ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यात सम्बन्धमा सूचना प्रवाहको महत्त्व

निर्यातकर्ताले खोज्छन् यी पाँच प्रश्न

२०७९ असार, २३  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar कृष्णराज बजगाईं

निर्यात प्रवर्द्धनको सबैभन्दा महत्त्वपूर्ण र अहम् कार्य भनेको सेवाग्राहीको मागबमोजिम यथार्थ सूचना सही समयमा प्रभावकारी रूपमा उपलब्ध गराउनु हो ।

यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको निर्यात क्षेत्रसँग सम्बद्ध सेवाग्राहीले माग गर्ने सूचनाको प्रकृति हो । यी सूचना वर्गीकृत गरी तिनलाई प्रभावकारी रूपमा सेवाग्राहीसमक्ष पुर्‍याउनु निर्यात प्रवर्द्धन अभियानको मुख्य कार्य हो । यस अभियानमा संलग्न सरकारी, निजी र तथा गैरसरकारी संघसंस्थाको दायित्व पनि यही नै हो ।

निर्यातसम्बन्धी प्रश्नहरूको व्यवस्थित उत्तर दिन सक्नुमा निर्यात प्रवर्द्धन निकायको औचित्य पुष्टि हुन्छ । तर, निर्यात क्षेत्र सम्बद्ध सेवाग्राहीले सोध्ने प्रश्नहरूको सही उत्तर दिन थुप्रै चुनौती छन् ।

सारमा भन्नुपर्दा निर्यात क्षेत्रसम्बद्ध सेवाग्राहीका पाँचओटा प्रश्न प्रधान रहेका हुन्छन् । तीमध्ये बजार कहाँ छ ? भन्ने प्रश्न कुनै पनि निर्यात प्रवर्द्धक निकायमा कार्यरत कर्मचारीले सबैभन्दा धेरैपटक सामना गर्नुपर्छ । यो प्रश्नको उत्तर पाउनासाथ सेवाग्राहीले सोध्ने अर्को बढी आवृत्तियुक्त प्रश्न सम्बद्ध वस्तुका लागि सम्बन्धित बजारमा क्रेता कम्पनी कोको छन् ? भन्ने हो ।

निर्यातसम्बन्धी सेवाग्राहीले सोध्ने अर्को महत्त्वपूर्ण प्रश्न भनेको सम्बद्ध देशमा वस्तु निर्यात गर्दा लाग्ने भन्सार र गैरभन्सार महसुल, गुणस्तरका प्रावधानसहित पेश गर्नुपर्ने कागजातहरू केके हुन् भन्ने हो । यस्तै वस्तु निर्यात गर्दा कार्गोलगायत ढुवानीसँग सम्बद्ध प्रक्रिया केके हुन् ? भन्ने प्रश्नहरू पनि त्यत्तिकै आवृत्तिमा सोधिने गरिन्छ ।
यसै गरी वस्तु निकासी गर्दा स्वदेशमा पूरा गर्नुपर्ने प्रक्रिया केके हुन् ? भन्ने पनि समानान्तर रूपमा बढी सोधिने प्रश्न हो ।

यी प्रश्नको व्यवस्थित उत्तर दिन सक्नुमा निर्यात प्रवर्द्धन निकायको औचित्य पुष्टि हुन्छ । तर, निर्यात क्षेत्र सम्बद्ध सेवाग्राहीले सोध्ने यी पाँच थरी प्रश्नको सही उत्तर दिन थुप्रै चुनौती विद्यमान छन् । सबैभन्दा पहिलो चुनौती यी पाँचओटा प्रश्नको उत्तर दिन आवश्यक सूचनाको एकीकृत भण्डार सृजना गर्नु हो । यी सूचनाका स्रोत अन्तरराष्ट्रिय संघसंस्था, जस्तै : आईटीसी, सम्बद्ध देशका उद्योग वाणिज्य संघ, अनुसन्धानकर्ता, सम्बद्ध व्यवसायी, नेपाल सरकारका संयन्त्र, अनुसन्धान तथा सर्वेक्षणहरू रहेका हुन्छन् । यसरी प्राप्त सूचनालाई सञ्चारयोग्य र बोधगम्य बनाउने अर्को चुनौती पनि छ । सूचनाहरूलाई व्यवस्थित रूपमा वर्गीकृत गरी सेवाग्राहीले बुझ्ने भाषामा पस्किन सकिएन भने ती सूचना भण्डारहरू अनावश्यक बोझका रूपमा रहन जान्छन् ।

माथिका पाँचओटा प्रश्नको उत्तर दिन चाहिने सूचना भण्डार तथा त्यसको प्रभावकारी प्रवाहका लागि संस्थागत संरचनाको स्थापना र सञ्चालन, अधिकार क्षेत्रको स्थापना तथा उत्साहयुक्त दक्ष जनशक्तिको व्यवस्थापन विशेष गरी नेपालजस्ता अतिकम विकसित मुलुकका लागि सबैभन्दा कठिन चुनौतीका रूपमा खडा हुने गर्छन् ।

यी चुनौतीलाई दृष्टिगत गर्दै नेपालले पनि निर्यातक्षेत्रसँग सम्बद्ध सूचना प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक पहलकदमी लिनु जरुरी भइसकेको छ । व्यापार प्रवर्द्धन गर्ने हेतुले २०२७ सालमा स्थापित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (तत्कालीन व्यापार प्रवर्द्धन केन्द्र) को एउटा स्तम्भका रूपमा व्यापार सूचना प्रवाह पनि रहेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको यो कार्यक्षेत्रलाई अझ प्रभावकारी बनाउँदै निर्यातसम्बन्धी सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन जरुरी छ । यसका लागि गरिएको व्यवस्थाका तीन पक्षमा सुधार हुन जरुरी छ । पहिलो भनेको माथिका पाँचओटा प्रश्नको उत्तर आउने गरी पाँचओटा डाटाबेस सृजना गर्नुपर्छ । ती डाटाबेसको चरित्रका अनुसार सूचनाहरू नियमित रूपमा अपडेट गर्ने गरी सोहीअनुरूप उत्साहयुक्त दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्छ । यसै गरी ती डाटाबेसमा भण्डारण गरिएका तथ्यांकहरूलाई नियमित रूपमा वर्गीकृत गरी सार्वजनिक गर्न मिल्ने खालका सूचनाहरू सबैको पहुँच हुने गरी वेबपेज र पुस्तिकाका रूपमा नियमित प्रकाशन गर्ने गर्नुपर्छ । बाँकी सूचनाहरू सेवाग्राहीको माग र सूचनादाताको शर्तको अधीनमा रही निर्यातकर्तालाई उपलब्ध गराउने व्यवस्था हुन पनि जरुरी देखिन्छ । यसका लागि हेल्पडेस्क सर्च इन्जिनको व्यवस्था गरी उक्त सर्च इन्जिनमा सेवाग्राहीलाई निर्यातसँग सम्बद्ध माथिका पाँचओटा प्रश्नको सिलसिलेवार उत्तर दिने प्रविधिको विकास हुनुपर्छ ।

उक्त उत्तरका साथ केही पूरक सूचनाहरू प्नि सर्च इन्जनमा उपलब्ध हुन जरुरी छ । उदाहरणका लागि नेपाली सेवाग्राहीले अस्ट्रेलियामा चिया निर्यात गर्न चाहेको खण्डमा उसले सूचना भण्डारमा उपर्युक्त पाँचओटा प्रश्नको उत्तरका साथमा केही थप सूचना चाहिरहेको हुन्छ । यसमा अस्ट्रेलियाले चिया कति आयात गर्छ ? चिया कुन मूल्यमा आयात गर्छ ? चिया कुन मौसममा बढी आयात गर्छ ? कुनकुन देशबाट कतिकति चिया आयात गर्छ ? अस्ट्रेलियाले कुन प्रकारको चिया आयात गर्छ ? उसको आन्तरिक उत्पादन कति छ ? भविष्यमा अस्ट्रेलियामा चियाको माग कति बढ्न सक्छ ? वृद्धि भएको मागमा निर्यात सम्भावना कति छ ? भन्ने जस्ता कुरा पनि उक्त सूचनामा पूरक सूचनाका रूपमा दिनु आवश्यक हुन्छ । यसो गर्न सकेको खण्डमा सेवाग्राहीलाई निर्यातसँग सम्बद्ध कोर सूचनाका अतिरिक्त बजार सम्बद्ध सूचनाहरू पनि प्राप्त हुन गई उक्त बजारमा आफ्ना उत्पादनको निर्यात रणनीति बनाउन पनि थप मद्दत मिल्ने देखिन्छ ।

उपर्युक्त कार्यलाई व्यवहारमा उतार्न व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा सञ्चालित हेल्पडेस्क र नेपाल ट्रेड इन्फरमेशन पोर्टललाई एकीकृत गरी इन्टिग्रेटेड इन्फरमेशन डिसिमिनेशन साइट सञ्चालनमा ल्याउन जरुरी छ । यसरी माथि वर्णन गरिएको ढाँचामा पाँचओटा प्रश्नका सूचनाहरू वैज्ञानिक रूपमा संकलन, वर्गीकरण र प्रवाह गर्ने व्यवस्था गर्ने हो भने यसले मुलुकका निर्यातजन्य क्षेत्रका सेवाग्राहीलाई आफ्नो निर्यात व्यापार आरम्भ र विस्तारका लागि ठूलो योगदान दिने देखिन्छ । यसका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले अन्य सरकारी निकायले सम्पादन गरी रहेका र निजीक्षेत्रले समेत सम्पादन गर्न सक्ने प्रकृतिका कार्यमा साधनस्रोत परिचालन गर्नुको साटो उपर्युक्त पाँचओटा प्रश्नको उत्तर आउने खालका सूचना संकलन, अनुसन्धान तथा सूचना प्रवाहका क्षेत्रका आफ्ना क्रियाकलाप केन्द्रित गर्नु उपयुक्त देखिन्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)