ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावपछि निक्षेप बढ्ने अपेक्षा गरेका चितवनका बैंकर्स अन्योलमा 

२०७९ जेठ, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

 जेठ १२, चितवन । विगत झण्डै छ महीनादेखि तरलता अभाव खेपिरहेको बैंकहरुले स्थानीय निकायको निर्वाचनसँगै निक्षेप बढ्ने अपेक्षा गरेपनि बजारमा तरलताको अभावमा सुधार नभएको बताएका छन् । 

स्थानीय निर्वाचनमा विभिन्न माध्यमबाट रकमको फ्लो हुने अपेक्षा गरिएको थियो । तर निर्वाचन सकिएपछि पनि बैंकमा निक्षेप नबढ्दा भने उनीहरु अन्योलमा  परेका छन् । निर्वाचनमा विभिन्न उम्मेदवार तथा कार्यकर्ताले चुनाव खर्चको लागि गरेको रकम बैंकसम्म नआइपुुग्दा उनीहरु चिन्तामा छन् ।

कामना सेवा  विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी निर्वाचन शुरु भएसँगै बैंकमा निक्षेप बढ्ने आश गरेपनि हालसम्म पनि निक्षेपमा सुधार नआएको बताउँछन् । ‘चुनावी माहोल बढेसँगै निक्षेप बढ्ने अपेक्षा त गरेका थियौं, तर निर्वाचन सकिएपछि पनि निक्षेप बढ्ने कुनै संकेत देखिएन’, उनले भने ।  

निर्वाचन शुरु हुनुअघि रकम झिक्ने बढेको र सो रकम पुनः बैंकमा फर्कने  आश गरेपनि नआएको भण्डारीको भनाइ छ । ‘चुनावमा त झन् वीथड्र बढ्यो’, उनले भने, ‘चुनावमा त देशभर खर्च भएकै छ । त्यो पैसा कहाँ गयो होला हामी अन्यौलमा छौं ।’

निर्वाचनमा आम नागरिक, कृषक, व्यवसायी चुनावी रौनकमा व्यस्त भएतापनि निर्वाचनको परिणाम आएसँगै आफ्नै लयमा फर्कन थालेका छन् । पेशा व्यवसाय गर्नेहरु नियमित काममा फर्कन थालेपछि बैंकहरुमा ग्राहकको केही चाप देखिएको छ । 

यहाँका निजी बैंकहरुभन्दा बढी सरकारी निकायमा बैंकहरुमा बढी ग्राहकहरुको भीड भएको देखिन्छ । कृषि विकास बैंक, हाकिमचोक भरतपुर शाखाका प्रबन्धक हरि अधिकारी चुनावमा जति निक्षेप हुने अपेक्षा गरिएपनि त्यस्तो कुनै कारोबारमा फेरबदल नभएको बताउँछन् । ‘हामीले पनि चुनाव आएसँगै पैसाको फ्लो बढ्छ भन्ने सोचेकौ हौं, तर त्यस्तो देखिएन’, उनले भने । 

चुनावअघि निक्षेप नबढेपनि परिणाम घोषित भएसँगै निक्षेप गर्नेहरुको संख्या भने बढेको उनले बताए । बैंकहरुमा तरलता अभावले समस्या र चुनौति दिएपनि वित्तीय सहकारी संस्थाहरुमा भने तरलता अभावको त्यति असर नपरेको  स्वयं सहकारी सञ्चालकहरुले बताउने गरेका छन् ।

तर निक्षेपको तुलनामा कर्जाको अत्यधिक माग भएका कारण वित्तीय सहकारीहरुलाई सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ । बैंकहरुले सहजरुपमा कर्जा दिन नसकेपछि कतिपय व्यवसायीहरुलाई वित्तीय सहकारीको भरपर्नुपर्ने अवस्थाको सृजना भएको छ । 

‘चुनाव अघि त बरु ठिकै कलेक्सन थियो, चुनावमा त झन अधिकांशले व्यवसायनै बन्द गरे, झन असर पर्यो’ चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था,नारायणगढका सीईओे राजन पौडेलले भने । चुनावमा खर्च भएको रकम वित्तीय संस्थामा आउन केही समय लाग्ने र अबका केही दिनमा निक्षेप र कर्जा संकलनसमेत बढ्ने संकेत देखिएको पौडेलको भनाइ छ । 

चुनावमा खर्च गरिएको रकम बैंकसम्म आउन ढिला हुने बताउँछन बैंकिङ्ग विज्ञहरु । सानोसानो रकम धेरै ठाउँमा छरिएर जाने भएकोले फेरी संकलन हुन समय लाग्ने उनीहरुको भनाइ छ । कर्पोरेट फाइनान्समा विद्यावारिधि गरेका डाक्टर कपिलदेव सुवेदी बैंकमा तरलता अभाव कम गर्न चुनाव खर्चले खासै मद्धत नगर्ने बताउँछन् ।

‘तरलता कम गर्न चुनावी खर्चले भन्दा सरकारले पूँजीगत खर्च गर्नु पर्नेनै हुन्छ’, डाक्टर सुवेदीले भने । निर्वाचनमा अदृश्य रुपमा भएका खर्चहरु सानो सानो रकम जम्मा भएर बैंकसम्म आउन ढिला हुने भएकोले केही दिनपछि मात्र यसको प्रभाव देखिने उनको भनाइ छ ।  अहिले तरलता अभाव भएपनि असारे विकासँँगै बजारमा पैसाको कारोबार बढ्दै जाने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)