ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटको प्रतीक्षामा

२०७९ जेठ, १३  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

नेपालमा नउड्ने जेटलाई बजेट भनेर गिल्ला गरेर बिल्ला भिराइन्छ । तर के गर्ने ? जे जस्तो भए पनि महँगी र भ्रष्टाचारको बिमारीले ग्रस्त जनता अधीर भएर कुर्छन् बजेट भाषण । मानौं बजेट भाषणले सबै समस्याको छु मन्तर गरिहाल्छ । त्यसैले कुपोषणका शिकार र बेरोजगारीले लाचार एवं चुसिएका आँपका कोयासरह उभिएका गरीबीका आँखामा टाढाबाट आइरहेको बजेटको सूर्यका किरणहरूमा आशाको सञ्चार भइरहेको छ । बजेटको स्वागतमा ढोल बजिरहेकै छ र पटाखाहरू पनि पड्काइने नै छन् । सरकारी पक्षका नेताहरूका मुखमुद्रामा बडो प्रसन्नचित्त भाव देख्न पाइएको छ । बजेट चीज नै यस्तै हो, जसको नाम सुनेरै पनि अल्छी लागेर सुतिरहेकाहरू पनि एकाएक उठेर दौडन थाल्छन् ।

बजेट त्यो नवयुवती जस्तै हो, जसको इज्जत प्रत्येक पल खतरामा रहेको हुन्छ । अरू त अरू, यो बजेट नामक नवयुवतीलाई पराईबाट भन्दा आफ्नैसँगबाट बढी खतरा रहन्छ ।

छालाले मोरेको एउटा सुटकेसमा बन्द बजेट सुटकेसबाट बाहिर निक्लनेबित्तिकै टीभी, अनलाइन पोर्टल, फेसबुक, ट्विटर, ह्वाट्सएप, भाइबर, इन्स्टाग्राम आदिमा केही विज्ञ तथा अनविज्ञ जनताहरू यसको गुणगानमा दत्तचित्त भएर लागिहाल्छन् । विपक्षीहरू बजेटको आडमा सरकारलाई आक्रामक गाली गर्न तम्तयार नै रहन्छन् । बजेटको ‘इन्ट्री’ पनि दक्षिण भारतीय चलचित्रका हीरो जसरी हुन्छ । यो भिन्दै कुरा हो कि यसको कामकारबाही दक्षिणको चलचित्रको हीरोले गर्ने ‘एक्सन’ जस्तो चैं बिल्कुलै हुँदैन । बजेट त विकासको त्यो सन्तान हो, जसमाथि विकासको बुढेसकालको जिम्मेवारी हुन्छ । त्यसैले त सामाजिक  सुरक्षाका नाममा प्रत्येक बजेटमा अर्थमन्त्री दानवीर भएर प्रस्तुत हुन्छन् । यदि यो सन्तान शिष्टाचारी भएर निस्कियो भने त विकासको बुढेसकाल आरामसँग गुज्रिन्छ । तर यदि नालायक निस्कियो वा खराब संगत बस्यो भने त्यही बजेटले विकासलाई घरबाट बाहिर घोक्र्याउन अलिकति पनि समय लाग्दैन ।

बजेटको अर्को रूप पनि छ । बजेट त्यो नवयुवती जस्तै हो, जसको इज्जत प्रत्येक पल खतरामा रहेको हुन्छ । अरू त अरू, यो बजेट नामक नवयुवतीलाई पराईबाट भन्दा आफ्नैसँगबाट बढी खतरा रहन्छ । हाम्रा जनप्रतिनिधिका नीति वा नियत कतिखेर बिग्रन्छ र बजेटको काम कतिखेर तमाम हुन्छ, त्यो थाहै हुन्न । यो विषयमा ठूल्ठूला पण्डितहरूले पनि भविष्यवाणी गर्न सक्तैनन् । बजेट बन्नुभन्दा पहिले नै त्यसको तर ककसले खाने आदिको लेखाजोखा गरिएको हुन्छ । जनतालाई त केबल तर वा घ्यूविनाको दूध नै पुग्छ । त्यो दूधलाई पनि बडा आकर्षक ढंगबाट देखाइने र व्याख्या गर्ने गरिन्छ । अझ साँचो कुरा त यो पनि हो कि बजेटले जन्म लिनुभन्दा पहिले नै बिचौलियाहरू त्यो बजेटलाई आफ्नो दास बनाउन समाजमा सक्रिय र सशक्त हुन थालिसकेका हुन्छन् ।

यी बिचौलियाहरू जीवित रहेसम्म बजेटबाट कसैको हित हुन सक्छ र ? यो कुरामा कसैको दुईमत हुनै सक्तैन कि बजेट जनताका लागि जनताद्वारा नै बनाइन्छ । तर यो जनतासम्म सही अर्थमा पुग्नै सक्तैन । यो बीचमै यति आवारा बन्छ कि आफ्नो बाटो नै बिर्सन्छ । यो पनि हुन सक्छ कि यो जन्मँदैमा यसको दिशा नै परिवर्तित गर्ने षड्यन्त्र बुनिएको हुन्छ । बजेटको बबालको कमाल यो हुन्छ कि जुन दिन बजेटको घोषणा हुन गइरहेको हुन्छ, त्यस दिनअघि र केही दिनसम्म प्रत्येक व्यक्ति आफूलाई ठूलोभन्दा ठूलो नीतिकार वा अर्थशास्त्री घोषित गर्न कुनै कसर बाँकी राख्दैनन् ।

बजेटको भूकम्पबाट टीभी च्यानलहरू २–४ दिन पूर्णरूपमै हल्ली नै रहेका हुन्छन् । बजेटलाई बजेट भाषणका दिन यति हैरान पारिन्छ कि बिचरा एक दिनमै यसले मृत्युवरण गर्न पुग्छ । हुन त यसै पनि बजेटको आयु त एकै दिनको हुने हो । यो बिहान बिहान भजन, कविता, मुक्तक आदिका साथ शुरू हुन्छ अनि साँझसम्म यो दमको बिरामीले जस्तै छिटो छिटो सास तानेर मर्छ । अनि फेरि पूरै वर्षभरि जनता त्राही त्राही चित्कार गरिरहन्छन् । यो सबै थाहा हुँदाहुँदै पनि बानी परेका कारण हामी जेठ १५ को बजेटको तीव्र प्रतीक्षामै रहेका हुन्छौं ।

सबैभन्दा बढी बजेट प्रतीक्षा गर्ने त चुरोट र मदिराका व्यापारी हुन् । हरेक वर्ष कर बढाउनैपर्ने सरकारको सोच छ । यहीँनेर व्यापारीकोे खोट छ । बजेट आउनु अघिल्लो दिन नै यी सामान किनेर भण्डार भर्छन् । अनि बजेट भाषण सकेपछि कुस्त फाइदा कमाउँछन् । यो त सरकारले उनीहरूलाई दिएको बम्पर उपहार नै हो जुन हरेक वर्ष पर्ने गर्छ ।

अनि बजेट बनाउने तरिका पनि गजबको छ । न योजना, न सम्भाव्यता अध्ययन, न त्यसको विशेष औचित्य, खुरुक्क आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई खुसी पार्न योजना राख्न दबाब दियो । बजेटमा परेपछि भोट पक्का, काम गरे त अर्को वर्ष नयाँ योजना ल्याउनुपर्ने हुन्छ । त्यो झन्झट कसले गरिरहोस् । त्यसैले पुरानै योजना ल्यायो, एकले अर्कालाई दोष लगायो । काम नभए पनि ठीकै, भए पनि कमिसन खल्तीमा आइहाल्छ झनै ठीक ।

नारा लगाएर सत्तामा पुगेकाले अर्थाेक गर्न नसके पनि भत्ता बढाएर होस् र लात्ता चलाएर होस्, कुर्सीमा बाँधिइरहनु आवश्यक ठान्छ । यसका लागि उसको सबैभन्दा दरिलो हतियार नै बजेट हो । बजेटको डाडुपन्यु हातमा लिएपछि आफ्नो भागमा धेरै खन्याउनबाट कस्ले रोक्ने ?

सरकारको बजेटले नछुने करोडौं जनतालाई भने यो ‘कागलाई बेल पाक्या हर्ष न विस्मात्’ नै हो । सरकारी कर्मचारीको तलब बढ्छ, सर्वसाधारणका लागि महँगी बढ्छ । तैपनि कुर्नैपर्ने यो बजेट अजबको हुन्छ, केहीका लागि मात्र गजबको हुन्छ । तपाईं पनि पर्सिसम्म कुर्नुस् है, कतै तपाईंको भागमा फुत्त केही परिहाल्छ कि !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)