ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीलंका : अर्ग्यानिक खेती र मल अभावले निम्त्याएको संकट

२०७९ सावन, २  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

गतवर्षसम्म पनि श्रीलंका उच्चमध्यम आय भएको खाद्यान्नमा पूर्णतः आत्मनिर्भर देश थियो । तर, अहिले उक्त देश अकल्पनीय राजनीतिक र आर्थिक संकटमा फसेकोे छ । श्रीलंकाको अहिलेको अवस्थाका लागि परिवारवादमा डुबेको राजनीति दोषी हो कि आर्थिक कुव्यवस्थापन भन्नेमा बहस छ तर त्यहाँको अहिलेको दुरवस्थाका लागि अर्ग्यानिक खेती प्रणालीमा जाने तत्कालीन सरकारको निर्णय एउटा प्रमुख कारण हो ।

रासायनिक मलको अत्यधिक प्रयोगका कारण केही क्षेत्रमा किड्नीसम्बन्धी रोग देखिएर स्थानीय किसानहरू मर्न थालेपछि गत वर्ष अप्रिलमा राष्ट्रपति गोतवाया राजापाक्षले रातारात सेन्थेटिक फर्टिलाइजर र कीटनाशक औषधिको प्रयोगमा रोक लगाए, सबै खालको कृषि रसायन आयातमा प्रतिबन्ध गरे । सरकारले कृषि नीति पनि फेर्‍यो ।

श्रीलंकाली किसानहरूलाई अर्ग्यानिक खेतीको अभ्यासमा रूपान्तरणका लागि न त समय दिइयो न त संसाधन नै थियो । त्यसमाथि सरकारले प्राकृतिक मलमा पहुँच पनि दिएन । एक चौथाइभन्दा धेरै किसानले जैविक मल पाउन सकेनन् । रासायनिक मलखादमा प्रतिबन्धले बालीअनुसार उत्पादन २० प्रतिशतदेखि ७० प्रतिशतसम्म घट्यो । धान उत्पादन घटेर आधामै आयो । चिया, रबर र नरिवललगायत अन्य बालीको उत्पादन पनि घट्यो । दशकौंयता पहिलोपटक श्रीलंकाले करोडौं डलरको चामल आयात गर्नुपर्‍यो । प्रमुख कृषि निर्यात चियाको उत्पादन १८ प्रतिशतले घट्यो ।

अवस्था विकराल बनेसँगै किसानहरूले चर्को विरोध प्रदर्शन शुरू गरे । अन्ततः सरकारले घुँडा टेक्यो । अनि नोभेम्बरमा रासायनिक मलमाथि लगाएको प्रतिबन्ध आंशिक रूपमा हटायो । तर, परम्परागत रूपमा किसानहरूलाई रासायनिक मल किन्न दिँदै आएको सहुलियत कार्यक्रम भने पुनःस्थापना गरेन । यसले गर्दा अधिकांश किसानले मलखाद किन्नै सकेनन् । अभावका कारण कृषि उत्पादनको भाउ आकाशियो ।

युक्रेनमाथि रूसले गरेको आक्रमणका कारण विश्वभर खाद्यान्न महँगो बनेकै समयमा श्रीलंकामा खाद्यान्न सञ्चिति पनि घट्दै गयो । सबैभन्दा ठूलो मलखाद निर्यातकर्ता देश रूसले यो वर्षको शुरूमा अस्थायी रूपमा मलखादको निर्यात रोक्यो । यसले विश्वभर मलखादको भाउ पनि आकाशियो । इन्धनको चरम अभावका कारण खेतबारीमा ट्र्याक्टर चलाउने लागत दोब्बर भयो । यी सबै कारणले गर्दा अधिकांश किसानले पुनः खेतीबाली शुरू गर्न सकेनन् ।

श्रीलंकाको संकटले अहिले विश्वभर अर्ग्यानिक खेतीपातीसम्बन्धी बहस पुनः बल्झाएको छ । दिगो कृषिबारे प्रश्न उब्जाएको छ । श्रीलंकाको अर्ग्यानिक खेतीपाती नीति सफल भएको भए यो देशभर अर्ग्यानिक खेतीपातीमा रूपान्तरण हुने विश्वकै पहिलो देश बन्ने थियो । तर, यसैका कारण यो खराब सामाजिक अशान्तिमा भाँसियो ।

सन् २०१९ को इस्टर बम काण्डयता नै पयर्टनको आगमन घटेको थियो । कोरोना भाइरसको महामारीले समस्या झनै बल्झायो । यसमा सरकारले जथाभावी बाह्य बजारबाट कर्जा उठाउनु, कर कटौती गर्नुलगायत अन्य गलत निर्णयको पनि हात छ ।

अर्ग्यानिक खेतीपातीका आलोचकहरूले अहिले श्रीलंकाको उदाहरणलाई लिएर अर्ग्यानिक खेतीपाती कसरी गर्नु हुँदैन वा किन गर्नु हुँदैन भन्ने बहस चर्काइरहेका छन् ।

सन् २०२१ को जुलाईमा भएको एउटा निजी सर्वेक्षणमा ६४ प्रतिशत सहभागीहरूले अर्ग्यानिक खेतीपातीमा जाने सरकारको निर्णयको समर्थन गरेका थिए । ७८ प्रतिशतले भने प्रभावकारी रूपान्तरणका लागि १ वर्षभन्दा बढीको समय मागेका थिए । ३५ प्रतिशतले अर्ग्यानिक खेतीपाती भनेको के हो भनेरै नबुझेको पनि उक्त सर्वेक्षणले देखाएको थियो ।
रासायनिक मलखाद, कीटनाशक र अन्य कृषि केमिकल पूर्ण रूपमा प्रयोग बन्द गर्न गाह्रो हुनुको सामान्य कारण यसमा उत्पादन स्थिर हुन्छ अनि धेरै पनि ।

अहिले विश्वभर झन्डै २० करोड मानिस चरम खाद्य असुरक्षा भोगिरहेका छन् । मानिसहरू खानै नपाएर मर्ने अवस्था छ । यस्तोमा रासायनिक मलखाद प्रयोग गरेर खाद्यान्नमा सहज पहुँच हुने अवस्थालाई कसरी बेवास्ता गर्नु ?

माटोको स्वास्थ्यका लागि अर्ग्यानिक खेती जरुरी छ । तर, यसका लागि कयौं वर्ष कुर्नुपर्छ । मल पनि धेरै चाहिन्छ । रासायनिक युरिया मलमा नाइट्रोजनको मात्रा ४६ प्रतिशत हुन्छ । तर, गाईबस्तुको मलमा यो एकल संख्यामा हुन्छ । श्रीलंकामा अर्ग्यानिक मलको पर्याप्त विकल्प थिएन । भारतबाट जैविक मल आयात निकै महँगो थियो । चीनको मल सस्तो भए पनि त्यहाँबाट ल्याइएको मल हानिकारक ब्याक्टेरियायुक्त थियो । श्रीलंकाले गुणस्तर कमसल भएको भन्दै मल लिएन ।

श्रीलंकाबाट सिक्नुपर्ने पाठ
श्रीलंकाको अवस्थाका लागि अर्ग्यानिक खेती मात्रै दोषी होइन भन्छन् कृषि विज्ञहरू । पराम्परागत पद्धतिलाई छाडेर अर्ग्यानिक तरिका अपनाउन केही समय लाग्छ नै, विशेषगरी स्थिर रूपमा उब्जनी सुनिश्चित गर्न । विना सहायता गर या मरको अवस्थामा किसानहरूलाई छाड्दाको परिणति हो श्रीलंकाको पछिल्लो अवस्था । किसानहरूलाई पर्याप्त प्राविधिक मार्ग निर्देशन दिइएन । रासायनिक मल विष भए पनि पेटभरि खान पाइएको थियो । अब चाहिँ खानै नपाएर मर्ने अवस्था आयो । मलखादमा प्रतिबन्ध नलगाएको भए अहिले श्रीलंकामा कम्तीमा पनि पर्याप्त खानेकुरा हुने थियो । कृषि उपज निर्यातबाट हुने नियमित विदेशी मुद्रा आम्दानी हुन्थ्यो ।

नेपालमा मलखादको अभाव अहिलेको मात्रै समस्या होइन । पञ्चायती कालयता हरेक वर्ष खेतीपातीको सिजनमा मल अभावका कथा कहानी सुन्न पाइन्छ । यसपटक बाह्य परिस्थितिका कारण घरेलु स्तरमै पर्याप्त मल आपूर्ति नहुने देखिएपछि भारतले वाचा गरेअनुरूप समयमा मल दिएन । युक्रेनी युद्धका कारण पनि स्थिति फरक भयो । प्रशासनिक तिकडमबाजीबाट मलको अभाव सृजना गराइरहेको अवस्था पनि छ । नेपाल यो मामिलामा श्रीलंकाको हदमा पुगिसकेको छैन । तर, यस्ता कुरामा बहुलट्ठीपन व्यापक पाइन्छ । विनातयारी हचुवाको भरमा अरूको देखासिकीमा निर्णय गर्ने प्रवृत्ति छ । अर्ग्यानिक खेतीको प्रवर्द्धन गर्नुपर्छ । तर, श्रीलंकाको हदमा होइन । सरकारले अर्ग्यानिक खेतीका लागि अनुदान प्रशस्त दिएको छ । तर, उक्त पैसा कता गयो भन्ने थाहा छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)