असार १८, काठमाडौं । गत शुक्रवार काठमाडौंको अनामनगरस्थित सिंहदरवार दक्षिण गेटअगाडि रहेको जिल्ला निर्वाचन कार्यालयको परिसरमा मानिसको लामो लाइन थियो । युवादेखि ज्येष्ठ नागरिकसम्म लाइनमा थिए ।लाइनमा दूधेबालक बोकेर ल्याएकी महिला पनि थिइन् ।
उनीहरू लाइन बस्नुको कारण थियो– मतदाता परिचयपत्र बनाउन ।
मतदाता परिचयपत्र बनाउन दिनभर घाममा लाइन बस्नुपर्दा सकसमा देखिन्थे उनीहरू ।
लाइन लामो भएकाले मतदाता परिचयपत्र बनाउन घन्टौं कुर्नुपरेको उनीहरूको दुखेसो थियो । तीमध्ये कतिपयले मतदाता नामावली संकलन प्रक्रिया झण्झटिलो भएको भन्दै रिससमेत पोख्दै थिए । भीड व्यवस्थापनमा सरोकारवाला निकायले चासो नदिएको उनीहरूको गुनासो थियो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र लिन आउनेको लाइन व्यवस्थापनका लागि अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलन गरिन लागिएको बताए । ‘अनलाइनमार्फत मतदाता नामावली संकलनका लागि अहिले सफ्टवेयर बनाउने काम भइरहेको छ । साउन १ गतेबाट सफ्टवेयर प्रयोगमा आउँछ होला,’ उनले भने ।
त्यसपछि सरकारी कार्यालयमा मतदाता परिचयपत्र बनाउन आउनेको लाइन स्वतः घट्ने उनको दाबी छ । ‘अहिले कार्यालयमै मतदाता नामावलीको फर्म भर्ने गरिएकाले भीड बढेको हो । अनलाइन प्रविधिमार्फत फर्म भर्न थालिएपछि यो भीड ह्वात्तै घट्छ,’ उनले भने ।
अहिले जिल्ला प्रशासन, इलाका प्रशासन वा निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन भइरहेको छ ।