ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगको संरक्षणमा समग्र पहुँचको अवधारणा

औद्योगिक कच्चा पदार्थको शृंखला नबुझ्दा समस्या

२०७९ असार, १  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar कृष्णराज बजगाईं

हालै संसद्मा प्रस्तुत बजेटमा नेपाली उद्योगको संरक्षणका लागि कच्चा पदार्थको आयातमा भन्सार छूटको विषय विवादित बन्न पुगेको छ । यस्तो छूटले यस्तो कच्चा पदार्थ उत्पादन गर्ने नेपाली उद्योगहरू मारमा पर्ने भन्दै सरोकारवालाहरूले निरन्तर असन्तुष्टि प्रकट गरिरहेका छन् र उक्त प्रावधानमा संशोधनको माग गरिरहेका छन् । बजेट तर्जुमा गर्दामा नै उद्योगको समग्र पक्षको ज्ञान नहुँदा यस्तो समस्या देखिएको हो । संरक्षणको नीति अंगीकार गर्दा त्यसले पार्ने बहुआयामिक प्रभावका बारेमा मिहीन अध्ययन नगरी लहड, लहर र रहरका आधारमा निर्णय गर्दा यस्ता समस्या देखा पर्ने गर्छन् । सारमा भन्नुपर्दा कच्चा पदार्थको परिभाषा, तह, रूपान्तरण एवम् कच्चा पदार्थ आापूर्तिको विद्यमान अवस्थाका सबै पक्षलाई सम्बोधन गर्ने परिपाटी मुुलुकमा विकास हुन नसक्दा यस्तो अवस्था सृजना भएको हो । जसरी शरीरका सबै अंगको समानुपातिक विकास आवश्यक देखिन्छ, सोही मान्यतामा उद्योगका सबै पक्षको समानुपातिक विकास जरुरी छ । त्यसो हुन नसक्दा नेपालको उद्योग क्षेत्र अप्रतिस्पर्धी हुँदै गएको छ ।

कच्चा पदार्थको परिभाषा, तह, रूपान्तरण एवम् कच्चा पदार्थ आापूर्तिको  विद्यमान अवस्थाको सबै पक्षलाई सम्बोधन गर्ने परिपाटी मुलुकमा विकास हुन नसक्दा समस्या सृजना भएको हो ।

उदाहरणका लागि तयारी पोशाक उद्योगलाई नै लिन सकिन्छ । तयारी पोशाकका लागि आधारभूत कच्चा पदार्थ भनेको कपडा हो । कपडाको आधारभूत कच्चा पदार्थ धागो हो र धागोको आधारभूत कच्चा पदार्थ प्राकृतिक रेशा र सेन्थेटिक रसायनहरू हुन्् । तयारी पोशाक उद्योगका लागि गुणस्तरीय, भरपर्दो र सस्तो दरमा कपडा आपूर्ति मुख्य सरोकारको विषय हो । मूल्य, गुणस्तर, आपूर्तिको आवृत्ति (समय) र विश्वास तयारी पोशाक उद्योगका लागि कपडा उद्योगसँग रहेका अपेक्षाहरू हुन् । त्यही अपेक्षा कपडा उद्योगको धागो उद्योगसँग रहेको हुन्छ । यसै गरी धागो उद्योगको सोही प्रकृतिको अपेक्षा प्राकृतिक रेशा उत्पादक र सेन्थेटिक रसायन उत्पादक र आपूर्तिकर्तासँग रहेको हुन्छ । तसर्थ कुनै पनि उद्योगका लागि कच्चा पदार्थको आपूर्ति अहम् महत्त्वको विषय हुने गर्छ ।

कच्चा पदार्थसँगै सम्बद्ध उद्योगका सहायक उद्योगहरूको पनि उत्तिकै महत्त्व हुने गर्छ । उदाहरणका लागि तयारी पोशाक उद्योगका सहायक उद्योगहरू लेबल, ट्याग उत्पादक, प्याकेङिज सामग्री उत्पादक, बटन, जिपर, बक्रम, सियो, धागो उत्पादक तथा मेशिनरी मर्मत सम्भार क्षेत्रलाई लिन सकिन्छ । प्रधान उद्योगजस्तै सहायक उद्योगका पनि कच्चा पदार्थ आपूर्ति र तिनका पनि सहायक उद्योगहरूको आफ्नै वृत्त रहेको हुन्छ । तसर्थ प्रधान उद्योगका लागि सहायक उद्योगका उत्पादनको मूल्य, गुणस्तर, आपूर्तिको आवृत्ति (समय) र विश्वासको पनि सोहीअनुरूप महत्त्व हुन्छ ।

प्रधान र सहायक उद्योगका लागि आवश्यक दक्ष जनशक्तिको सहज आपूर्ति झन् महत्त्वको विषय बन्न पुगेको हुन्छ । जनशक्ति विकास र उपलब्ध जनशक्तिको कार्यक्षमता विकास यस क्षेत्रका अपरिहार्य पक्षहरू हुन् ।

बजारमा सम्बद्ध उद्योगको प्रवेश, पहिचान स्थापना र विस्तारजस्ता क्रियाकलाप पनि सम्बद्ध उद्योगका महत्त्वपूर्ण पक्षका रूपमा रहेका छन् ।

यसका साथै सम्बद्ध उद्योगका लागि वातावरण पक्ष पनि उत्तिकै महत्त्वको रहेको हुन्छ । प्रक्रियागत सहजता, प्रशासनिक सुगमता, सरकार र जनताको समर्थन, वित्त व्यवस्थापन, करका दरहरू तथा भौतिक सुरक्षाजस्ता पक्षहरूको सबलता र दुर्बलतामा उपलब्धता र अनुपलब्धतामा सम्बद्ध उद्योेगको सबलता र दुर्बलता निर्धारण गर्छ ।

यसरी हेर्दा एउटा उद्योगलाई सबल बनाउन माथि उल्लिखित सबै पक्ष सबल हुन जरुरी छ । तयारी पोशाक उद्योगको जग बलियो गर्ने हो भने यस क्षेत्रको सर्वांगीण विकासमा ध्यान दिनुपर्ने हुन्छ । सरकारबाट प्राप्त छूट सुविधा, सहुलियत, प्रोत्साहन, अनुदान, प्राथमिकता र संरक्षण प्रधान उद्योग, सहायक उद्योग, जनशक्ति उत्पादन, बजार विस्तार तथा वातावरण सृजनाजस्ता सबै क्षेत्रमा समानुपातिक रूपमा प्राप्त हुन जरुरी छ । यसो गर्दा आधारभूत कच्चापदार्थ उत्पादनदेखि प्रशोधित वस्तु उत्पादनसम्मका हरेक चरण र सहायक चरणहरू सबल हुन गई समग्र उद्योगको जग बलियो हुन जान्छ । तयारी पोशाक उद्योगको कुरा गर्दा सरकारबाट प्राप्त छूट सुविधा, सहुलियत, प्रोत्साहन, अनुदान, प्राथमिकता र संरक्षण प्राकृतिक रेशा, सेन्थेटिक रसायन आयातकर्तादेखि लागू हुने गरी निर्धारण गरिनुपर्छ । सबैभन्दा मुनिको जगलाई बढी प्राथमिकता दिँदै जाँदा माथिल्ला तहहरू सोहीअनुरूप स्वयम् सबल हुँदै जाने हुन्छ । यसले गर्दा एउटा उद्योगको एउटा क्षेत्रले सुविधा प्राप्त गर्दा सोही उद्योगको अर्को क्षेत्र कमजोर हुने परिपाटीको अन्त्य हुन जान्छ । वर्तमान समयमा धागो उद्योग, कपडा उद्योग र तयारी पोशाक उद्योगबीच देखा परेका विरोधाभासहरूलाई सम्बोधन गर्ने उपाय पनि यही हो ।

यसका लागि सर्वप्रथम सम्बद्ध उद्योगको समग्र क्षेत्र समेट्ने गरी एउटा डाटाबेस तयार गर्नुपर्छ । उक्त डाटाबेसमा सम्बद्ध उद्योग र तिनका सहायक उद्योगलाई चाहिने कच्चा पदार्थ, मेशिनरी तथा आवश्यक पर्ने जनशक्ति, कर र वित्त व्यवस्थापन, प्रक्रियागत र प्रशासनिक पक्षहरूका बारेमा तथ्यांक र सूचनाहरू संग्रहित हुनुपर्छ ।

उपर्युक्त डाटाबेसलाई आधार मान्दै एचएसकोडको वर्गीकरण गरिनुपर्छ । यसका लागि एचएसकोडलाई १० अंकमा विस्तार गरिनु आवश्यक छ । यसमा पछिल्लो नवौं र दशौं अंक चाहिँ प्रयोजनका लागि छुट्ट्याउन आवश्यक छ । यसले आयात आन्तरिक खपतका लागि भएको हो कि निर्यातजन्य उद्योगका लागि भएको हो कि भन्ने प्रयोजन स्पष्ट हुन्छ । उदाहरणका लागि कपासको आयात आन्तरिक खपतका लागि भएको हो कि धागो उत्पादनका लागि भएको हो कि कपडा उत्पादनका लागि भएको हो कि भन्ने यस वर्गीकरणबाट स्पष्ट हुन्छ । यस्तै कपडा आयात आन्तरिक खपतका लागि भएको हो कि तयारी पोशाक उत्पादन गरी निर्यात गर्ने प्रयोजनका लागि भएको हो त्यसका बारेमा पनि यस वर्गीकरणबाट थप स्पष्ट हुन्छ । यस्तै यही कोडलाई आधार मानी उक्त वस्तु आधारभूत कच्चा पदार्थ हो कि प्रशोधित कच्चा पदार्थ हो कि प्रशोधित उत्पादन हो, ती वस्तु उत्पादन गर्न कुन मेशिनरीको प्रयोग हुन्छ, केकस्तो जनशक्ति आवश्यक पर्छ र उक्त वस्तुका लागि के कस्ता वित्तीय सुविधा, आर्थिक प्रोत्साहन र सहुलियतहरू प्राप्त छन् भन्नेबारेमा आवश्यक तथ्यांक र सूचनाहरू राखिनुपर्छ । यसका लागि कुन इनपुटमा कति सुधार गरे उत्पादन र निर्यातमा कति वृद्धि गर्न सकिन्छ भन्ने विषयमा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रक्षेपण गर्न सक्ने सफ्टवेयर विकास गरी सोहीअनुरूप भन्सार राजस्व, करका दरहरू तथा अनुदान, प्रोत्साहन र सहुलियतका आँकडाहरू निर्धारण गरिनुपर्छ ।

यसो गर्दा एउटा उद्योगलाई संरक्षण गर्दा अर्को उद्योग धराशयी हुने वर्तमान परिपाटीको अन्त्य हुने देखिन्छ । यसरी जाँदा वर्तमान समयमा कपास उत्पादक, धागो उत्पादक, कपडा उत्पादक र तयारी पोशाक उत्पादकका बीच एकलाई संरक्षण गर्न खोज्दा अर्को उत्पादक धराशयी हुने समस्या स्वतः समाधान हुने देखिन्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)