पनि अभ्यास त गर्नैपर्‍यो नि ।

त्यसैले बिदा बढेकोमा खासै चिन्ता गर्नुपर्ने देखिन्न है । बरु फाइदा पो हुन्छ कि ? कुनै तथ्यांकशास्त्रीले एक दिन सरकारी अफिस बिदा हुँदा कति भ्रष्टाचार कम हुन्छ भनेर अध्ययन गरे नि हुने हो । काम नभएको दिन भ्रष्टाचार नहुने भएपछि भ्रष्टाचार पनि पक्कै घट्छ होला ।

दुई दिन बिदा भनेको सरकारी अफिस मात्र बन्द भा न हो । अरू क्यै भा छैन । अनि केको गुनासो ? यसै पनि बिदा कम हुँदा कुन चैं उत्पादकत्व सरकारी निकायबाट भा छ र ? तर २०५६ सालमा पनि सरकारले हप्तामा दुई दिन बिदा दिने चलन ल्याएको थियो । २० वर्षअघि फेल भएको त्यही अभ्यास अहिले फेरि किन ल्याए, पक्कै क्यै रहस्य होला ।

‘अहिलेको आर्थिक मन्दीको अवस्थामा छफफल सीधा हुनुपर्ने थियो, कसरी आयात घटाउने र निर्यात बढाउने भनेर । तर सरकारले अरू कुरा छाडेर बिदा बढाउनेमा गयो’ भन्नुहोला । बिदा बढाउँदै आर्थिक वृद्धिदर पनि बढाउने नीति अंगीकार गरेको हो सरकारले । प्रधानमन्त्री राम्रोसँग बोल्दैनन् भन्दैमा यति धेरै जान्ने सुन्ने सरकारलाई मानिसले बुझ्ने प्रयासै नगर्नु पनि उचित भएन कि ? फेरि सरकारले जनसंख्या कम भएकाले दुई दिन बिदा दिएर जनसंख्यामा चैं उत्पादकत्व बढाउन सोच्या पनि हुन सक्छ । सरकारहरू त दूरदर्शी पो हुन्छन् हाम्रोतिर ।

त्यसैले जति बिदा थपियो, उत्ति नै उत्पादकत्व बढ्छ कि हेरौं न त । के बिग्य्रा छ र ? वास्तवमा देश विकास नभाकै बिदा कम भएर पो हो कि ? यति धेरै चाडपर्व र बिदै बिदा भएपछि अब त देशमा विकासले छलाङ कसो नमार्ला हँ ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)