ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बियर बियर चियर्स !

२०७९ असार, ३१  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

श्रीलंकाको भाँडभैलो, पाकिस्तानको अझ मैलो राजनीति र त्यै बाटोमा हिँडिरहेको नेपाली लाजनीति र अर्थनीतिको विषयमा समाचार सुनेर कत्ति टाउको दुखाइरहने ? कत्ति कुन कुन देशका मन्त्रीहरू हाम्रा मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिका बेडरूममै सीधै प्रवेश गरे, कुनकुन दललाई मिल्न दबाब दिए, कुनकुन देशले नेपाललाई यो गर त्यो नगर भने भन्नेजस्ता खबर सुनेर दिमाग तताइरहने ? कति महालेखाले सरकारी बेरुजू यति र उति पुग्यो भनेर प्रत्येक वर्ष गर्ने गरेको बकबक मात्रै सुनिरहने ? कति शेयर बजारको बियर र बुलको लडाइँ हेरिरहने ? बरु आउनोस्, आज चिसो बियर र मदिराको कुरा गरौं । किनकि नशा नै त्यसैमा जो छ ।

अरूमा आत्मनिर्भर हुन नसके पनि मदिरा र बियरमा भने देश टिल्ल आत्मनिर्भरतातिर लम्किरहेको छ ।

अहिले सबैजसो कुरामा नकारात्मक मात्र भए पनि एउटामा भने देशमा सकारात्मक भैरहेको छ । अरूमा आत्मनिर्भर हुन नसके पनि मदिरा र बियरमा भने देश टिल्ल आत्मनिर्भरतातिर लम्किरहेको छ । विदेशी लगानी भित्र्याउन नसके पनि सरकारले स्वदेशमा नयाँ मदिरा उद्योगको अनुमति दिएको दियै छ । केही वर्ष अघिसम्म आठओटा डिस्टिलरीहरू थिए, तर अहिले डेढ दुई सय पुगिसके । बियर बनाउनेहरू पनि बढ्दो छन् । स–साना उद्योग पनि जोड्ने हो भने १५ सयओटा लाइसेन्स त वितरण भइसकेका छन् ।

अनि त के, वर्षेनि करीब ५० को संख्यामा मदिरा र बियरका नयाँ ब्रान्ड बजारमा आएका आयै छन् । थप ‘एक घर एक लोकल रौसी’ उत्पादन त छँदै छ । यसलाई पनि ब्रान्डिङ गर्न प्रान्तीय सरकारहरू समेत लागिपरेकै छन् । यो मदिरा बियर पारखी तथा सरकारका लागि पनि अत्यन्तै खुशी र मस्तीको कुरा हो ।

हरेक डाँडापाखादेखि देशैभरि खुलेका होटल रिसोर्टहरूमा मदिरा बियरको खोलै बग्ने गरेकै छ । गाउँगाउँमा बाटो पुगे, तर नेपाली उत्पादनहरू पुगेनन् भनिरहेका बेला मदिरा बियर भने टनका टन पुग्ने गरेको छ । अहिले कुनै पहाड बाँकी छैनन्, जहाँ बियर मदिराका खाली बोतल यत्रतत्र छरिएका नभेटियोस् । विदेशी सामान बोकेर गाउँ पुगेको ट्रक फर्किंदा मदिरा र बियरका केही खाली बोतलहरू भने पनि लिएर फर्किने गरेको छ । यो कम्ता खुशीको कुरा हो त !

जाँड रौसीका पारखीलाई अर्को खुशीको कुरा के छ भने नेपालमा एसिया, यूरोप, अष्ट्रेलियादेखि अमेरिकी मुलुकबाट आयात गरिएका विभिन्न किसिमका मदिरा छानी छानी तन्काउन पाइन्छ । त्यही भएर छिमेकी भाइहरू पनि सुटुक्क नेपाल छिरेर सुरुप्प पार्न भ्याउँछन् । किन स्वदेशी मात्र खाने भनेर वर्षेनि अर्बौं रुपैयाँको विदेशी मदिरा पनि हामी नेपालीहरूले पिइरहेकै छौं । साँझ साँझ अमेरिकन बियरदेखि बेलायती ह्विस्कीसम्मको चुस्की लिने बानी झ्याम्मै लागिसकेको छ ।

गतवर्ष मात्र नेपालमा रू. २ अर्ब ५० करोडभन्दा बढीको मदिरा आयात भएको तथ्यांक छ । अझ कोरोनाकाल अघिसम्म त प्रत्येक वर्ष रू. ३ अर्बभन्दा बढीको मदिरा आयात हुने गरेको थियो । त्यसो त २/४ करोडका स्वदेशी बियर मदिरा पनि विदेश निर्यात हुन थालेका छन् ।

विदेशका प्रख्यात ब्रान्डहरू भार्सटाइनर, बडवाइजर, कार्ल्सवर्ग, टुबोर्ग, सिग्नेचर, रोयल स्ट्याग लगायत दर्जन हाराहारी विदेशी बियर, मदिरा नेपालमै उत्पादन हुन थालेका छन् । कुनै हिमाल, पहाड, राष्ट्रिय चिह्न बाँकी छैनन् मदिरा र बियरका नामका लागि । तिनले पछिल्लो उम्दा प्रविधि पनि भित्र्याएका भित्र्यायै छन् । यसले ठूलै रोजगारी पनि सृजना गरेको छ । यति गर्दा पनि मदिरा बियरलाई खराब भन्ने को ?

स्वदेशी मदिराको आन्तरिक खपत त बढेकै मात्रै छैन, विदेश निर्यात पनि हुन थालेको छ । किनकि नेपालीहरू विदेशमा पनि छन् । विदेश गए भन्दैमा आफ्नो ट्वाँके बानी किन छाड्थे र नेपालीले । पहिले पहिले नेपालीले कोसेलीका रूपमा मदिरा बियर विदेश लैजान्थे । अहिले औपचारिक रूपमा निर्यातै गर्न थाल्या छन् । आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट विभिन्न मुलुकमा ८ करोड रुपैयाँ बराबरको ४ लाख लिटर मदिरा गएछ । पहिले राजदरबारका मान्छेमात्र विदेश गैरहन्थे । अहिले सिंहदरबारतिरका प्रायः सबै विदेश जान्छन् । अनि मदिरा बियर पनि के कम ? ओल्ड दरबार, ब्ल्याकचिम्नी, ८८४८, गोर्खा, यती, नेपाल आइस बियर, खुकुरी रमलगायत विभिन्न ब्रान्डका मदिरा र वाइन पनि विदेश गइरहेका छन् ।

अहिले कुनै पहाड बाँकी छैनन्, जहाँ बियर मदिराका खाली बोतल यत्रतत्र छरिएका नभेटियोस् ।

गतवर्ष मात्रै अष्ट्रेलिया, बेल्जियम, हङकङ, भारत, जापान, दक्षिण कोरिया, सिंगापुर, अमेरिका र बेलायतमा नेपाली मदिरा निर्यात भएछ । पोखरामा उत्पादित डाँडाघरे वाइन जापान, खाडीलगायत दर्जन मुलुकमा निर्यात हुन थाल्या थियो । अहिले रोकियो कि जान्छ थाहा भएन ।

त्यसैले अरू कुरामा हामी आत्मनिर्भर हुने कुरा गफै भए पनि मदिरा बियरमा त हामी तत्कालै पूर्ण आत्मनिर्भर हुन सक्छौं । अहिले स्वदेशी उत्पादनले मागको ७० प्रतिशत मात्रै धान्न सकेको छ । मदिरालाई चाहिने स्पिरिट विदेशमा भन्दा नेपालमा राम्रो उत्पादन गर्न सकिन्छ भन्छन् मदिरा व्यवसायीहरू । मदिरा नपिएको बेला भनेको कुरा त सरकारले सुने हुने हो ।

मदिरा विक्री गर्ने समय पनि तोकेर मदिराको सतत प्रवाहलाई रोकेको छ सरकारले । हुन त सरकारको काम भनेकै जहाँतहीँ रोक्ने नै हो । बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र विक्री गर्नुपर्ने रे । ल भयो त अब ! बनाउन नरोक्ने, पिउन नरोक्ने । किन्न मात्र किन रोक्ने हो ? किन्न सक्नेले किनेर पिउँछु भन्दा पनि यति बजेसम्म किनेर पिऊ, उति बजेसम्म मात्र बेच भनेर किन अड्को थापेको होला सरकारले ? यो त बजारको वा बेच्ने र किन्नेबीचको अथवा माग र आपूर्तिको वा पिउने र पिलाउनेबीचको कुरा हुनुपर्ने हो नि । कतै हाकिमहरूले पिएको बेला त ल्याएका होइनन् यस्तो नियम ?

नेपालमा मदिराको मूल्यवृद्धि किन यति धेरै बनाको होला ? जति धेरै महँगो बनायो उति घरेलु रौसी पिउनतिर मान्छे लाग्छन् भन्ने कुरा हाकिमहरूलाई कसले सम्झाउने, बुझाउने होला हँ ? अनि जँड्याहाजस्तो सहनशील नागरिक कोही हुन्छ ? प्रत्येक वर्ष सबैभन्दा बढी कर मदिरा बियरकै बढाइन्छ, तर कोही मदिराभक्तले विरोध गरेका छन् ? छैनन् नि ।

त्यसैले नेपाल र नेपालीलाई अब कसैले नहेपे हुन्छ क्या ! देश अहिले शालिक युगमा प्रवेश गरिसकेको छ । अहिले लाखौं खर्च गरेर चोक चोकमा जँड्याहा, लुच्चा लफँगाहरूको पनि शालिक ठडिन थालेको छ । अब त कहिलेकाहीँ यस्तो लाग्छ कि जीवनमा अरू केही गर्न सकिएन भने पनि टिल्ल पिएर शालिकको ठाउँमा आफै गएर सदाका लागि उभिदिऊँ । शालिकको ठाउँमा आफै उभिँदा २/४ लाख त कसो हात नपर्ला हँ ?

यसैले सरकारलाई नभै नहुने, सरकारी हाकिमहरूलाई पनि चाहिने, पहिल्यैदेखि भगवान्लाई पनि चढाउनैपर्ने महत्त्वपूर्ण रस अर्थात् सोमहरूको रस वा सोमरसलाई त जिन्दावाद भन्नैपर्‍यो नि । त्यसैले आउनोस् आजलाई भने बियर बियर जिन्दावाद ! डियर भनेर चियर्स गरौं । चियर्स !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)