हिजोआज बालुवाटार वा सिंहदरबारतिरका भ्रष्टदेव वा भ्रष्टदेवीलाई घुसको पञ्चामृत चढाइसकेपछि प्रसादस्वरूप एउटा सरकारी आयोग, बोर्ड वा संस्थाको जागीर हात लाग्छ, अर्थात् झिँगा मार्ने काम पाइहालिन्छ । झिँगा मार्ने पनि कुनै सरकारी काम हुन्छ भनेर भन्नुहोला । हुन्छ नि । सुगौली सन्धिपछिको नेपालका सरकारी कार्यालयको मुख्य धन्दा हो झिँगा मार्ने काम, अनि कमाउने दाम ।
भलै यसो माथिबाट हेर्दा झिँगा मार्ने काम सजिलै जस्तो लाग्ला । तर काम गाह्रै हुन्छ । किनकि झिँगाहरू पनि अनेक आकार प्रकारका हुन्छन् । हरियो झिँगा, पहेँलो झिँगा, नीलो झिँगा, रातो झिँगा । हिन्दू झिँगा, क्रिश्चियन झिँगा, मुसलमान झिँगा । उत्तरी झिँगा, दक्षिणी झिँगा । पुरुष झिँगा, महिला झिँगा, आदिवासी, जनजाति झिँगा । लाखौं प्रकारका झिँगाहरू । त्यसमाथि प्रत्येक दिन आज कतिओटा झिँगा मारियो भनेर गन्नुपर्ने, हिसाब निकाल्नुपर्ने हुन्छ ।
सेवाग्राही ठूलै अप्ठ्यारोमा पर्यो वा मर्नै लाग्यो भने पनि हाकिम द्रवित हुने काम छैन । हाकिम भनेको कठोरताको पर्याय हो भन्ने पार्नैपर्छ । नत्र काम कसरी हुन्छ ?
कति मेल कति फिमेल झिँगा, कति कुन रङका आदि । प्रत्येक वर्गका झिँगाका राष्ट्रिय परिचयपत्र नम्बरसहित अलग अलग प्रतिवेदन प्रत्येक दिन माथिल्लो झिँगामार केन्द्रमा पठाउनुपर्ने हुन्छ । झिँगामार शैलीको आफ्नै तरीका, सिद्धान्त र प्रक्रिया हुन्छ ।
झिँगामार अफिसरले हरेक प्रकारका झिँगाहरूलाई प्रक्रिया पुर्याएर, फाइल मिलाएर, टिप्पणी उठाएर एक विशेष प्रावधान अनुसार मार्नुपर्ने हुन्छ । झिँगा मार्न पनि उसलाई लाखौं नियम, कानून, निर्देशिका कण्ठै गर्नुपर्ने र विशेष ज्ञाता बन्नुपर्ने हुन्छ । कानूनका धारा उपधाराबाट कसरी उम्कने र अरूलाई त्यसै धारामा टाँसिदिने भन्ने विशेषज्ञता यसमा चाहिन्छ ।
त्यसैले झिँगै मार्न पनि वरिष्ठ झिँगामार विशेषज्ञहरूबाट विशेष तालीम लिनुपर्ने हुन्छ । झिँगे हाकिमहरूले पनि कसरी सीसीटीभी फुटेज डिलिट गर्ने वा धमिलो पार्ने, प्रत्येक झिँगालाई हावामै कसरी कुलशतापूर्वक मार्नेजस्ता तौरतरीकाहरू बताउँछन् । घण्टौं भिडियो कन्फ्रेन्स, जुम मिटिङ आदिमा बिताउँछन् । झिँगा मार्ने विशेष तरीकाहरूबारे उपदेशरूपी भजन सुनाउँछन् । लामा लामा सर्कुलर ईमेल पठाउँछन् । कति प्रकारका ह्वाट्सएप समूह बनाएर अनुगमनका खेल पनि खेल्छन् ।
यदि कुनै झिँगालाई झुक्किएर कुनै अर्को नियमानुसार मार्न पुग्दा विषय निकै गडबढ हुन पुग्छ । ससाना कुरामा समेत झिँगा आयोग गठन गरेर झिँगा मार्ने काम गर्नुपर्ने हुन्छ । हो, नियम नै यस्तै छ । चलनै त्यस्तै छ । झिँगामार केन्द्रमा लाखौं झिँगाहरू खचाखच भरिएका हुन्छन् । यी केन्द्रका ठूलठूला ‘लेजर’हरूमा झिँगाहरूका पूर्ण विवरण लेखिएका हुन्छन् । त्यहाँ झिँगाहरूका क्रमांक, झिँगाहरूका शारीरिक विशेषता, विशिष्ट योग्यता, प्रकार, लिंग, जाति, सम्प्रदाय, उमेर र राजनीतिक आस्था समेत खुलाएर विवरण राखिएका हुन्छन् ।
झिँगामार केन्द्रमा झिँगे अफिसरहरूले यो काम अत्यन्त सावधानीपूर्वक गर्नुपर्ने हुन्छ र घाँटीमा एउटा सरकारी फित्ता झुन्ड्याइरहनुपर्ने हुन्छ । हाकिम झिँगाहरूको चैं एउटा खास विशेषता के हुन्छ भने केही समय खान पाएन कि उनीहरूको पेट र टाउको दुख्न थालिहाल्छ । तर आफ्नो भन्दा पनि पराईको खानुपर्छ । नत्र पेट मडारिन थालिहाल्छ ।
त्यसैले झिँगामार अफिसर बन्न पाउनु ठूलै अवसर हो । जसरी जो पायो त्यै डाँका बन्न सक्तैन, त्यसरी नै जो पनि झिँगामार अफिसर बन्नै सक्तैन, पाउँदैन । अफिसर बन्न केही गुमाउनुपर्ने हुन्छ, जसमा यी तीन चीज सबैभन्दा महत्त्वपूर्ण हुन्छन्, समझदारी, संवेदना र दूरदृष्टि । पराइलाई दया, माया सहानुभूति देखाउने व्यक्ति झिँगामार बन्नै सक्दैन । समझदारीसँग काम गर्ने व्यक्ति पनि झिँगा अफिसर बन्न सक्तैन । यदि कुनै बनेछ भने पनि धेरै दिन टिक्नै सक्तैन ।
हुन पनि ती झिँगे अफिसर के कामका यदि उनीहरूका काम र व्यवहारका कारण सेवाग्राहीले टाउको समाउन नपरोस् वा छाती पिट्न नपरोस् । मानिसहरू झिँगे अफिसरका काम र व्यवहारका कारण दुःखी भएर आफ्ना कपडा च्यात्न लागे वा कपाल भुताल्न थाले भने न हाकिमलाई आफू हाकिम भएको भान हुन्छ । वास्तवमा त्यो चंै सच्चा मान हुन्छ । सेवाग्राहीले दुुःख पाइरहँदा हाकिमले आफ्नो वातानुकूलित कक्षमा कुर्सी वा सोफामा बसेर टेबुलमा खुट्टा अड्याएर आराम गर्दै क्यान्टिनबाट सित्तैमा चिया, काजु, बदाम मगाएर खाँदै आफूलाई हल्का महसूस गर्न पाएनन् भने हाकिम हुनुको के अर्थ ?
पर्फेक्ट हाकिम त उही हो, जसमा दृष्टिको अभाव होस् । ‘देश, समाज भाडमा जाओस् । केवल आफ्ना भागमा माड आओस्’ मूलमन्त्र यस्तै हुनुपर्छ ।
हाकिम भएपछि संवेदनासँग उसको कुनै लिनुदिनु हुनुहुन्न । दया, माया, करुणा जस्ता संवेदनालाई तिलाञ्जली दिन सक्नुपर्छ । सेवाग्राही ठूलै अप्ठ्यारोमा पर्यो वा मर्नै लाग्यो भने पनि हाकिम द्रवित हुने काम छैन । हाकिम भनेको कठोरताको पर्याय हो भन्ने पार्नैपर्छ । नत्र काम कसरी हुन्छ ?
जनतामाथि हाकिमको त्यसै प्रकारको पूर्ण अधिकार हुन्छ, जसरी सानो देशसँग धनी र ठूला छिमेकी देशहरूको एक किसिमको अधिकार हुने गर्छ । चाहे अफिस छुटोस् वा अफिसको काम छुटोस्, यसको चिन्ता गर्ने नै होइन । चिन्ता त आफ्नो नाम, दाम र मामको मात्र गर्ने हो ।
पर्फेक्ट हाकिम त उही हो, जसमा दृष्टिको अभाव होस् । ‘देश, समाज भाडमा जाओस् । केवल आफ्ना भागमा माड आओस्’ मूलमन्त्र यस्तै हुनुपर्छ । जो सरकारी काममा सक्रिय बन्न खोज्छ, उसलाई सुली चढाउने तारतम्य मिलाउनैपर्छ ।
निकम्मापन झिँगामार हाकिमको शक्ति हो । यदि मानिसका काम समयमै गर्न थाल्ने हो भने यहाँ कसैले कसैलाई घाँस हाल्नेवाला छैनन् । जहाँ कर्मठ हाकिम हुन्छ, त्यहाँ सबै काम ठीक ठीक समयमै सम्पन्न हुन्छ । अनि त सबैले काम गरिरहनु पर्ने हुन्छ । कसैको काम फाइलभित्र लुकेर बस्दैन । यो कर्मठताले पूरै कार्यालयले आफ्नो महत्त्व गुमाउँछ । अनि हाकिमहरूलाई नमस्कार, जी हजुरी गर्न को आउँछ ? काम हुन थाल्नासाथ मानिसहरू हाकिमहरूका टाउकामा चढ्न थाल्छन् । अनि त के ? मानिसहरू हाकिमहरूका टाउकामै आसन बनाएर चौबीसै घण्टा बसिदिन बेर लाउन्नन् ।
त्यसैले एक सच्चा र कुशल झिँगामार अधिकृत बन्नु छ भने झिँगामार सुशासन शैलीलाई पूर्ण निष्ठाका साथ पालना गर्नु गराउनु पर्छ । यसमा नै झिँगामार अधिकृतहरूको कल्याण हुन्छ । नत्र झिँगा निर्देशक, झिँगे सचिव वा झिँगे मन्त्रीको कोपभाजनमा पर्नुपर्ने हुन्छ । यसमा अरू केही भन्नु छ तपाईंलाई ?