ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब काठमाडौंमै सिसाको पुलबाट बन्जी जम्पको मजा ! १ अर्ब लगानीमा चोभारलाई साहसिक खेलको हब बनाइँदै 

२०७९ असार, २४  
समाचार र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं । दशकअघिसम्म चोभार दुई ओटा कुराले प्रसिद्ध थियो- एउटा केटाकेटीको डेटिङ स्पट र अर्को फिल्म सुटिङ स्पट ।

सामाजिक सञ्जालको प्रयोग बढ्दै गएपछि 'डेटिङ कल्चर'को अन्त्य भयो । नेपाली सिनेमाको ट्रेन्ड फेरिएपछि फिल्म सुटिङ पनि हिमाली र पहाडी गाउँहरूमा केन्द्रित भयो । त्योसँगै कुनै समयको निकै चर्चित ठाउँ चोभार सिजनल पिकनिक स्पटका रूपमा मात्रै सीमित भयो ।

अब भने फेरि एकपटक चोभारको नाम सबैको जिब्रोमा झुन्डिने भएको छ । जे. बी. एड्भेञ्चर प्रा. लि.ले नेपालमै पहिलोपटक सिसाको पुलबाट बन्जी जम्पसहित आधा दर्जन साहसिक खेल शुरु गरेर चोभारलाई फेरि एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्य बनाउँदै छ ।

जसरी दशकअघि चोभारमा फिल्म सुटिङ नगरे फिल्म अधुरो लाग्थ्यो, त्यसैगरी अब चोभारमा साहसिक खेलको मजा नलिए काठमाडौं बसाइ वा घुमाइ अधुरै रहने छ ।

चोभारमा अहिले माउन्टेन साइक्लिङ, मञ्जुश्री पार्क र ह्वपील्यान्ड वाटरपार्कमा आन्तरिक पर्यटकको आवगमन चलिरहेकै छ । चोभारमै निर्माण भएको सुख्खा बन्दरगाह र तरकारी बजार सञ्चालनमा आउँदा अन्य चहलपहल पनि शुरु होलान् ।

वातावरणीय प्रभाव मूल्यांकनकाे सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिरहेको जेबी एड्भेन्चर्सले सबै कुरा योजना अनुसार चलेमा अबको ६/७ महीनामै चोभारमा बन्जी जम्पदेखि जिपलाइन र स्काइ साइक्लिङ शुरु गर्ने छ ।

जे. बी. एड्भेञ्चर प्रा. लि.ले कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिकालाई जोड्ने गरी जिप लाइन, ग्लास ब्रिज (सिसाको पुल) बनाउन लागेको हो । बन्जी जम्प, रक क्लाइम्बिङ्लगायत अन्य साहसिक खेल सञ्चालन गर्ने तयारी पनि कम्पनीले गरिरहेको छ । यो परियोजनामा झन्डै १ अर्ब रूपैयाँको लगानी हुने कम्पनीका कार्यकारी निर्देशक पञ्चलाल महर्जनले बताए ।

कीर्तिपुर नगरपालिकाको वडा नम्बर ६ स्थित मञ्जुश्री पार्कबाट ललितपुर नगरपालिकाको वडान नम्बर ८ मा पर्ने सैबु भञ्ज्याङबीचमा ५०० देखि साढे ६०० मिटरसम्मको जिप लाइन बनाइने महर्जनले बताएका छन् ।

जिपलाइन दोहोराे अर्थात् दुई तर्फी हुने र यस्तो खालको सेवा नेपालमै पहिलो हुने दाबी पनि महर्जनले गरेका छन् । जिपलाइन मूलसडकमाथि रहेको पार्कको जग्गाबाट अहिले सुख्खा बन्दरगाह बनेको स्थानमा खोलाको तिरसम्म बनाउने शुरुको योजना थियो । तर, बन्दरगाहले बगरसम्मै पूर्वाधार बनाएर पर्खाल लगाएपछि योजना फेर्नु परेको दुखेसो पनि महर्जनले पोखेका छन् । 

मञ्जुश्री पार्कभित्र अहिले १०० देखि १५० मिटरसम्मको सानो जिपलाइन बनाउने काम पनि भइरहेको छ । यो छोटो दूरीको जिपलाइन निर्माणको काम निकै अगाडि बढिसकेको र छिटै सञ्चालनमा आउने बताइएको छ । मञ्जुश्री पार्क र वाग्मति खोलाको पारिपट्टि रहेको सैबु भञ्ज्याङलाई जोडेर ६५० मिटर लामो सिसाको पुल बनाउने योजना पनि अघि सारिएको छ ।

पछिल्लो समय विश्वभर सिसाको पुल बन्ने क्रम बढिरहेको छ । यस्तोमा नेपालमा पनि साहसिक पयर्टनका लागि सिसाको पुलप्रतिको आकर्षण बढेको छ । यो नेपालकै पहिलो सर्वाधिक लम्बाइ भएको सिसाको पुल हुने महर्जनले बताए । विश्वमा कतै प्रयोग नभएको नयाँ प्रविधि ल्याएर विश्वकै नमुना सिसाको पुल बनाउने योजना रहेको उनले बताए ।

नयाँ प्रविधि के के हुन सक्छ भन्नेबारे चाँहि उनले केही खुलाएका छैनन् । यद्यपि, नेपालमा सिसाको यति लामो पुल यो नै पहिलो हुने दाबी भने उनले गरेका छन् । 

सिसाको पुलकै साइडमा स्काई साइक्लिङको लागि आवश्यक पूर्वाधार पनि बनाइने योजना छ । महर्जनका अनुसार स्काई साइक्लिङको लम्बाई सिसाको पुल जत्तिकै अर्थात् ६५० मिटर आसपास हुनेछ । सैबु भञ्ज्याङतर्फको भिरमा रक क्लाइम्बिङको लागि आवश्यक पूर्वाधार तयार गरिनेछ । साथै १०० देखि १५० मिटरसम्मको बन्जी जम्पको लागि पनि पूर्वाधार तयार पार्ने योजना छ ।

सैबु भञ्ज्याङमा भ्यु टावर बन्नेछ । वरिपरिको दृश्यावलोकनको मज्जा लिँदै खानपिनमा रमाउन चाहनेका  लागि टावरमा खानपिन गर्ने ठाउँको समेत व्यवस्था गरिने योजना पनि भएको महर्जनले बताएका छन् ।

सोही स्थानमा जिमखाना, रिसोर्ट/होटल लगायत अन्य कयौं संरचना पनि बन्नेछन् । बालबालिकाहरूलाई खेल्नका लागि चिल्ड्रेन पार्क बन्ने भएको छ । त्यसैमा क्युएफएक्स सिनेमा हल पनि बनाइने छ । काठमाडौं उपत्यकामा घुमफिरका लागि प्रशस्तै स्थान छन् । तर, उपत्यकाभित्र साहसिक पयर्टनका लागि विकल्प त्यति धेरै छैनन् । यस्तोमा चोभार साहसिक खेलको केन्द्रको रूपमा फष्टाउने आशा महर्जनले गरेका छन् । 

यो योजनामा २६/२७  जनाको टिमले लगानी गर्न लागेको र आवश्यक लगानीमध्ये ६० देखि ७० प्रतिशतसम्म बैंकसँग ऋण लिन लागिएको छ । कर्जाका लागि सिटिजन्स बैंकसँग वार्ता भइरहेको र पयर्टन विभागको साहसिक खेल स्वीकृति समितिले कम्पनीको प्रस्तावलाई मञ्जुरी दिएपछि कर्जाबारे बैंकसँग अन्तिम सहमति हुने महर्जनको भनाइ छ । यो परियोजना चरणवद्ध ढंगले अगाडि बढाइनेछ ।  

अनुमति प्राप्त भएपछि झन्डै दुईदेखि अढाई वर्षको बीचमा सबै भौतिक संरचना पूरा हुनेछन् । साहसिक खेल भने त्यसको ६/७ महीनाभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइने महर्जनले बताए ।

यो परियोजना २२ रोपनी जग्गामा फैलनेछ । यसमा कम्पनीको आफ्नो स्वामित्वको जग्गा, व्यक्तिको निजी जग्गा र सार्वजनिक जग्गा प्रयोग गरिनेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)