असार १५, काठमाडौं । कोही धान रोप्दै छन् त कोही ब्याड निकाल्दै । कोही भने एकअर्कालाई हिलो छ्याप्दै छन् ।
राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान केन्द्रले बुधवार आयोजना गरेको रोपाइँ कार्यक्रममा यस्तै दृश्य देखियो ।
कार्यक्रमका प्रमुख आकर्षण थिए– कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव । उनले मेसिन चलाएर धान रोपेको देखेर सहभागी दंग देखिन्थे ।
कार्यक्रममा मन्त्रालय र कृषि विभागका कर्मचारीसँग स्थानीय पनि सहभागी थिए । बूढादेखि तन्नेरीसम्म रोपाइँमा सहभागी थिए । उनीहरूकाे अनुहारमा हाँसाे देखिन्थ्याे ।
रोपाइँ चलिरहँदा झरी पर्याे । तर, रोपाहारहरू रोकिएनन् । प्लास्टिक ओढेर धान रोपे उनीहरूले ।