असार २६, काठमाडौं । कोही नवाज पढ्दै छन् त कोही अँगालोमा बाँधिएर शुभकामना साटासाट गर्दै ।
नवाज पढ्ने र शुभकामना आदानप्रदान गर्नेमा प्रौढहरू मात्रै थिएनन् बालकहरू पनि थिए । सबैको अनुहारमा खुसीको चमक थियो ।
काठमाडौं उपत्यकाकाे मस्जिद र खुला स्थानमा आइतबार बिहान यस्तै दृश्य देखियो ।
बकर ईदका अवसरमा उपत्यकाका मुस्लिम धर्मावलम्बीहरू आज मस्जिद तथा खुला स्थानमा जम्मा भए । र, नवाज पढेर एकापसमा शुभकामना साटासाट गरे ।
ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन विश्वभरका मुस्लिम धर्मावलम्बीले उल्लासपूर्वक यो पर्व मनाउने गरेका छन् ।
यस दिन बिहान सबैरै उठेर नुहाइधुवाई गरी खुला स्थान वा मस्जिदहरूमा गई नमाज पढ्ने गरिएको छ ।
नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्बानी (बलि) दिने परम्परा छ । बलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नो लागि अर्को भाग आफ्ना नजिकका मित्रलाई र तेश्रो भाग गरीब तथा असहायलाई दिने गरिन्छ ।
आजको दिन मुस्लिम धर्मावलम्बीले परम्परागत पोशाक लगाउने र मिठा परिकार खाने गरेका छन् ।