ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेटमा समाजवादी छलाङ

२०७९ जेठ, २७  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

आगामी वर्षको बजेटलाई लिएर माथापच्ची चलिरहेकै छ । अर्थशास्त्रीहरूलाई भ्याइनभ्याइ छ । संसद्मा सत्तापक्षकै नाराबाजी छ । सरकारमाथि प्रतिपक्ष भारी छ । बजेटबारे टक शो पनि जारी छ । जनतालाई भने ऋणै ऋणको भारी छ । तैपनि बजेट महाराजको आगमनमा जनताका मनमा रंगीन सपना छाएकै छ ।

अब ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस’मा संसारकै धेरै बूढाबूढी भएको देश कुन हो भन्दा नेपाल भनेर लेखिनेछ ।

बजेट महाराजका योजनाहरूले जनतालाई सपना त दियो, तर सुविधा दिएन । सुविधा तिनै सुविधाभोगीलाई दियो, जो सुविधा भोगी नै रहेका छन् । जस्तै– सरकारी कर्मचारी, खासगरी उच्च ओहोदाका । बजेट महाराजले सचिवको पनि १५ प्रतिशत र पियनको पनि १५ प्रतिशतले तलब बढायो । यसरी लडाकु अर्थमन्त्रीले बजेटमार्फत समाजवादको नयाँ सिद्धान्त छापामार शैलीमा लादेका छन् । दिनरात समाजवादको मन्त्र जप्ने नेताका पनि नेता र प्रधानमन्त्रीले पनि त्यसमै सही छापेका छन् ।

बजेट महाराज र विकास एकअर्काका व्यावसायिक, सामाजिक, राजनीतिक शुभचिन्तक हुन्छन् । त्यै भएर त बजेट महाराज यति निपुणतासँग घण्टौं भाषण छाँट्न सक्छन्, जुन सर्वसाधारणका लागि जेरीजस्तै लाग्छ । जेरी पनि यस्तो कि टाढाबाट मीठो र स्वादिष्ट लाग्ने, तर खान खोज्ने हो भने कडा र निल्नै नसकिने खालको । बजेट महाराजका अधिकांश योजना पनि त्यस्तै, सबैले बुझ्नै गाह्रो लाग्ने खालका ।

बजेट महाराजका अनुसार काठमाडौंबाट चितवन अब एक घण्टामै पुग्ने सडक बनाउने रे । आकाशमार्ग प्रयोग गर्न लागेछन् कि क्या हो हँ ? बजेट महाराजले उद्योगमा बिजुलीको प्रवर्द्धन गर्ने क्रान्तिकारी मोडल पनि निकालेका रहेछन् । अब मासिक, सरी वार्षिक १० करोड रुपैयाँ बराबरको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महशुलमा १५ प्रतिशत छूट दिने रे । मतलब सानातिना, भारेभुरे बात । छूट चाहिने हो भने ठूलो बन, लुट चाहने भए ठूलो बन, तलब बढी खाने भए पनि ठूलो बन । सानालाई पाउने त चोटै चोट मात्र हो नि ।

बजेट महाराजको अर्को कमाल हेरौं है त ! बजेट महाराजले विदेशी लगानीको सीमा रू. ५ करोडबाट २ करोडमा झार्ने ठूलै क्रान्तिकारी घोषणा गरे । पहिलेको ५ करोड सीमा धेरै भयो भन्ठानेर २ करोडमा झारेको होला । यो सीमा पनि झारेर लाख र हजारमा पुर्‍याए विदेशी लगानीकर्ता त कति कति । पर्यटकभन्दा लगानीकर्ता धेरै आउँथे । वाह ! क्या सरकार ! यो पनि नयाँ र समाजवादी सिद्धान्त नै होला ।

समाजवादी बाटोमा हिँडिरहेको सरकारले उद्योगको प्रकृति हेरेर रकम तलमाथि गर्ने कुरा पनि आएन । साना भए नि, ठूला भए नि विदेशी लगानीलाई त समान व्यवहार गर्नैपर्‍यो नि । स्वदेशी लगानीमा पो भेद गर्न मिल्छ त ।

बजेट महाराजका अनुसार ‘विदेशी लगानी ऐन’ फेरि बनाउने रे । पहिले भएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ले काम नगरेकाले पो विदेशी लगानी नआएको रैच । अब नयाँ ऐन बनाएपछि विदेशी लगानी ह्वात्तै आउला भन्ने डर भो !

वास्तवमा बजेट भनेकै भिक्षा दिने र शिक्षा लिने ठूलो उत्सव हो । जस्तै, उहिले ८०–९० वर्ष भएसी मात्र बूढो भएको मानिन्थ्यो । अघिल्लो सरकारले ७० वर्षमै बूढो भएको मान्ने व्यवस्था गर्‍यो । अहिलेको सरकारले ६८ वर्षलाई बूढाबूढी भन्दियो । अब आउने सरकारले ६० वा ६५ वर्ष भएकालाई बूढोमा दर्‍याउने पक्कापक्की छ । अब ‘गिनिज बुक अफ वल्र्ड रेकडर््स’मा संसारकै धेरै बूढाबूढी भएको देश कुन हो भन्दा नेपाल भनेर लेखिनेछ ।

सत्तापक्षका लागि प्रत्येक वर्षझैं यो बजेट ऐतिहासिक छ । विपक्षीका अनुसार चैं यो सबैभन्दा बकवास बजेट हो । यसले गरीबी र महँगी बढाउँछ र देशको अर्थव्यवस्था टाट पल्टाउँछ । आफैले बनाएको कार्यक्रम पनि भूतपूर्व भएपछि विरोध गर्नैपर्छ । यस्तो त शास्त्रमै पो लेख्या छ कि क्या हो ।

एक सर्वसाधारणलाई भने यति मात्र थाहा छ कि सरकारले हरेक वर्ष बजेट लिएर आउँछ र बजेटको मतलव धेरै पैसा हो । उसलाई यो चैं थाहा हुन्न कि सरकार यो बजेटवाला पैसा ककसलाई दिन्छ, कसरी दिन्छ र बजेटलाई लिएर मानिसहरू यति धेरै चर्चा परिचर्चा किन गरिरहन्छन् ।

संसद्को रोष्ट्रममा बसेर अर्थमन्त्रीले पटकपटक पानी पिएर यो सन्देश दिन्छन् कि पानी शरीरका लागि लाभकारी हुन्छ भनेर । तर जनताले पिउने पानी पाएका छन् वा छैनन्, दुई छाक राम्रोसँग खान पाएका छन् वा छैनन् भनेर शायदै थाहा पाउँछन् । त्यसैले त प्रत्येक वर्ष पढिने बजेट देशकै सबैभन्दा ठूलो जादू र रहस्य हुन्छ, जुन १०० प्रतिशत जनताका नाममा बन्छ । तर १० प्रतिशत मानिसका लागि ९० प्रतिशत मानिसले देशहितमा आफूलाई बलिदान दिनुपर्ने हुन्छ । त्यसैले बजेट एउटा यस्तो एक्लो बादल हो, जो आकाशबाट बर्सन त बर्सन्छ । तर जमीनसम्म आउँदा आउँदै सुकिहाल्छ ।

 बजेट यस्तो एक्लो बादल हो, जो आकाशबाट बर्सन त बर्सन्छ । तर जमीनसम्म आउँदा आउँदै सुकिहाल्छ ।

जनता त सधैं बिचरा न हो । उसको लाचारी नेताहरूलाई राम्रैसँग थाहा छ । किनकि दशकौंदेखि उनीहरूले जनताका नाडी राम्रैसँग छामेका छन् र जनताको ब्याण्ड कसरी बजाउने राम्रैसँग जानेका छन् । जनता बेलाबेलामा रुन्छन्, कराउँछन् र अन्त्यमा फेरि गएर नेताकै शरणमा पर्छन् । अनि न नेता गजक्क पर्छन् ।

हो, बजेट एक ‘तिलस्मी तहखाना’ हो । यसको नजिक जानबाट बच्नु नै हितकर हुन्छ । आफ्नो खोपडीको ऊर्जा बचाइराख्नु ठीक हुन्छ । किनकि यदि बजेटको लाभहानि जान्न, बुझ्नमा ऊर्जा खर्च गर्ने हो भने पछि रिचार्ज गराउन समस्या आउन सक्छ । बाँकी त तपाईंको मर्जी ।

बजेट महाराजको हरेक वर्ष सवारी आउनासाथ ताली बजाउनु र संयमित भएर बाँचिरहने मात्र हाम्रो नैतिक कर्तव्य हो । बजेट महाराजले बजारमा आफ्नो काम देखाउन शुरू गरिसकेका छन् । तपाईं आफ्नो खल्ती र शरीरको चैं ख्याल गर्दै गर्नुहोला है !

अँ साँची, सरकारले आइतवार पनि दिँदै आएको साप्ताहिक बिदा खारेज गर्‍यो । आइतबारे बिदा पो असफल भाको हो । अब सोमवार बिदा गर्ने कोशिश गर्ने पो हो कि ? हाम्रो सरकार त सारै बुद्धिमान् पो छ त । परीक्षण नगरी केही काम गर्दै गर्दैन । तर सुखद संयोग यो छ कि बेलायतमा जुन दिन हप्तामा चार दिन मात्र काम गर्ने भन्ने निर्णय बाहिर आयो, त्यसै दिन नेपाल सरकारले दुईदिने बिदाबाट एकदिनेमा झार्‍यो । तर कर्मचारी बन्धुहरू निराश भइहाल्नु पर्दैन है ! सरकार परीक्षणमै छ । सरकारले बेलायतबाट सिकेर फेरि एकैचोटि हप्तामा चारदिने बिदा दिने चलन ल्याउँछ कि, के था ? त्यसैले अहिले सरकारले बेलाबेलामा गरिरहने यस्ता परीक्षणहरूबारे बहस गरेर कहीँ पुगिँदैन । बरु हिँड्नोस् संसद्तिर बजेट मेला हेर्नलाई !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)