काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले छात्रवृत्ति कार्यक्रम शुरू गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम शुरू गरेको हो ।
बैंकले उक्त कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । यस वर्ष विभिन्न विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेनदार छात्रालाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
छनोटमा परेका छात्राहरूलाई कक्षा १२ सम्म अध्ययनका लागि हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।
बैंकले उक्त कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने र सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गर्ने बताइएको छ ।