ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : वैशाखमा लक्ष्यभन्दा बढी राजस्व असुली

२०७९ जेठ, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले वैशाखमा लक्ष्यभन्दा भन्दा ५ दशमलव ०५ प्रतिशत बढी राजस्व असुली गरेको छ । आन्तरिक राजस्व विभागले कार्यालयलाई वैशाख महीनाका लागि २ अर्ब २३ करोड ३८ लाख ६२ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा २ अर्ब ३४ करोड ५९ लाख ३९ हजार रुपैयाँ असुली गरेको हो । कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्त:शुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ । यी शीर्षकमध्ये अन्त:शुल्क शीर्षकमा सबैभन्दा बढी कर असुली भएको छ भने शिक्षा सेवा कर सबैभन्दा कम संकलन भएको छ । अन्त:शुल्क शीर्षकमा विभागले कार्यालयलाई १ अर्ब ८३ करोड ५५ लाख ७७ हजारको लक्ष्य दिएकोमा २ अर्ब ९ करोड ४६ लाख ७२ हजार राजस्व असुली भएको । यस्तै शिक्षा सेवा करको लक्ष्य ४ लाख ८९ हजार रहेकोमा ११ हजार रुपैयाँ मात्र असुली भएको छ ।

अन्त:शुल्क र आयकरबाहेक अन्य शीर्षकमा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयको तथ्यांक अनुसार वैशाखमा आयकर शीर्षकमा १० करोड १० लाख २८ हजार लक्ष्य दिएकोमा १० करोड ६१ लाख २८ हजार उठेको छ । यस्तै बहालकर शीर्षकमा ५० लाख ८० हजार संकलनको लक्ष्य दिइएकोमा १९ लाख ५० हजार, ब्याजकर शीर्षकमा ५ करोड ७२ लाख ९ हजारको लक्ष्यमा १ करोड १० लाख ३४ हजार, मूल्य अभिवृद्धि करको लक्ष्य २३ करोड ३९ लाख ६ हजार रहेकोमा १३ करोड ४ लाख ६४ हजार र स्वास्थ्य सेवा शुल्क शीर्षकमा ५५ लाख ३ हजार संकलनको लक्ष्यमा १६ लाख ८० हजार रुपैयाँ असुली भएको छ ।

कार्यालयका कर अधिकृत सुशील लम्सालले कार्यालयको मुख्य स्रोत अन्त:शुल्क भएकाले यो शीर्षकमा बढी कर असुली भएको बताए । वैशाख आयकर तिर्ने महीना नभएको र मूल्य अभिवृद्धि करको अग्रिम भुक्तानी ५० प्रतिशतबाट ३० प्रतिशत कायम गरिएकाले कम राजस्व असुली भएको उनको भनाइ छ । ‘अहिले विकास निर्माण नै कम भएको अवस्था हो,’ उनले भने, ‘सबै महीनामा सबै शीर्षकमा लक्ष्य भेट्टाउन मुश्किल पर्छ ।’

अबको २ महीना राजस्व असुली हुने उपयुक्त समय भएकाले लक्ष्यभन्दा बढी संकलन हुने उनको भनाइ छ । विभागले कार्यालयलाई चालू आवको वैशाखसम्ममा १७ अर्ब २६ करोड ८० लाख ६६ हजार राजस्व संकलनको लक्ष्य दिएकोमा सो अवधिमा १६ अर्ब ६४ करोड ७९ लाख असुली गरेको छ । चालू आवमा विभागले कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)