ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीडतन्त्र

२०७९ साउन, ६  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

जमाना भीडको छ । जसको साथमा जति भीड हुन्छ, उही भीडपति हुन्छ । भीडपति भएपछि ऊ धेरै थोकको पति हुन्छ । सभापतिदेखि राष्ट्रपतिसम्म बन्न भीडपति नै हुनुपर्छ । त्यसैले त यहाँ हरेक व्यक्ति भीड पाल्न लालायित छ ।

पहिलेका शासकहरू सिंहका बच्चा पाल्थे । अहिले लोकतन्त्रमा भेडाका बच्चा पाल्छन् । यसरी भेडाहरूको भीड जम्मा गर्‍यो, भाडभैलो मच्चायो अनि सुटुक्क आफ्नो दुनो सोझ्यायो ।

नेताका साथमा चम्चाका भीड । चम्चाका साथ उपचम्चाका भीड । कोही कुनै जाति विशेषका भीडपति त कोही कुनै वर्गका भीडपति । कोही कुनै रंगका भीडपति त कोही कुनै ढंगका भीडपति । भीड जसले पाल्यो, उसैले सिंगापुर र स्विट्जरल्यान्डमा आफ्नो सातौं बंगलाको जग हाल्यो । पत्रकारहरू बजाउँदै गर ताली । केवल भीड बढाओ, नबस है कोही खाली । जो बनेको छ भीडपति, उही नै बनेको छ करोडपति, अर्बपति । भीडको महत्त्व नचिन्ने बन्न सक्छ है रोडपति ।

मानिस अनेक प्रकारका जनावर पाल्छन् । कोही कुकुर पाल्छन् त कोही बिराला । कोही उल्लु पाल्छन् त कोही गधा । तर यी सबैभन्दा चंख चतुर उही हो, जसले भीड पाल्छ । तर भिड चाहिँ भेडा जस्तो हुनुपर्छ नत्र श्रीलंकाको राष्ट्रपतिलाई फालेझैं फाल्न बेर लाउँदैनन् । आफूले पालेको भीडले आफैलाई फाल्ला है, बेलैमा चेत खुलोस् !

 

यस्तोमा कसैले गधाहरूको भीड पाल्यो भने उत्तम । चम्चाहरूको भीड झन् उत्तम । पहिलेका शासकहरू सिंहका बच्चा पाल्थे । अहिले लोकतन्त्रमा भेडाका बच्चा पाल्छन् । यसरी भेडाहरूको भीड जम्मा गर्‍यो, भाडभैलो मच्चायो अनि सुटुक्क आफ्नो दुनो सोझ्यायो । भोलि भेडाको बथान बनाउन पाए सात पुस्तालाई सत्ताको सेरोफेरो सबै तेरोमेरो भन्न पाइन्छ ।

भीडतन्त्रमा टाउकाको गिन्ती हुन्छ । जल्ले धेरै टाउका जम्मा गर्‍यो, त्यही टाउके । टाउकेको लाउके मात्रै भए पनि पैसा र पद कहीँ नजा । त्यसैले हिजोआज गणित गिन्तीका लागि मात्र बाँकी छ । टाउका गनेर प्रधानमन्त्री खान पाइन्छ, टाउका घटे कि सत्ता गुम्यो । त्यसैले गणित भीडका लागि मात्र उपयोगमा छ ।

अहिलेको जमाना कौरवहरूको हो । किनकि भीड कौरवसँग छ । पाण्डवहरूको दिन सकिइसकेको छ । पाँच पाण्डव र उनीहरूका एक पत्नी जम्मा ६ भोट । यसको उल्टो कौरव सफल छन् । पूरै १०० भोट आफ्नै । १०० भोट उनीहरूका श्रीमतीहरूको । ५०० उपपत्नी र भूतपूर्व पत्नीहरूको । ५०० भोट मानसपुत्रहरूको । भोटैभोट । भीडैभीड ।

त्यसैले अहिले चाहेर पनि पाण्डवहरूले जित्न सक्तैनन् । आज पाण्डव हुन्थे भने अर्जुनलाई कुनै पनि दलले टिकट दिँदैनथे । शकुनि र दुशासनको मागै माग हुन्थ्यो, तानातान हुन्थ्यो । प्रत्याशीको असली योग्यता भीडपति हुनुमै छ । यसको उल्टो अहिले भए सबै दलहरूले अआफ्नो टिकट दिनका लागि दुर्योधनलाई मनाउने प्रयास गर्थे । दुर्योधनसँग गठबन्धन र तालमेल गर्ने प्रयास गर्थे ।

अहिले कतिपय दुर्योधन जेलबाट निस्कनासाथ टिकटका लागि पहिलो हकदार बन्छन् । कत्तिले त जेलमा हुँदाहुँदै समेत चुनाव जितेका छन् । अहिले पाण्डवहरू घरका कुनामा लुकेर बसेका छन् । ज्ञानी नेताहरूले धेरै पहिलेदेखि नै भीडको महत्त्वलाई राम्ररी बुझेका थिए । त्यसपछि उनीहरूले भीडपति बन्ने कोसिस गरिरहे र उनीहरूले आफ्ना चुनाव चिह्न घाँटीमा झुन्ड्याउँदै भीडलाई भने, ‘हिँड म सँग ।’ अनि मानिसहरू उनीहरूको पछि लाग्दै गए र भीडतन्त्र बलियो हुँदै गयो ।

भीडतन्त्रमा टाउकाको गिन्ती हुन्छ । जल्ले धेरै टाउका जम्मा गर्‍यो, त्यही टाउके । टाउकेको लाउके मात्रै भए पनि पैसा र पद कहीँ नजा । त्यसैले हिजोआज गणित गिन्तीका लागि मात्र बाँकी छ ।

भीडतन्त्र एउटा यस्तो शासन प्रणाली हो, जसमा भीडको शासन चल्छ । जब भीड बोल्छ, सत्य सुइँकुच्चा ठोक्छ । भीडको कुनै अनुहार हुँदैन । त्यसैले यो तन्त्रले न्याय, समानता, विकास आदिलाई आँखा तरेर हेर्छ । भीडतन्त्रको स्पष्ट आकार हुँदैन, बारबा पापा कार्टुनमा जस्तो जतिबेला जस्तो पनि बन्न सक्छ । यो लोकतन्त्र र गणतन्त्रको आवरणभित्र लुकेर बसेको यस्तो तन्त्र बनेको छ, जसले कुनै नियम कानून विधि विधान मान्दैन ।

बरु उसले आफ्नै कानूनी किताब बनाउँछ, त्यसका आफ्नै परिभाषाहरू बनाउँछ र फेरि मेटाउँदै पनि जान्छ । ऊ कुनै मुद्दा चलाउनेतिर लाग्दैन, बरु सीधै फैसला सुनाउँछ । रमाइलो त यो छ कि यो तन्त्र हल्लै हल्लामा बढी आधारित हुन्छ र सामाजिक सन्जाल र हल्लाखोर मिडियाले यसलाई फैलाउन निकै मलजल गरिरहेका हुन्छन् ।

त्यसैले म पनि सानोतिनो भीडपति बन्ने जुक्तिमा लागेको छु । तर मैले के खाएर भीड जम्मा पार्न सकुँला र ? किनकि भीड जम्मा पार्न कि त सपना बेच्न सक्नुपर्छ नत्र आत्मा । यी दुवै बेच्न सक्ने सेल्सम्यानशिप ममा छैन ।

यता, हाम्रा जमानाका अर्थात् अहिलेका चरित्रनायकहरूमा शायद आत्मा भन्ने चीज त छँदै छैन । किनकि आत्मा त उनीहरूले छिमेकी देशहरूतिर लगेर बन्धकीमा राखिसकेका छन् क्यारे ! त्यसबाट उनीहरूले भीड जम्मा पारेर ल्याउँछन् । भीडको प्रत्येक झुन्डलाई भीडपति बन्ने सपना देखाइदिन्छन् । त्यस क्रममा थुप्रै शहीद हुन पुग्छन् वा थुप्रैका सपना शहीद हुन्छन् । अनि हजारौं आत्माहरू नाश गरेपछि बल्ल एउटा चम्चा बन्छ । हजारौं चम्चाहरूको भीडले एउटा नेता बनाउँछ । हजारौं नेताहरूका भीडबाट केही सांसद बन्छन् र त्यसमध्ये केहीबाट मन्त्रीले जन्म लिन्छन् । हजारौं मन्त्रीहरूका भीडबाट एउटा जोकतन्त्र सरी लोकतन्त्र बन्छ । यस्तो सच्चा लोकतन्त्रलाई भीडतन्त्र भनिन्छ । त्यसैले अहिलेको आवश्यकता केवल भीडको मात्र छ । जो भीडमा जान्छ, उसैले भीड कमाउँछ पनि । बाँकी सबै भाडामा वा भाडमा जान्छन् ।

त्यसैले बरु तपाईं पनि भीडपति बन्न मन छ भने भीड जम्मा पार्नेतिर लागिहाल्नोस् । किनकि हामी कलियुगमा छौं र कलियुगमा आत्मा वा हृदयले होइन बरु गणितीय दिमागले काम गर्नुपर्छ । बुझ्नुभो ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)