ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दक्ष जनशक्ति उत्पादनका लागि ‘इन्डष्ट्री एकेडेमिया डाइलग’

२०७९ जेठ, २९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । दक्ष जनशक्ति उत्पादन गरी नेपालमै आपूर्ति गर्ने विषयमा उद्योगी व्यवसायी र शैक्षिक क्षेत्रका विज्ञहरूबीच छलफल गरिएको छ । चितवनस्थित सप्तगण्डकी क्याम्पसको आयोजना र उद्योग वाणिज्य संघको सहआयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा चितवनको नारायणगढमा शुक्रवार ‘इन्डष्ट्री एकेडेमिया डाइलग’ कार्यक्रम गरिएको हो ।

विश्वविद्यालय तथा क्याम्पसका प्राज्ञिक व्यक्ति, उद्योगी व्यवसायी, बैंकर लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा चारओटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा कृषि तथा वन विश्वविद्यालय रामपुरका रजिष्ट्रार डा. शारदा थपलियाले विश्वविद्यालयका उत्पादनलाई निजीक्षेत्रसँग जोड्नुपर्ने बताइन् । नेपालमा दक्ष जनशक्तिको अभावका कारण औद्योगिक क्षेत्रको उत्पादन अपेक्षा अनुसार हुन नसकेको भन्दै उनले  विदेश पलायन हुने दक्ष जनशक्तिलाई रोक्नुपर्ने धारणा राखिन् ।

नेपालको औद्योगिक बजारमा यहाँका विश्वविद्यालयका पाठ्यक्रम नमिल्ने भएकाले पनि दक्ष जनशक्तिको अभाव हुने गरेको उनको भनाइ थियो । ‘हामीले निर्वाहमुखी उत्पादनलाई पनि परिमार्जन गर्नुपर्छ,’ उनले भनिन्, ‘पाठ्यक्रमलाई समेत समय अनुसार परिमार्जन गर्दै लैजानुपर्छ ।’ अनुसन्धानको काम र उद्योगको समस्या समाधान गर्न पनि विश्वविद्यालय सक्रिय हुनुपर्ने उनले बताइन् ।

उक्त अवसरमा डा. कपिलदेव सुवेदीले दक्ष जनशक्तिको अभावमा नेपालमा उत्पादन र रोजगारीमा ठूलो असर पुगेको बताए । ‘नेपालमा कलेज तहकै वार्षिक साढे पाँच लाख विद्यार्थी उत्पादन हुन्छन्,’ उनले भने, ‘तीमध्ये हरेक वर्ष साढे ४ लाख त वैदेशिक शिक्षाकै लागि बाहिर जाने गरेका छन् ।’

निजीक्षेत्र र विश्वविद्यालयबीचको समन्वय तथा सहकार्यको अभावमा नेपालले दक्ष जनशक्ति गुमाउँदै गएको उनको भनाइ थियो । दक्ष जनशक्तिका लागि छिमेकी राष्ट्रको भर पर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । निजीक्षेत्र र विश्वविद्यालयबीचको दूरी घटाई स्वदेशी जनशक्तिलाई उच्चतम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यपत्र प्रस्तुत गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले निजीक्षेत्रले खोजेको जनशक्ति अनुसार विश्वविद्यालयले जनशक्ति उत्पादन र आपूर्ति गर्नुपर्ने बताए । ‘विश्वविद्यालयले अर्गनाइजेशन अनुसारको जनशक्ति उत्पादन गरेको छ कि छैन र चाहिने जनशक्ति कसरी उत्पादन गर्ने विषयमा केन्द्रित हुनुपर्छ,’ श्रेष्ठले भने । दक्ष जनशक्ति पनि संस्थाको पूँजी भएकाले त्यसलाई नयाँ जनशक्ति र पुराना जनशक्ति गरी वर्गीकरण गर्दा जनशक्ति आपूर्ति गर्न सहज हुने उनको भनाइ थियो ।

सप्तगण्डकी क्याम्पसका वरिष्ठ उपाध्यक्ष रामाकान्त सापकोटाले रोजगारी, उत्पादन र प्राज्ञिक क्षेत्रको खाडल पूर्ति गर्न छलफलका लागि कार्यक्रम आयोजना गरिएको बताए । अन्य विकसित मुलुकमा जस्तो दक्ष जनशक्ति नेपालमा नभएको भन्दै उनले यहाँका विश्वविद्यालयले बजार अनुसारको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वसहायक डिन डा. ध्रुवराज पोख्रेल, नेपाल बैंकर्स एशोसिएशनका बाग्मती प्रदेश सदस्य सचिव सुवर्ण बुढाथोकी लगायतको सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)