साउन २, काठमाडौं । आज साउनको पहिलो सोमबार । देशभरका शिव मन्दिरहरूमा पूजाअर्चना गर्ने श्रद्धालुको भीड लाग्यो । हरियो र पहेंलो पहिरनमा सजिएर महिलाहरू सबेरै शिव मन्दिर पुगे ।
काठमाडौंको हनुमानढोका नजिकै मखनस्थित महादेव मन्दिर (सानो पशुपति)मा पनि यस्तै दृश्य देखियो ।
पूजाअर्चनाका लागि सजिएर मन्दिर पुगेका कतिपय श्रद्धालु फोटो खिँच्न व्यस्त थिए ।
कतिपय भने टिकटक बनाउन मस्त देखिन्थे । कतिपय भने फोटो खिँच्ने र टिकटक बनाउनेलाई हेरेर आनन्द लिइरहेका थिए ।
साउनको हरेक सोमबार शिव मन्दिरहरूमा पूजाअर्चना गर्ने श्रद्धालुको भीड लाग्ने गरेको छ । साउने सोमबार शिवको पूजाआजा गरे मनोकामना पूरा हुने हिन्दु मान्यता छ ।