विश्वमा एउटा यस्तो देश छ, जहाँ विश्वमै नभएको शासन चलिरहेको छ, रूपमा लोकतन्त्र तर सारमा भेडातन्त्र । त्यो देशको नाम आफै पत्ता लगाउनु होला । त्यहाँको शासनलाई तपाईं प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र, भोटतन्त्र, लुटतन्त्र, भीडतन्त्र वा भाँड–भैलोतन्त्र भन्न सक्नुहुन्छ । तर सारमा त्यो भेडातन्त्र नै हो ।
यी भेडाहरू उद्दण्ड, अनुशासनहीन र उच्छृंखल त छन् नै, साथै यी नियम तोड्नु, सीसीटीभी फोड्नुमा निकै मजा लिन्छन् । यी पदक लिने वा दिने, शालिक बनाउने वा ढलाउनेमा बढी नै विश्वास गर्छन् ।
भेडा देशको संविधानअनुसार भेडातन्त्र भनेको भेडाका लागि, भेडाद्वारा, भेडाले नै गर्ने शासन हो । यो तन्त्रमा भोटको नदी तरेपछि लम्पट, लफंगा, अपराधी, भ्रष्ट, टकनटाट भेडा पनि जनताको भाग्यविधाता अर्थात् विधायक बन्न सक्छ । विधायक बनेपछि मन्त्री, प्रधानमन्त्री बन्ने बाटो पनि खुल्छ । विधायक नबने पनि मन्त्री बन्न सक्छ । मानसिक बिरामी स्वास्थ्यमन्त्री बन्न सक्छ, अनपढ पनि शिक्षामन्त्री बन्न सक्छ, लुटेरा पनि अर्थमन्त्री बन्न सक्छ । अनि त के ? हेर्दाहेर्दै सरकारी धन, अर्थात् भेडाले कर तिरी तिरी भेडाकै सुविधाका लागि खर्च गर्न उठाइएको पैसा लुट्ने मौका विधायक, मन्त्रीलाई हुन्छ । अनि समर्थनमा भेडाहरू उफ्रिन्छन्, विरोधमा पनि भेडाहरू नै हुन्छन् । सबैतिर भेडैभेडाले भेडातन्त्रलाई जसरी भए पनि बलियो बनाएरै छाड्छन् ।
भेडातन्त्रका पनि तीन अंग छन्, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका । भन्नका लागि त त्यहाँ एक थान संविधान पनि छ । तर तीनै अंगका प्रभावशाली भेडाहरूले आआफ्नो सुविधा अनुसार संविधान च्यात्दै शर्टपाइन्ट सिलाउँछन्, कसै कसैले यहाँ भन्न नमिल्ने टालो पनि बनाउँछन् । संविधान, कानूनका मसिना छिद्रबाट पनि हात्ती निक्लन्छन्, तर बिचरो झिँगा चैं बीचमै अड्किएर हैरान हुन्छ ।
यी भेडाहरू थुप्रै रंगढंगका छन् । कुनै भेडा रूप परिवर्तन गर्न सिपालु, कुनै स्वरूप फेर्न । कुनै कुनै भेडा त महान् बुद्धिजीवी । यी भेडा सेता रङका हुन्छन्, जसले बिस्तारै बिस्तारै राज्यका तीनै अंग चरेर सक्छन् । यस्ता भेडा कुनै बेला वाचाल त कुनै बेला लाटो र अन्धो पनि बनिदिन्छन् ।
पाखण्ड र धूर्तता यिनले जन्मैदेखि लिएर आएका हुन्छन् । बुद्धिजीवी भेडाहरूमा भित्रभित्रै एकआपसमा अचम्मको एकता हुन्छ । यिनीहरू ‘तिमी मलाई उठाऊ, म तिम्लाई उठाउँछु’ अर्थात् गठबन्धने नीतिमा विश्वास राख्छन् । तैपनि मौका पाउनासाथ अर्को भेडालाई लात्ता हान्न खप्पिस हुन्छन् ।
धेरैजसो भेडाहरू रातो रङका हुन्छन् । सामूहिक सुविधाका कुरामा मिल्ने, तर अरू कुरामा एकआपसमा कहिल्यै मिल्न नसक्ने । मौका पाए एउटाले अर्कोलाई सिध्याइहाल्ने । यिनीहरू आफूलाई समाजवादी, साम्यवादी, जनवादी, प्रगतिशील आदि आदि शब्दहरूले आफैलाई विभूषित गर्छन् । तर आचरणमा समानता, भ्रातृत्व, स्वतन्त्रता आदिसँग भने पुस्तैनी दुश्मनी बोक्छन् । यी राता भेडाहरू परम स्वार्थी, गरीब विरोधी, संकीर्ण र रूढीवादी पनि हुन्छन् ।
भेडातन्त्रको देशमा बाहेक राता भेडा संसारभरि नै एक दुर्लभ र लोपोन्मुख प्रजाति नै हुन् । त्यसैले विभिन्न देशका ‘वामपुड्के पार्टी’का नेताहरूसँग त्यो देशका राता भेडाहरूको गोप्य स्नेह बन्धन छ ।
यी राता भेडाहरू वामपुड्के दलका कामुक नेताहरूसँग राति राति प्रायः लुकिछिपी सुहागरात मनाउने गर्छन् भने दिनको उज्यालोमा ‘मूर्दावाद’का नारा घन्काउन व्यस्त हुन्छन् । यी भेडाहरू शब्दजाल र तथ्यांक तलमाथि पारेर आफू अनुकूल देखाउने क्रियामा साह्रै सिपालु हुन्छन् ।
राता भेडाहरू गज्जबका ढोँगी पनि हुन्छन् । आफ्नो देशको जमीन बाँझो राख्ने परिस्थिति सृजना गरेर विश्वभरिबाट खाद्यान्नदेखि झोल पदार्थसम्म र भाषादेखि संस्कृतिसम्म उधारोमा ल्याउँछन् । यिनीहरू आफ्ना बालबच्चालाई विदेशमा पढ्न पठाउँछन्, विदेशबाटै ल्याएर साँझ साँझ झोल पिउँछन्, तर प्रत्येक भाषणमा आत्मनिर्भरताको महत्त्वको व्याख्या गरेर थाक्दैनन् ।
केही भेडा गाढा रातो टोपी लगाउने र आफू खाँटी क्रान्तिकारी समाजवादी भनेर दाबी गरिहिँड्छन् । यिनका समाजवादको लगौंटी आफ्नै जातिका आँगनमा मात्र टाँग्छन् । तर जति अत्तर छर्के पनि समाजवादी टोपीबाट अवैध धन, स्वार्थ र घुसखोरीको गन्ध आइरहन्छ । यी भेडाहरूका समाजवादले जातिवादको जुत्ता लगाएर परिवारवादको विस्तार गर्छ । अनि यिनीहरू भाइभतिजावादको तलुवा चाटेर अपराधशास्त्रको नयाँ अध्याय लेख्छन् ।
यी भेडाहरू उद्दण्ड, अनुशासनहीन र उच्छृंखल त छन् नै, साथै यी नियम तोड्नु, सीसीटीभी फोड्नुमा निकै मजा लिन्छन् । यी पदक लिने वा दिने, शालिक बनाउने वा ढलाउनेमा बढी नै विश्वास गर्छन् ।
यी भेडाहरूले त्यो देशमा मुक्ति संग्राम चलाइरहेका छन् । इमानदारीबाट मुक्त, अनुशासनबाट मुक्त, समृद्धि, विकास आदिबाट पनि मुक्त, नैतिकताबाट मुक्त । यी भेडाहरू दलाली कलामा निपुण । उद्योगी, व्यापारीसँग दलाली गरेर आफू र आफ्ना समूहका लागि धन जम्मा गर्न त कसैले नभेट्ने । त्यसैले जन्मदर्तादेखि मृत्युको प्रमाणपत्र लिनका लागि पनि जनतालाई सरकारी झमेलाबाट मुक्ति दिन दलाली प्रथा चलाएका छन् । उनीहरूको पार्टीको घोषणापत्रमै ‘यत्र दलालाः पूज्यन्ते, रमन्ते तत्र देवताः’ लेखेका छन् । यो वामपुड्के पार्टीका समर्थकको मिडिया, शासन र न्यायपालिकामा पनि दरो उपस्थिति छ । वामपुड्के दलको शासनकालमा न्यायाधीश बन्नु सबैभन्दा सजिलो काम हुन्छ । त्यसमा पनि ‘समावेशी न्यायाधीश चयन समिति’ सधैं सक्रिय रहन्छ । न्याय किन्न पाइने चिज हुन्छ र त्यो वकिलका कोटमा, न्यायालयका गेटमा पाइन्छ भन्ने त्यहाँका बच्चाबच्चालाई पनि थाहा छ ।
भेडातन्त्रको विशेषता नै यस्तो छ कि केही समयसम्म शासनमा बसेपछि भेडाहरू ब्वाँसोमा परिणत हुन्छन्, चिप्लेकीरा पुतली बनेजस्तै । जो यो तन्त्रको हिस्सा बन्छ, उसमा स्वतः ब्वाँसोको गुण आइहाल्छ । गरीबी उन्मूलन कार्यक्रम चलाउने भेडाको गरीबी त छुमन्तर हुन्छ । तर अरू सर्वसाधारण भेडाहरू भने गरीबीमै जन्म लिने, गरीबीमै जीवन बिताउने र गरीबीमै ‘राम नाम सत्य’ हुन पुग्छन् ।
यो राज्यका भेडाहरू नक्कल गर्न पनि सिपालु । एउटा भेडाले भ्या गरेपछि सबै भेडाहरूले भ्या भ्या गर्न थाल्ने । एउटाले वाह ! गर्यो भने बाँकी सबैले वाह ! वाह !! गर्न थाल्ने । एउटा उठ्यो भने सबै उठ्ने । एउटा बस्यो भने सबै बस्ने, उत्तर कोरियातिर जस्तै । दिमाग कस्ले र किन लगाइरहने ? त्यसैले यो राज्यका भेडाहरूले विचार, विमर्श, विवेक आदिलाई ताला लगाएर साँचो चैं नदीमा फ्याँकिदिँदा रहेछन् । एउटा भेडा खाल्डोमा खस्यो भने बाँकी सबै खाल्टोमा खस्न जाने । यस्तो रहेछ भेडाहरूमा अद्भूत एकता । तर केही भेडाहरू ब्वाँसो बन्नेबित्तिकै आफ्नै दाजुभाइको शिकार गर्न शुरू गरिहाल्दा रहेछन् ।
मलाई के डर लागिरहेको छ भने त्यो भेडातन्त्र कतै हाम्रो देशका भेडाहरूले पनि देखासिकी गर्न त थालेनन् ? तपाईं पनि कतै त्यो भेडा देशको बासिन्दा त होइन ? हुनुहुन्छ भने नारा लगाइहाल्नुस्, भेडातन्त्र जिन्दावाद ! भेडातन्त्र अमर रहोस् !!