ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४७ वर्षसम्म जंगल सफारिमा राज गरेको टाइगर टप्स बन्द भएको १० वर्षपछि फेरि चर्चामा ! होला त सञ्चालन ?

२०७९ साउन, १०  
समाचार विविध र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
टाइगर टप्स रिसोर्ट सञ्चालनमा रहँदा र नरहँदा रिसोर्टको अवस्था । फोटो संग्रह : देवेन्द्र बस्नेत
author avatar सूर्यप्रसाद अधिकारी

साउन १०, चितवन । एक दशक अघिसम्म विश्वभर परिचित चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको  टाइगर टप्स रिसोर्ट अहिले निकुञ्ज अवलोकन गर्ने पर्यटकको गन्तव्य त बनीरहेको छ । तर, अहिलेको गन्तव्य बास बसेर डलर खर्च गर्नका लागि भने होइन ।

अर्थात दशक अघिसम्म रिसोर्टमा बस्न आउने पाहुना अहिले भने भूतबंगला बनिसकेको रिसोर्टको भग्नावशेष हेर्न र फोटो खिच्न मात्रै आइपुग्छन् ।

२०२२ सालमा चितवन राष्ट्रिय निकुञ्जभित्र स्थापना भएको उक्त रिसोर्ट सर्वोच्च अदालतको २०६९ को आदेशपछि बन्द भएको थियो । यो एक दशकमा उक्त रिसोर्ट दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको छ ।

विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सिकार पारखी, जंगल पारखी, अनुसन्धानकर्ता तथा सेलिब्रेटीहरू आउने टाइगर टप्स होटल अहिले सुनसान छ । रिसोर्टको संरचना भत्किँदै, बिग्रिँदै गइरहेका छन् । जसले गर्दा यो एउटा खण्डहर जस्तो देखिन्छ ।

तर, यसअघि आएका पर्यटकहरू र नयांँ पर्यटकले समेत रिसोर्टको अवस्था जान्न जिज्ञासा राख्न थालेपछि यो स्थान पर्यटकीय गन्तव्यको रुपमा फेरि चर्चामा आउन थालेको छ ।

रातमा रिसोर्टमा रमाइलो गर्दै विदेशी पाहुना ।

उक्त रिसोर्ट स्थापनका कालदेखि कै फोटोहरू राखेर रिसोर्टप्रति चासो बढाइरहेका छन् फोटो ग्राफर देवेन्द्र बस्नेतले । उनले टाइगर टप्स रिसोर्टको नाममा फेसबुक ग्रुप बनाएर विभिन्न कालखण्डमा खिचिएका फोटोहरू सार्वजनिक गरिरहेका छन् । उक्त फोटोमा पहिले विदेशी पाहुनाहरूले भरीभराउ रिसोर्ट र अहिले खण्डहर बनेको रिसोर्टलाई एकै ठाउँमा चुलना गरेर राखिएको छ । जसलाई देख्दा नेपालले पर्यटनबाट आउने ठूलो आम्दानी गुमाएको हो की भन्ने भान हुन्छ । 

टाइगर टप्स होटल व्यवस्थापन पक्षले जीर्ण संरचना कुर्न केही कर्मचारीहरुलाई तलब दिएर खटाइरहेको छ । टाइगर टप्स होटलका मुख्य दुई संरचनाहरु जीर्ण बनेका छन् । टिनमाथि राखिएको खर कुहिएको छ भने काठहरूमा धमिरा लागेको छ । होटल अगाडि विभिन्न झारहरू फैलिएको सहजै देख्न सकिन्छ ।

नेपालको पहिलो जंगल सफारी होटल हेर्नका लागि भन्दै अहिले निकुञ्ज घुम्नेहरु आउने गरेको टाइगर टप्स होटलका प्रशासकीय प्रबन्धक रामसिंह गुरूङ बताउँछन् ।

उनका अनुसार सौराहा, कसरा लगायतका क्षेत्रबाट जिप सफारीमा आउनेहरु टाइगर टप्स होटल हेर्न भनेर आउने गरेका छन । ‘पहिले यहांँ पर्यटक  खान बस्न आउंँथे गुरूङ भन्छन्, अहिले फोटोखिच्न  र हेर्न आउने गर्छन ।’ 

रिसोर्ट सञ्चालनमा रहेको बेला रिसोर्टको आगनबाट हात्ती सफारीका लागि जाँदै विदेशी पर्यटक ।

विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा जंगली जनावरको सुरक्षामा गम्भीर असर परेको निष्कर्षसहित सर्वोच्च अदालतको २०६९ को आदेशअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सञ्चालित टाइगर टप्ससहितका केही होटलहरु बन्द गराएको थियो  । 

‘सन् १९७०, ८० र ९० को दशकमा टाइगर टप्समा अमेरिकी र ब्रिटिस पर्यटकको भीडभाड हुन्थ्यो । नेपालको जंगल पर्यटन विश्वभर चम्किएको थियो । अफ्रिका जाने पर्यटक यता आउँथे । अफ्रिकाले महँगो मूल्यमा विक्री गर्ने प्याकेज नेपालले आधा मूल्यमा विक्री गरेर सफारी पारखी आकर्षित गरेको थियो ।’ विगतका क्षण स्मरण गर्दै गुरुङले भने । 

निकुञ्जका होटल बन्द भएपछि नेपाल आउने महँगा पर्यटक अफ्रिका जान थालेको उनले बताए । २० कोठाको टाइगर टप्समा ६० बेड थियो । निकुञ्जभित्र १०० बिघामा फैलिएको टाइगर टप्स होटलमा वार्षिक ६ हजारदेखि ८ हजारसम्म पर्यटक आउने गर्दथे । ती सबै भीआइपी र महँगा पर्यटक हुने गरेको उनको भनाइ छ । 

रिसोर्टमा भरिभराउ विदेशी पाहुना ।

टाइगर टप्स निकुञ्ज नबन्दै खुलेको होटल हो । पर्यटनका पायोनियर बेलायती नागरिक जिम एडवर्डस, अमेरिकन नागरिक वान्ना र केलिनले टाइगर टप्स हन्टिङ नामको कम्पनी खोलेर सन् १९६४ मा चार कोठाबाट होटल शुरू गरेका थिए । सन् १९६५ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो  ।

चितवनमा पर्यटन व्यवसाय शुरू गर्ने टाइगर टप्स होटल विश्वस्तरमा चर्चित थियो । वन्यजन्तु पारखी पर्यटकका लागि विख्यात टाइगर टप्समा उच्च ओहोदाका व्यक्ति र थुप्रै लोकप्रिय पाहुना बास बस्थे । विभिन्न देशका राजपरिवारका सदस्य, सरकारप्रमुख, राजनीतिज्ञ, चर्चित लेखक, चिन्तक, गायक, नायक, निर्देशकसम्म टाइगर टप्स लजको पाहुना बनिसकेका छन् । 

होटलसँगै विमानस्थल पनि बन्द !

यहाँका स्थानीय बासिन्दा भने टाइगर टप्स बन्द भएपछि चिन्तित बनेका छन । यसपछि मेघौलीमा दर्जन पर्यटक स्तरीय होटल सञ्चालनमा आए पनि खासै यहांँका स्थानीयको स्तरोन्नति नभएको उनीहरुको गुनासो छ ।

त्यो समयमा दैनिक १० औं हेलिकोप्टरले विदेशी पाहुना बोकेर मेघौली पुग्थे । नेपाल एयरलाइन्सको चार्टर विमानबाट भीआईपी पाहुना मेघौलीमा पुग्थे । अहिले ती सबै चहलपहल पनि बन्द भएका छन् ।

मेघौली विमानस्थलमा नेपाल एयरलाइन्सको विमान ।

‘टाइगर टप्स होटल हुंँदा मेघौली विमानस्थल सधै व्यस्त हुन्थ्यो, होटल बन्द भएपछि विमानस्थल पनि बन्द छ, पर्यटक पनि कम छन ।’ मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महत्तोले भने ।

चितवनको पर्यटन जंगल सफारीमा भरपर्ने भएकोले पनि टाइगर टप्स लगायत अन्य होटलहरु मापदण्ड बमोजिम खोल्नुपर्ने उनको तर्क छ । ‘संरक्षणको सर्तसहित राज्यले चलाउने हो भने राज्यलाई पनि फाईदा हुन्छ । हामीलाई पनि फाईदा हुन्छ ।’ महत्तोले अगाडि भने ।

टाइगर टप्समा ड्रिङ्क्स गर्दै तत्कालिन राजकुमार तथा पूर्व राजा ज्ञानेन्द्र शाह

रिसोर्टको वोर्डमा फोटो खिचाउँदै विदेशी पर्यटक ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)