कोरोना भाइरसको महामारी शुरू भएयता आपूर्ति शृङ्खला अवरुद्ध भएसँगै महँगी बढ्न थालेको थियो । रूसले युक्रेनमा आक्रमण गरेपछि स्थिति थप खराब भएर विश्वभर महँगी बढ्न थालेपछि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रूपमा ब्याजदर बढाउन थालेको छ । फेडलाई पछ्याउँदै यूरोपेली केन्द्रीय बैंक, बैंक अफ इङल्यान्डसमेत विश्वका झन्डै ७५ ओटा केन्द्रीय बैंकले धमाधम ब्याजदर बढाउन लागेका छन् । आर्थिक मन्दी नै निम्त्याएर भए पनि महँगीमा अंकुश लगाउने अनि महँगी नियन्त्रणमा आएपछि व्यापक तरलता प्रवाह गरेर अर्थतन्त्र उकासौंला भन्ने सुरमा बैंकहरू छन् । मन्दी कहिले आउँछ, कति समयसम्म रहन्छ र प्रभाव कस्तो हुन्छ भन्ने अड्कलबाजीमा अर्थशास्त्रीहरू लागेका छन् । सम्भावित खतरालाई मनन गरेर कम्पनीहरूले नयाँ लगानी, कर्मचारी भर्ना थाँती राख्न थालेका छन् । जोखिमयुक्त सम्पत्तिमा लगानी घटेका छन्, लगानीकर्ता लगानीका सुरक्षित साधन मानिने सम्पत्तिहरूमा लगानी बढाउनतिर लागेका छन् ।
के हो आर्थिक मन्दी ?
महीनौं वा वर्षौंसम्म पनि आर्थिक गतिविधि उल्लेख्य स्तरमा घट्नुलाई अर्थशास्त्रीहरू आर्थिक मन्दी मान्छन् । लामो अवधिसम्म कुनै पनि देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) खुम्चियो वा नकारात्मक भयो, बेरोजगारीको स्तर बढ्यो, खुद्रा विक्री घट्यो तथा आय र कलकारखानाका गतिविधिमा संकुचन आयो भने मन्दी भनिन्छ ।
आर्थिक गतिविधि खुम्चने र फैलिने क्रम एकै सिक्काका दुई पाटा जस्तै हुन् । मन्दीको समयमा अर्थतन्त्रमा संकुचन आउँछ । आम मानिसले जागीर गुमाउँछन् । कम्पनीको विक्रीमा कमी आउँछ अनि समग्रमा देशको आर्थिक उत्पादन घट्छ ।
सन् १९७४ मा अर्थशास्त्री जुलियस शिस्किनले लगातार दुई त्रैमाससम्म जीडीपी खुम्चिनुलाई आर्थिक मन्दीका रूपमा परिभाषित गरेका थिए । यसलाई नै आर्थिक मन्दीको सर्वमान्य परिभाषा मानिन्छ ।
सन् १९४५ देखि सन् २००९ को अवधिमा अमेरिकामा मन्दी औसत ११ महीनासम्म चलेको थियो । सन् १८४५ देखि सन् १९१९ को बीचमा औसत मन्दी २१ दशमलव ६ महीनाको थियो । गएको ३० वर्षमा अमेरिका चारपटक मन्दीमा गएको छ ।
आर्थिक मन्दी निम्तिनुका अनेक कारण छन् । सन् १९७० को दशकमा पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)ले एक्कासि अमेरिकालाई कच्चा तेलको आपूर्ति बन्द गर्दा मन्दी निम्तियो । अचानक आर्थिक मन्दीको तात्तातो उदाहरणका रूपमा कोरोना भाइरसको महामारीलाई लिन सकिन्छ । संसारभर संक्रमण फैलिन थालेपछि देशहरूले संक्रमण नियन्त्रण गर्न मानिसहरूको आवागमन ठप्प पार्ने, सामाजिक–आर्थिक गतिविधि कटौती गर्ने, सीमा बन्द गर्ने, बन्दाबन्दी गर्नेलगायत उपाय अपनाएपछि विश्वका कैयन् अर्थतन्त्र मन्दीमा गए । मानिस वा व्यवसायहरूले थेग्नै नसक्ने गरी ऋण लिए अनि आफूले लिएको कर्जाको साँवाब्याज चुक्ता गर्न सकेनन् र कंगाल भए भने पनि आर्थिक मन्दी आउँछ । सन् २००२ मा देखिएको मूल्य वृद्धिको फोका सन् २००६ को शुरूमा फुट्यो । घरजग्गा बजार धराशयी बन्यो र सन् २००७/९ को बीचमा अमेरिकामा महामन्दी देखियो । अमेरिकाको इतिहासको दोस्रो खराब मानिने यो मन्दीले विश्व अर्थतन्त्रलाई नै मन्दीमा धकेलिदियो । विश्वभर कर्मचारी कटौती देखियो र लामो समयसम्म बेरोजगारी उच्च स्तरमा रह्यो ।
शेयरबजारको आकारलाई उछिन्ने गरी शेयर बढ्दा पनि मन्दी आउँछ । लगानीकर्ताका बेतुकको उत्साहको उपज हो : सन् १९९० को अन्त्यतिर देखिएको एसेट बबल । मूल्य वृद्धिको फोका बढेर एक्कासि फुटेपछि बजार धराशयी भयो अनि मन्दी उत्पन्न भयो ।
महँगी आफैमा नराम्रो होइन । तर, अत्यधिक महँगी फिटिक्कै राम्रो होइन । मूल्य वृद्धि आकाशिन थालेपछि केन्द्रीय बैंकहरूले माग सुस्त बनाउन ब्याजदर बढाउँछन् । सन् १९७० को दशकमा अनियन्त्रित महँगी अमेरिकाको टाउको दुखाइ थियो । महँगीको दुश्चक्रलाई तोड्न फेडले तीव्र स्तरमा ब्याजदर बढायो । सेफ ल्यान्डिङ नहुँदा प्रतिकूल परिस्थिति उत्पन्न भयो अनि मन्दी निम्तियो ।
आकाशिएको मुद्रास्फीतिले मन्दी निम्त्याउँछ । तर, अपस्फीति यो भन्दा पनि खराब हुन्छ । लामो समयससम्म मूल्य नबढ्नु अपस्फीति हो । यसले गर्दा तलब खुम्चिन्छ । यसले मूल्य झनै घटाउँछ । अपस्फीति उत्पन्न भएपछि मानिस र व्यवसायहरूले मूल्य थप घट्छ अनि किनुँला भनेर खर्च रोक्छन् । आर्थिक गतिविधि घट्छ ।
नवप्रवर्तनले उत्पादन बढाउँछ, दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई मद्दत गर्छ । शुरूमा प्राविधिक ‘ब्रेकथ्रु’सँग तालमेल नमिल्दा मन्दीको अवस्था आउन सक्छ । १९औं शताब्दीमा श्रम बचाउने प्रविधिमा सुधारको लहर आयो । औद्योगिक क्रान्तिले सम्पूर्ण पेशाहरूलाई काम नलाग्ने बनाइदियो अनि मन्दी निम्तियो । कृत्रिम बौद्धिकता र रोबोटको बढ्दो प्रयोगसँगै भविष्यमा सबै खालको रोजगारी हराउने अनि मन्दी उत्पन्न हुने चिन्ता अर्थशास्त्रीहरूले गरिरहेका छन् । मन्दीको एउटा प्रभाव बेरोजगारी हो । यस्तो समयमा विशेषगरी, न्यून शीप भएका कामदारमाझ बेरोजगारी बढ्छ । मन्दीका कारण खाइरहेको जागीर त गुम्छ नै नयाँ जागीर पाउनै कठिन हुन्छ । जागीर भएकाहरूको पनि तलब काटिन्छ, बोनस वा भत्ता घट्छ र भविष्यको तलब वृद्धि संकटमा पर्छ । उत्पादन घट्छ, व्यवसायहरू बन्द हुन्छन् । सरकारी राजस्व घट्छ र सामाजिक कार्यक्रम र भत्ताहरूमा कमी आउँछ । मन्दीको समयमा शेयरबजार, ऋणपत्र, घरजग्गा र अन्य सम्पत्तिमा गरिएको लगानी गुम्छ, बचत सुक्दै जान्छ । हातमुख जोर्न, दैनिक उपभोग्य सामान किन्न र महसुल भुक्तानीमा समस्या आउँछ । किस्ता तिर्न नसकेर बैंकले घरजग्गा लीलामी गर्ने खतरा हुन्छ । व्यवसायहरू टाट पल्टिन्छन् । बैंकहरूले धितो कर्जाको ब्याजदर बढाउँछन् ।